मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा

सोमबार, २५ वैशाख २०८०, १४ : ५७
सोमबार, २५ वैशाख २०८०

तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याएको छ । आर्थिक वर्ष २०७८/७९ मा तीन सय ४० र चालु आवमा एक सय पाँच हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याइएको हो । 

सत्तरी हेक्टर नयाँ कमाण्ड क्षेत्र विस्तार गरी उक्त क्षेत्रफलमा सिँचाइ योजना सम्पन्नपश्चात् समुदायलाई हस्तान्तरण गरिसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए ।  

चालु आवमा बेसारघारी सिँचाइ योजनाबाट ३५, पुनःस्थापना कार्यअन्तर्गत ३५, लोकादिटार सिँचाइ योजनाबाट २३ र ठूलाफाँट सिँचाइ योजनाबाट १२ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याइएको हो । जिल्लाको कूल एक लाख ५४ हजार छ सय हेक्टर क्षेत्रफल रहेकामा अझै ३७ हजार पाँच सय ५१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गर्न बाँकी रहेको उनले बताए । 

जिल्लामा कार्यान्वयनमा रहेका महत्त्वपूर्ण योजना नौ रहेका छन् । त्यसमा छ योजनाको कार्यसम्पन्न भइसकेको, दुई निर्माण प्रक्रियामा रहेका र एक योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

उनका अनुसार रु तीन करोड ८१ लाखको लागतमा भीमाद–१ र घिरिड–२ स्थित डुम्रेबेँसी सिँचाइ योजना, रु एक करोड ८९ लाखमा शुक्लागण्डकी–९ को मालेबगरस्थित पहाडखोला घाट र बस्ती संरक्षण, रु एक करोड १८ लाखमा भीमाद–५ को बुडुवाफाँट मालेबगर सिँचाइ योजना सम्पन्न गरिएको छ । 

त्यसैगरी रु एक करोड २९ लाखमा शुक्लागण्डकी–१० स्थित लोकदीटार सिँचाइ योजना, रु एक करोड २१ लाखको लागतमा देवघाट–१ स्थित बेसारघारी सिँचाइ योजना र रु ७९ लाख ४८ हजारको लागतमा भीमाद–७ को सिस्नेरी ठूलाफाँट योजना सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप