शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

हैजा अलर्ट ! खानेपानीको गुणस्तरमा विशेष चासो देखाउन जरुरी

शनिबार, ३० वैशाख २०८०, १३ : ४२
शनिबार, ३० वैशाख २०८०

केही दिनयता गर्मी बढ्दो छ । पानीको माग र उपभोग पनि ह्वात्तै बढेको छ । बाहिर खाने चलन पनि बढ्दो छ । योसँगै केही दिनयता झाडापखालाका बिरामी बढिरहेको देखिन्छ । कतिपय परिवारका सदस्यलाई एकपछि अर्को गर्दै झाडापखाला लाग्ने क्रम बढेको देखिन्छ । 

रातभरि १०–१२ पटकभन्दा बढी पखाला लागेको र अहिले औषधी लिइरहेको भन्दै एक परिचित साथीले मलाई खबर गरे । उहाँका अनुसार पहिले आफ्नो श्रीमती र छोरालाई झाडापखाला लागेको अनि आफू पनि झाडापखालाको बिरामी भएको जानकारी गराएका थिए । गर्मीयाममा विशेष गरेर  झाडापखाला ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा जस्ता सङ्क्रमण वा परजीवीले गर्दा हुने गर्दछ । कहिलेकाहीँ प्रकोप वा महामारीको रूपसमेत लिने गरेको विगतका अनुभवहरू छन् । यीमध्ये हैजाको ब्याक्टेरिया फैलँदा विशेष चासो र सतर्कता अपनाउने गरिन्छ । यसको मुख्य कारण भनेको यो तीव्र गतिमा फैलनु र उपचारमा ढिला भए मानवीय क्षतिसमेत गराउन सक्नु हो । 

नेपालमा पछिल्लो पटक हैजाका कारण २०७८ साल असोज महिनाको दोस्रो हप्तामा कपिलवस्तुको कृष्ण नगरपालिकाका ७, ८ र ९ वडामा फैलँदा चार जनाको मृत्युसमेत भएको थियो । ती चार मृतकमध्ये तीन जना त १० वर्षभन्दा कम उमेरका थिए । समयमै उपचार हुन नसक्दा उनीहरूको मृत्यु भएको थियो ।

गत वर्ष शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई दिदीबहिनी हैजाले सिकिस्त भएर भर्ना भएका थिए । दुवैलाई हैजाको जीवाणु पुष्टि भएको थियो । लेखक दुई दशकदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवारत रहँदै गर्दा हजारौँ हैजाका बिरामीहरू देखेको र उपचार गरेको अनुभव छ ।

सन् २०१० यताको ट्रेन्ड हेर्ने हो भने हैजा फैलने महिना बिस्तारै अगाडि सरेको देखिन्छ । सन् २०१० मा भदौ महिनामा देखिएको हैजा हरेक वर्ष बिस्तारै अगाडि सर्दै सन् २०१९ सम्म आइपुग्दा वैशाख महिनामा देखिन थालेको तथ्याङ्कले देखाउँछ ।

गत वर्ष काठमाडौँमा असारको २ गते हैजाको जीवाणु पुष्टि भएको थियो । यो तथ्याङ्कलाई गहिरिएर हेर्ने हो भने वैशाख महिनापछि जुनसुकै समयमा हैजा फैलन सक्ने अनुमान छ ।

केही वर्ष अगाडि एक परिवारमा हैजा देखिँदा सम्बन्धित निकायले स्रोतको खोजी गर्ने क्रममा सो परिवारले प्रयोग गर्दै आएको जारको पानीमा हैजाका जीवाणु भेटिएका थिए । 

पछिल्लो समय पिउने पानीको शुद्धताको बारेमा धेरैको चासो बढेको देखिन्छ । तर जीवनशैलीमा आएको परिवर्तनसँगै तुरुन्त पिउन सकिने सुरक्षित पानीको माग बढ्दो छ । अहिले कुनै पनि कार्यालय, विद्यालय वा सार्वजनिक ठाउँहरूमा जारको पानीको प्रयोग अत्यधिक बढ्दो छ । यो सुरक्षित र तुरुन्त पिउन सकिने भएकाले बढी लोकप्रिय भएको हो । तर बजारमा जारमा उपलब्ध हुने सबै पिउने पानी सफा र सुरक्षित हुँदैन ।

केही वर्ष अगाडि एक परिवारमा हैजा देखिँदा सम्बन्धित निकायले स्रोतको खोजी गर्ने क्रममा सो परिवारले प्रयोग गर्दै आएको जारको पानीमा हैजाका जीवाणु भेटिएका थिए । 

सन् २०१५ मा नेपालमा पहिलो पटक जारको पानीबाट हैजाको जीवाणु देखिएको र फैलिएको कुरा लेखकले सार्वजनिक गरेको थियो । तर दुर्भाग्यवश लेखकको भनाइलाई धेरैले विश्वास नै गरेनन् । 

तर त्यसको केही वर्षपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले (नास्ट) ले बजारमा गरेको सर्वेक्षणमा अधिकांश जारका पानी पिउनलायक नभएको बताएको थियो अर्थात् जारको पानीमा हानिकारक जीवाणु भेटिएको सार्वजनिक गरेको थियो । जब जब गर्मी बढ्छ तबतब पिउने पानीको माग ह्वात्तै बढ्छ । यस्तो बेला सफा पिउने पानीको माग धान्न नसक्दा सफा र  सुरक्षित पानीको अभाव हुने गर्दछ । अनि झाडापखाला वा हैजा फैलने गर्दछ । तसर्थ सम्बन्धित निकायले अहिलेदेखि नै पानीको गुणस्तर जाँच गर्न जरुरी भइसकेको छ । विशेष गरेर काठमाडौँ जस्तो जनघनत्व बढी भएका सहरमा हैजा फैलिँदा धेरै जना प्रभावित हुनसक्ने छ । यो विगतमा पनि देखिइसकेको छ । 

नेपालमा हैजा बर्सेनि देखिँदै आइरहने कडा सरुवा रोग हो । गर्मी मौसम सुरु भएसँगै हैजाको जोखिम पनि बढ्दै गएको छ ।

कुल सङ्क्रमितमध्ये ५ देखि १० प्रतिशतमा हैजाले कडा रूप लिने गर्छ । चौलानीजस्तो पखाला हुनु, वान्ता हुनु, पेट वा खुट्टाको मांशपेशीका बाउँडिनु, तिर्खा लाग्नु, छटपटाहट हुनु यसका मुख्य लक्षण हुन् । यस्ता लक्षण १२ घण्टादेखि ५ दिनसम्ममा देखिने गर्दछ । अलि कडा हुँदै गएमा मुटुको चालमा तीव्रता देखिनु, रक्तचाप घट्नु, छाला सुक्खा देखिनु, छाला तन्काउँदा पूर्ववत् अवस्थामा ढिलो फर्कनु जस्ता थप समस्यारजटिलता वा सङ्केतहरू देखिँदै जाने गर्दछ । समयमा उपचार नपाए मिर्गौला फेल हुने सम्भावना हुन्छ । साथै अचेत भई केही घण्टामा बिरामीको मृत्युसमेत हुन सक्छ । तर हैजाको निश्चित निदान भने प्रयोगशाला परीक्षणबाट मात्र गर्न सकिन्छ ।

अन्त्यमा, नेपालमा हैजा बर्सेनि देखिँदै आइरहने कडा सरुवा रोग हो । गर्मी मौसम सुरु भएसँगै हैजाको जोखिम पनि बढ्दै गएको छ । हाल झाडापखालाको समस्या समुदायमा बढ्दै गइरहेको छ । तसर्थ आफूले प्रयोग गरिरहेको जार वा मिनिरल पानीको बारेमा विशेष चासो र सतर्कता अपनाउन जरुरी छ । सम्बन्धित निकायले पनि बजारमा बेच्न राखिएका खानेपानीको गुणस्तर जाँचमा विशेष चासो र तदारुकता देखाउन जरुरी छ । यो वर्षको हैजा यो लेख लेख्दै गर्दासम्म पुष्टि भइसकेको त छैन तर हैजाको जीवाणु कुनै पनि बेला कुनै पनि ठाउँमा देखिन सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन ।                     

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको  क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप