मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

वीर अस्पतालबाट एक महिनामा २३४ जनाले लिए टेलिमिडिसिन सेवा

बिहीबार, २१ वैशाख २०८०, १३ : २०
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । वीर अस्पतालबाट एक महिनामा २३४ जनाले टेलिमिडिसिन सेवा लिएका छन् । यो सेवा लिएकामध्ये अधिकांशमा उनीहरूले गर्ने कामको प्रकृति अनुसारको स्वास्थ्य समस्या देखिएको छ ।

विदेशबाट टेलिमेडिसिन सेवा लिएकामध्ये धेरैलाई पेट सम्बन्धी समस्या देखिएको पाइएको छ । शारीरिक समस्यामा पेट दुख्ने, ढाड दुख्ने, पिनास, घाँटी खसखस गर्ने, छालासम्बन्धी, सुगर, प्रेसर लगायतका समस्या भएका बिरामीले टेलिमेडिसिन सेवा लिने गरेका छन् । यस अतिरिक्त मानसिक समस्या भएका बिरामीले समेत यो सेवा लिने गरेका छन् ।

लामो समयसम्म काम गर्ने क्रममा खाना समयमै नखाने धेरैजसोमा पेटसम्बन्धी समस्या पाइएको अस्पतालका टेलिमेडिसिन विभागका मेडिकल अधिकृत डा. सञ्जय धरेलले बताए । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक कामदारलाई लक्षित गरेर टेलिमेडिसिन सेवा सुरु गरिएको हो ।

डा. धरेलका अनुसार सेवा लिनेमध्ये लामो समयसम्म उभिएर काम गर्नेहरूमा ढाडको समस्या देखिएको छ । लामो समयसम्म किचनमा कुकको काम गर्नेलाई घाँटी खसखसाउने तथा पिनाससम्बन्धी समस्या देखिएको छ । पुरानो दीर्घरोगी, प्रेसर, सुगर रोगीले पनि यो सेवा लिएका छन् ।

डा.धरेलका अनुसार मानसिक समस्या हुँदा काम गर्न गाह्रो भएर घर फर्किन चाहेको बताउने, निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, राति बरबराउने, परिवारका विभिन्न समस्याहरूले गर्दा काम गर्न नसकेको लगायतका समस्या सेवाग्राहीले सुनाउने गर्छन् ।   

वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य समस्या समाधान गर्न आवश्यकताका आधारमा परामर्श सेवा उपलब्ध गराइने डा. धरेलले बताए ।

टेलिमेडिसिन सेवा अन्तर्गत करिब २० देशमा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक कामदारले परामर्श लिने गर्छन् । साउदी अरब, युएई, दुबई, कतार लगायतको देशमा कामको सिलसिलामा रहेका नेपालीले परामर्शका लागि बढी फोन गर्ने गरेको डा. धरेलको भनाइ छ ।

२०७९ चैत्र १५ गतेबाट सुरु गरिएको टेलिमेडिसिन सेवा अन्तर्गत वैशाख १५ गतेसम्ममा २३४ जनाले स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ ।   

कसरी गरिन्छ उपचार ?

वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य समस्या समाधान गर्न आवश्यकताका आधारमा परामर्श सेवा उपलब्ध गराइने डा. धरेलले बताए । उनले भने, ‘उहाँहरूले सुनाउने स्वास्थ्य समस्याका आधारमा परामर्श दिन्छौँ । सोही अनुसार सम्बन्धित रोग विशेषज्ञलाई सिफारिस गर्छौं ।’

हप्ताभरि बिरामीको कुरा सुन्ने, परामर्श दिने र यदि विशेषज्ञ सेवा लिनुपर्ने अवस्था भएमा शुक्रबार र आइतबार रोग विशेषज्ञमार्फत परामर्श दिइने डा. धरेलले बताए । मुटुसम्बन्धी, मानसिक स्वास्थ्य समस्या लगायतमा विशेषज्ञबाट परामर्श दिने गरेको उनको भनाइ छ ।

परामर्शपछि आवश्यकताका आधारमा चिकित्सकले औषधि सिफारिस गर्ने गरेको उनले सुनाए । परामर्श गर्दा सिफारिस गरिएको औषधि किनेर खान सम्भव नभए वैदेशिक रोजगार बोर्डले सम्बन्धित देशमा रहेको नेपाली दूतावाससँग समन्वय गरिदिने समेत उनले बताए ।

यस्तै, विदेशमा बसेर श्रमिक परामर्शअनुसार बिरामीले औषधि सेवन गरे नगरेको फोनमार्फत बुझ्ने गरेको डा. धरेल बताउँछन् ।

कसरी सुरु भयो टेलिमेडिसिन सेवा ?

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारीकालमा कोभिड–१९ का लागि राखिदिएको हटलाइन सेवालाई टेलिमेडिसिन सेवाका रूपमा विस्तार गरिएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर सन्तोष पौडेलले बताए ।

वैदेशिक रोजगार बोर्डसँगको समन्वयमा पहिलो पटक वीर अस्पतालले टेलिमेडिसिन सेवा विस्तार गरेको उनको भनाइ छ । एक ठाउँको बिरामीलाई अर्को ठाउँको स्वास्थ्यकर्मीसँग रोगबारे परामर्श गरी सोही अनुसार उपचार गर्नु नै टेलिमेडिसिन सेवा हो ।

टेलिमेडिसिन सेवा अन्तर्गत स्वदेश तथा विदेश जहाँबाट पनि मोबाइल, टेलिफोन, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष बोलेर वा भिडियोमार्फत परामर्श गर्न सकिन्छ । वीर अस्पतालमा मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ मा ह्वाट्सएप, भाइबर, इमोबाट परामर्श गरिन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत फागुन २ गते टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेपछि अस्पताल र बोर्डले समन्वय गरेर गत चैत १५ गतेदेखि सेवा सञ्चालन गरिएको हो । अब विकट जिल्लाहरूमा पनि टेलिमेडिसिन सेवा विस्तार गर्ने योजना बनाएको डा. पौडेलले बताए ।

उनले भने, ‘केही जिल्लामा टेलिमेडिसिनका लागि सेवा सुरु गरिएका अस्पताल रहेछन्, उनीहरूसँग सम्झौता गरेर यसलाई व्यवस्थित बनाएर लैजान्छौँ ।’ टेलिमिडिसिन शाखामा दुई जना प्यारामेडिक्स, एक जना डाक्टरले कल सुन्ने, समस्याहरू सुन्ने, समस्याको पहिचान गर्ने, उता उपचार गराएको रिपोर्ट हेरेर विशेषज्ञ डाक्टरसँग छलफल गरी सुनाउने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप