बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

देउवाका चार कदमपछि थापाले दिए विद्रोहको संकेत

सोमबार, २५ वैशाख २०८०, १८ : ४७
सोमबार, २५ वैशाख २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आइतबार फेसबुक र ट्वीटरमा ‘अब त अति भयो’ भनेर स्टाटस लेखेपछि पार्टीभित्र तरङ्ग पैदा भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले लगातार बेवास्ता गरेपछि महामन्त्री थापाले सार्वजनिक रुपमा आक्रोश पोखेका हुन् ।

पार्टीको आन्तरिक छलफलमा सभापति देउवासँग भिड्दै आएका महामन्त्री थापाले अब सार्वजनिक प्रतिवादमा उत्रिने संकेत देखाएका छन् । बिहीबारको पदाधिकारी बैठकमा उनले आफूलाई नेविसंघको महामन्त्रीको जस्तो व्यवहार नगर्न देउवालाई चेतावनी दिएका थिए ।

सभापति देउवाले पार्टीमा बहुमतको दम्भ देखाएर एकलौटी ढंगले अगाडि बढेको थापा बताउँछन् । छलफल र पार्टी पद्धति अनुरूप गर्नुपर्ने निर्णयहरू सभापतिबाट आफूखुसी गरिएको उनको आरोप छ ।

केन्द्रीय सदस्य मनोनयन, राष्ट्रियसभामा सांसद सिफारिस, भ्रातृ संघ–संस्थाको पुनर्गठन, मन्त्री छनोट लगायतका निर्णयमा आफूसँग परामर्श नगरिएकोमा महामन्त्री थापा रुष्ट भएका हुन् । सभापति देउवा र शेखर कोइरालासँग पनि आक्रोशित थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको दरिलो साथ छ ।

देउवाका एकलौटी निर्णयविरुद्ध महामन्त्रीद्वय थापा र शर्मा एक स्वरमा प्रस्तुत हुने गरेको देखिन्छ । पदाधिकारी तहमा उनीहरुलाई सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले साथ दिने गरेका छन् ।

पार्टी रुपान्तरण र सुधारका लागि महामन्त्रीद्वयले नयाँ पोल खडा गरेर सभापति देउवामाथि दबाब बढाउने रणनीति बनाएको थापा निकट नेता बताउँछन् । नेता शेखर कोइरालाले देउवासँग सम्झौताको नीति लिएको भन्दै अब आफ्नो ढंगले अगाडि बढ्ने थापाको तयारी छ ।

२४ जना केन्द्रीय सदस्य मनोनीत

२०७८ पुस १७ मा सभापति देउवाले रामचन्द्र पौडेल (हाल राष्ट्रपति), प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, सुजाता कोइराला, उमा रेग्मी, डा. नारायण खड्का र मिन विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले कांग्रेसको जिम्मेवारी त्यागिसकेका छन् ।

यस्तै पुस १८ मा जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याण गुरुङलाई केन्द्रीय सदस्य मनोनीत गरेका देउवाले साउन ३१ मा १० जना महिलालाई केन्द्रीय समितिमा ल्याए । केन्द्रीय समितिमा मनोनीत महिलामा देउवा पक्षका ५, शेखर कोइराला पक्षका २, कृष्णप्रसाद सिटौला, शशांक कोइराला र प्रकाशमान सिंह पक्षका १/१ जना थिए ।

संस्थापन पक्षबाट राधा घले, सीता देवकोटा, गंगा शाही, लक्ष्मी खतिवडा र गोमा भट्टराई मनोनीत भए । शेखर पक्षबाट किरण यादव र रुक्मिणी कोइराला केन्द्रीय सदस्य बने । सिटौला निकट धना खतिवडा, नेता डा शशांक कोइराला निकट उर्मिला थपलिया र प्रकाशमान सिंह निकट कल्याणी रिजालले केन्द्रीय सदस्य हुने अवसर पाइन् ।

शुक्रबार मात्र देउवाले शेखर कोइराला निकट मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । २४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा आफूसँग सामान्य परामर्शसमेत नगरेको महामन्त्री थापाको गुनासो छ ।

राष्ट्रियसभा उम्मेदवार छनोट

२०७८ पुस १९ मा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रियसभाका ६ जना उम्मेदवारको टुंगो लगाएको थियो । १९ जनाका लागि भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेको कांग्रेसले ६ जना उम्मेदवार उठाएको थियो ।

कोशी प्रदेशबाट गोपालकुमार बस्नेत, बागमती प्रदेशबाट कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशबाट कमला पन्त, लुम्बिनी प्रदेशबाट युवराज शर्मा, कर्णाली प्रदेशबाट दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिम प्रदेशबाट नारायण मिश्र उम्मेदवार बनेका थिए ।

सभापति देउवाले ६ जनामध्ये ५ जना आफू निकटलाई उम्मेदवार बनाए । कांग्रेसका तत्कालीन वरिष्ठ नेता पौडेलको सिफारिसमा सभापति देउवाले कमला पन्तलाई संस्थापन इतरको कोटामा टिकट दिए । राष्ट्रियसभा उम्मेदवार चयनमा पनि महामन्त्री थापाको असन्तुष्टि थियो ।

भ्रातृ संस्था पुनर्गठन

सभापति देउवाले २०७८ फागुन ९ मा नेविसंघ सभापतिमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई मनोनीत गरे । यस्तै असार १० मा नेपाल किसान संघको अध्यक्षमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर घर्ती मनोनीत भए ।

साउन २६ मा नेपाल महिला संघको सभापतिमा उषाकुमारी राउत मिश्र मनोनीत भइन् । पार्टीका प्रमुख चार भ्रातृ संस्थाको नेतृत्व चयनमा देउवाले एकलौटी गरेका थिए ।

मन्त्री छनोट

कांग्रेसका ९ जना मन्त्री संघीय सरकारमा पुग्दा समेत महामन्त्री गगन थापा ‘पावर एक्सरसाइज’भन्दा बाहिर रहे । पुस १० मा बनेको एमाले नेतृत्वको गठबन्धन भत्काएर कांग्रेसलाई सत्तामा ‘कमब्याक’ गराउन निर्णायक भूमिका खेलेका थापा मन्त्री छनोटमा प्रभावहीन बने ।

मन्त्री छनोटमा सभापति देउवा र नेता शेखर कोइरालाको दोहोरो उपेक्षा भोग्नु परेको उनको गुनासो छ । कांग्रेस सभापति देउवाले चैत १७ मा ४, वैशाख ३ मा १, वैशाख २० मा ३ र वैशाख २४ मा १ जनालाई मन्त्रीमा सिफारिस गरेका हुन् । चैत १७ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भयो । खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ सहरी विकास मन्त्री नियुक्त भए ।

वैशाख ३ मा एनपी साउद परराष्ट्रमन्त्री भए भने वैशाख २० मा उपसभापति धनराज गुरुङ कानुन, मोहन बस्नेत स्वास्थ्य र डिगबहादुर लिम्बू खेलकुद मन्त्री बने । आइतबार कांग्रेसका सुरेन्द्र आचार्य महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारीसहित सरकारमा सामेल भएका छन् । विभिन्न चरणमा गरी देउवाले प्रचण्ड नेतृत्वको सरकारमा आफू निकट ६ र नेता शेखर कोइराला निकट ३ जनालाई मन्त्री बनाए ।

उपसभापति खड्कासहित महत, साउद, रिजाल, बस्नेत र गुरुङ सभापति देउवा पक्षीय हुन् भने अर्का उपसभापति गुरुङ, जिल्ला सभापति लिम्बू र आचार्य भने कोइराला निकट मानिन्छन् ।

तीन मन्त्रालय पाएपछि शेखर कोइरालाले महामन्त्री थापासँग सामान्य परामर्शसमेत नगरी वैशाख १९ गते साँझ देउवा निवास धुम्बाराही पुगेर उपसभापति गुरुङ, लिम्बु र आचार्यको नाम देउवा समक्ष बुझाए ।

कोइरालाले तीन जनाको नाम बुझाएको जानकारी महामन्त्री थापाले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कामार्फत पाए । वैशाख २० गते बिहानै नेता कोइराला आँखाको उपचार गर्न स्वकीय सचिव दिनेश थपलियालाई साथमा लिएर सिंगापुर हिँडे ।

सोही दिन अपराह्न कोइराला निकट गुरुङ, लिम्बू र देउवा निकट बस्नेत मन्त्री नियुक्त भए । कांग्रेसको भागमा परेको बाँकी एक मन्त्रालयमा पनि आइतबार आचार्यले मौका पाए । सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार र नेता प्रदीप पौडेलमध्ये एक जनालाई मन्त्री बनाउने महामन्त्री थापाको योजना असफल भयो ।

नेता कोइरालाले पनि उपसभापति धनराज गुरुङ र नेता मिनेन्द्र रिजालको डिजाइनमा बेवास्ता गरेको महामन्त्री थापा पक्षको बुझाइ छ । देउवा र कोइराला मिलेर पेल्न खोजेपछि शृङ्खलावद्ध असन्तुष्टि थापाले सार्वजनिक रुपमा प्रकट गरेको देखिन्छ ।

महामन्त्री थापाको असन्तुष्टिबारे आफूलाई जानकारी नभएको उपसभापति धनराज गुरुङले बताए । ‘उहाँ पार्टीमा टप फाइभभित्रै हुनुहुन्छ,’ प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सोमबार उनले भने, ‘उहाँले बोलेको विषयमा उहाँलाई नै सोध्नुस् । मैले टिप्पणी गर्नु उचित हुँदैन ।’

महामन्त्री थापाले असन्तुष्टि जनाए पनि अनिष्ट हुने गरेर पाइला नचाल्ने गुरुङको विश्वास छ । ‘गगन थापाजी शालिन व्यक्तित्वको रुपमा देख्छु । शालिन व्यक्तिले अनिष्ट हुने गरेर पाइला चाल्नुहुन्छ भन्ने मलाई विश्वास छैन । उहाँ जिम्मेवार हुनुहुन्छ,’ उनी भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप