गुरु (बृहस्पति) उदयको आजदेखि सकियो बाल दोष
काठमाडौँ । एक महिनाअघि अस्त भएको गुरु उदय भई आजदेखि बाल दोष पनि सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
गत चैत १७ गते शुक्रबारदेखि गुरु अस्त भएको थियो । गुरु यही वैशाख १५ गते शुक्रबार उदय भएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
गुरुको बाल दोष आजदेखि सकिने भएकाले भोलिदेखि नै विवाह, व्रतबन्धलगायत शुभ साइत दिइएको पनि उनले सुनाए । गुरु अस्तका समयमा कामना राखेर गरिने शुभ कर्म नगर्न समितिले अनुरोध गरेको थियो ।
गुरु अस्त भएका दिनदेखि गुरुको अस्त दोष र वैशाख १६ देखि १८ गतेसम्म गुरुको बाल्य दोष रहने भएकाले वैशाख १८ गतेसम्म विवाह, व्रतबन्धलगायत कामना राखेर गरिने शुभ कर्मको साइत नभएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । उक्त अवधिमा इनार, बगैँचा, तलाउ निर्माण, गृहारम्भ, गृहप्रवेश, मन्दिर निर्माण, देवताको प्राणप्रतिष्ठा, चान्द्रायण आदि व्रतको आरम्भ र उद्यापन गर्न नहुने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको थियो ।
यसैगरी, वधूप्रवेश, तुलादान आदि महादान, सोमयाग, अष्टका श्राद्ध, प्रथम उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षाग्रहण, कर्णबेध, चूडाकर्म, व्रतबन्ध, विवाह, विशिष्ट पूजा, पाठ यज्ञयागादि कहिल्यै नगरिएको देव दर्शन तथा तीर्थयात्रा, अग्निहोत्र, सन्यासग्रहण, चातुर्मास्य यज्ञ, राज्याभिषेक आदि अन्यगतिक काम्य कर्म अस्तकालमा गर्नु हुँदैन भन्ने तथ्य श्रुति, स्मृति, पुराण, ज्योतिषशास्त्र, धर्मशास्त्र आदि ग्रन्थले बताएका छन् ।
वैशाख १९ गतेदेखि भने यी सबै कर्म गर्न कुनै दोष नरहेको समितिले जनाएको छ । अस्त समयमा गुरु शुक्र सूर्यको समीपमा रहने भएकाले यज्ञका फलदाता देवगुरुको र शुक्रको कुनै पनि सकारात्मक प्रभाव पर्दैन भन्ने नै शास्त्रको मनसाय भएको अध्यक्ष अधिकारीले बताए । शास्त्रअनुसार फलको आशाले गरिने धार्मिक कृत्यहरू शास्त्रले निषेध गरेको समयमा गर्न मिल्दैन । यसो गरेमा जुन कामनाले गरिन्छ त्यो फल नपाइने समितिको भनाइ छ ।
वर्जित समयमा देशका विभिन्न धार्मिकस्थलमा सप्ताह, नवाह र ठूलाठूला यज्ञहरू भइरहेको भनी समितिले चैत अन्तिम साता विज्ञप्ति प्रकाशन गरी जानकारी गराएको थियो । गुरु अस्तका बेला पशुपति क्षेत्रलगायत धार्मिकस्थलमा ठूला धार्मिक कर्म गरिएको थियो । शास्त्रको मर्म विपरीतका यस्ता काममा जनसहभागिता भने न्यून देखिन्थ्यो । शास्त्रले निषेध गरेका समयमा व्यापारिक उद्देश्यले यस्ता कर्म गरिएकाले यसमाथि प्रतिबन्ध लगाउन जनस्तरबाट पनि माग भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण