बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

मधेस सरकारलाई पूर्णता दिन उपेन्द्र यादवले बढाए सक्रियता

बिहीबार, २८ वैशाख २०८०, २२ : ४०
बिहीबार, २८ वैशाख २०८०

काठमाडौं । मधेस प्रदेश सरकारलाई पूर्णता दिन जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सक्रियता बढाएका छन् । अध्यक्ष उपेन्द्र यादव बुधबार पार्टीको कार्यकारिणी समितिको बैठक सकेर मधेस झरेका छन् । पर्सा हुँदै आज जनकपुर पुग्ने अध्यक्ष यादवले मधेस सरकारको विषयमा सर्वपक्षीय छलफल गर्ने बताइएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि जनकपुर पुगेका छन् ।

सत्ता गठबन्धन अनुसार मधेस प्रदेशको सरकार विस्तार भइसकेको छैन । त्यसलाई पूर्णता दिन सत्ता गठबन्धनका दलहरु लागिपरेका छन् ।   यसअघि एमाले–माओवादी केन्द्रको गठबन्धन अनुसार मधेस प्रदेश सरकार गठन भएको थियो । त्यो गठबन्धन भत्केर कांग्रेस–माओवादीको गठबन्धन बनेको छ । तर, सो गठबन्धनअनुसार मधेस सरकारले स्वरुप लिएको छैन ।

जसपाको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा कांग्रेस, लोसपा, नेकपा एकीकृत समाजवादी सहभागी हुन बाँकी छन् । माओवादी र जनमत यसअघि नै सरकारमा सहभागी भइसकेका छन् । एमाले भने सरकारबाट फिर्ता भइसकेको छ । मधेस प्रदेश सरकारको नेतृत्व गर्न कांग्रेस, लोसपा र जनमतले पनि दाबी गरेका छन् । आलोपालो सरकारको नेतृत्व गर्ने गरी छलफल अगाडि बढेको छ । सुरुको चरणमा जसपाले नै नेतृत्व गर्ने, त्यसपछि कांग्रेस र लोसपाले गर्ने गरी छलफल अगाडि बढेको स्रोतले जनाएको छ । जसपालगायत गठबन्धनका अन्य दल जनमतलाई नेतृत्व दिने पक्षमा छैनन् । जनमत पार्टीलाई सरकारमा सहभागी गराउने तर सरकारको नेतृत्व नदिने पक्षमा गठबन्धन दलका नेताहरु रहेको स्रोतले जनाएको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मधेस प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीले पनि गर्ने सहमति भइसकेको बताए । दलहरुको बीचमा छलफल भइरहेको र चाँडै नै मधेस सरकारले पूर्णता पाउने उनले बताए ।  

जसपाका अध्यक्ष यादव जनकपुरमा आफ्ना दलका साथै अन्य दलका नेताहरुसँग छलफल गरेर कुनै निष्कर्षमा पुग्ने बताइएको छ । जसपाका कार्यकारिणी सदस्य एवं राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले मधेस प्रदेश सरकारको बारेमा छलफल गरी टुङ्गो लगाउने अधिकार पार्टीका अध्यक्ष यादवलाई दिएको र सोही अनुसार पहल भइरहेको बताए ।

उनले भने, ‘अध्यक्षजी मधेसतिरै जानु भएको छ, उताबाट केही छलफल गरेर फर्केपछि केन्द्रमा गठबन्धनको बैठकबाट त्यसलाई अन्तिम रुपमा दिनेछ ।’ सत्ता गठबन्धनमा रहेका दलहरुलाई सहभागी गराएरै मधेस सरकार विस्तार हुने भन्दै उनले सबै दललाई व्यवस्थापन गर्न केही गाह्रो भए पनि मिलाउने प्रयास भइरहेको प्रस्ट पारे ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले उपचुनावमा कांग्रेसले लेनदेन (सरकारको नेतृत्व सुम्पिने) गरेर उपेन्द्र यादवलाई सहयोग ग¥यो भन्ने कुरा गलत रहेको बताए । चुनावको समयमा जसपासँग त्यस्तो कुनै सहमति नभएको बताउँदै उनले नयाँ सरकार बनाउँदा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको दाबी गरे । चुनावपछि उपेन्द्र यादवले त्यहाँको सरकारबाट मुख्यमन्त्री फिर्ता बोलाएर कांग्रेसलाई नेतृत्व गर्न दिने अपेक्षा आफूले गरेको तर त्यस्तो हुन नसकेको सहमहामन्त्री यादवको भनाइ छ । पहिलो चरणमा जसपालाई नै नेतृत्व गर्न दिने र दोस्रो चरणमा कांग्रेसले नेतृत्व गर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप