आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

विपद् पूर्वतयारीको काम व्यवस्थित र प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

शुक्रबार, २९ वैशाख २०८०, १३ : ४८
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् पूर्वतयारीको काम व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शुक्रवार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाउन निर्देशन दिएका हुन्  । 

उनले पूर्वतयारीमा यथास्थितिवादी सोच र व्यवहार भएको भन्ने टिप्पणी आउने गरेको भन्दै आगामी दिनमा कुनैपनि कमी हुन दिन नहुने बताए । 

उनले असावधानिका कारण, अकर्मण्यताका कारण वा निर्णय कार्यान्वयन गर्न नसकेका कारण पुरानै अवस्था दोहोरिएको आफूले सुन्न र हेर्न नपरोस् भनि सम्बन्धित निकायलाई सचेत गराए । 

उनले भने,  ‘सधैँ हाम्रो यथास्थितिवादी सोच र व्यवहार भयो भनेर टिप्पणी आउने गरेको छ । यद्यपी हामीले कानून, संरचनामा केही परिवर्तनहरु गरेका छौँ । तर त्यसले सकारात्मक दिशातिर अगाडी बढाएको छ । तरपनि पूर्वतयारीको कुरामा कमी भयो भन्ने कुरालाई गहिरो आत्मसात् गर्नु जरुरी छ । तयारीलाई व्यवस्थित ढंगले, प्रभावकारी ढंगले अगाडी बढाउनुपर्ने आवश्यकता छ । त्यसमा सम्बन्धित प्राधिकरण र सम्बन्धित अरु सबै निकायहरुले पनि राम्रोसँग ध्यान दिन म विशेष अनुरोध गर्न चाहन्छु । फेरि गर्नसक्ने तयारी पनि हाम्रो असावधानिका कारणले, समयमा निर्णय नगरेर अकर्मण्य बस्नाका कारणले वा निर्णयहरुलाई ठिक ढंगले कार्यान्वयन गर्ने प्रक्रियामा नलगेको कारणले उस्तै हो फेरि भन्नेकुरा हेर्न, सुन्न नपरोस् । म यसमा विशेष जोड दिन चाहन्छु ।’

सिंहदरबारमा बसेको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले डोटी, बाजुरा, लमजुङ, खोटाङ र भोजपुर केन्द्रबिन्दु भइ भूकम्पबाट क्षतिग्रस्त घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । साथै आसन्न मनसुन पूर्वतयारी तथा प्रतिकार्यको ठोस कार्ययोजना आगामी बैठकमा बनाउने पनि निर्णय भएको छ ।

बैठकमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले हिउँदमा शितलहर तथा वर्षा याममा बाढी, पहिरो आउने कुरा निश्चितजस्तै भएकाले विपद्का लागि प्रभावकारी पूर्वतयारी हुनुपर्ने बताए । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगलागी नियन्त्रणका लागि दह्रो कदम चाल्न आवश्यक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप