शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारविरुद्ध शङ्खघोष !

आइतबार, ३१ वैशाख २०८०, १३ : ३८
आइतबार, ३१ वैशाख २०८०

अहिले मुलुकमा कम्पन छुटिरहेको छ । पश्चिमी भेग भूकम्पले काँपिरहेको छ भने त्यहीँ पूर्व, पश्चिम र उत्तर, दक्षिण सबैतिर भ्रष्टाचारले कम्पायमान बनाएको छ । 

अछाम, दैलेख, मुगु, हुम्ला, बाजुरा आदि स्थानमा केही महिनायता निरन्तर भूकम्प गइरहेको छ भने ‘यस क्षेत्रमा विगत पाँच सय वर्षयता ठूलो भूकम्प नगएकाले महाभूकम्प आउने’ आशंका जताइँदै छ । कम म्याग्निच्युडका साना भूकम्प यसै गरी गइरहे सञ्चित ऊर्जा न्यून भई ठूलो भूकम्प टर्दै जाने विज्ञजनको धारणाले केही आश्वस्त भने पारेको छ । 

भूकम्पीय अति जोखिममा रहेको मुलुकलाई यस्तै आश्वासन–भावले पनि उत्साहित तुल्याएको परिप्रेक्ष्यमा भ्रष्टाचारको कम्पन चाहिँ झनै पेचिलो बनेर ठडिएको छ । 

राज्यको बागडोर सम्हालेकाले मच्चाएको यो सङ्गठित अपराध र ठगीकाण्ड पनि विगतका लाउडा, धमिजा, टनकपुर, सुडान, ओम्नीजस्ता काण्डझैँ ‘हात्ती आयो हात्ती आयो फुस्सा’ मा परिणत होला कि भन्ने जन–आशङ्का रहेको छ । 

‘नक्कली भुटानी शरणार्थी काण्ड’ त मुलुकमा व्याप्त भ्रष्टाचारको एउटा कुनाको उभार मात्र हो, भ्रष्टाचारविरुद्ध महाअभियान थालिएमा यस्ता र योभन्दा पनि विकराल कैयन् भ्रष्टाचारका भ्वाङ देखिँदै जाने आकलन छ । नक्कली भुटानी शरणार्थी काण्ड पनि कम्ताको कहाँ छ र ! यससँग जोडिएका तन्तु र तत्त्वले विद्रूपताको पराकाष्ठा झल्काइरहेकै छ । 

भ्रष्टाचार प्रकरणमा भुराभारी मात्रै फन्दामा पर्ने विगतको परिपाटी विपरीत यसपालि अनौठै भएको छ । कर्मचारी मात्रै होइन, नेता पनि परेका छन्, उपप्रधानमन्त्री, गृहमन्त्रीका पदभारमा रहेका व्यक्तिलाई समेत कारबाहीको प्रक्रियामा ल्याइनुले यहाँ कानुन सानालाई मात्रै होइन, ठूलालाई पनि लाग्छ है भन्ने सङ्केत दिन खोजेको छ । 

सङ्केत शुभ हो तर शुभ सङ्केतले मात्रै शुभ प्रभाव दिन सक्दैन । राज्यको बागडोर सम्हालेकाले मच्चाएको यो सङ्गठित अपराध र ठगीकाण्ड पनि विगतका लाउडा, धमिजा, टनकपुर, सुडान, ओम्नीजस्ता काण्डझैँ ‘हात्ती आयो हात्ती आयो फुस्सा’ मा परिणत होला कि भन्ने जन–आशङ्का रहेको छ । 

भ्रष्टाचार तथा भ्रष्टाचारीका सम्बन्धमा हाम्रा नेतृत्व तथा दल ज्यादै उदार रहँदै आएको यथार्थबाट बिरलै अनभिज्ञ होलान् ! तब त भ्रष्टाचारले मुलुकलाई खर्लप्पै निल्दै लगेको जनगुनासो व्यापक भए पनि, अन्तर्राष्ट्रिय सङ्घ, संस्थाले जतिसुकै सचेत गराए तापनि भ्रष्टाचारविरुद्ध लागिपर्नु साटो आँखा, कान र मुख बन्द गरी कुम्भकर्णे निद्रामा मस्त रहनु यहाँको परम्परागत वैशिष्ट्य बनेको छ । 

नक्कली शरणार्थी प्रकरणकै कुरो गरौँ, देश–विदेशमा बस्ने सारा नेपालीलाई यसले कम्प छुटाएको छ । यो प्रकरण विगतमा झैँ सेलाएर नजाओस् भन्नेतर्फ सबैतिर सचेतता, सजगता र सक्रियता बढ्न थालेको छ । लहरो तान्दै जाँदा पहरो समेत खस्कने भयावह स्थिति तेर्सिएकाले के कसो होला ? भन्ने चासो र चिन्ता सर्वत्र रहेको छ । कोही पक्राउ परेका छन्, कोही लुकेका छन् त कोही भागेका छन्, पर्दापछाडिका कैयन् पात्रका मुहार अझै खुल्न बाँकी होलान् ! थामथुम र सामसुम पार्न उद्यत हुनेको सङ्ख्या पनि कम नहोला तर सरकारले अहिलेको बढाएको सक्रियता साधुवादको पक्ष बनेको छ । 

रत्ती खुट्टा नकमाई अडिग हुन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैतिरबाट प्रोत्साहन गरिएको छ । यो सकारात्मक कुरो हो । जनअपेक्षा अनुरूप यही गति र मति अनुसार कदम बढ्नसके एक, एक गरी अनेक भ्रष्टाचारका प्वाल खुल्दै जानेछन् र हरेक भ्रष्टाचारी कालकोठरीमा जाकिन पुग्नेछन् । एउटा भनाइ छ, ‘सत्तामा पुग्नभन्दा पनि सत्ता टिकाइरहन बढी भ्रष्टाचार हुनेगर्छ ।’ विगतमा यहीँ पनि यस्तो नदेखिएको होइन तर अहिले सत्ताको मोह नराखी भ्रष्टाचारविरुद्ध लौहपुरुषको परिचय दिइनु वर्तमान आवश्यकता टड्कारिएको छ । 

अन्तर्राष्ट्रिय समुदायमाझ भ्रष्ट मुलुकका रूपमा नेपाल चिनिन थालेको अहिले आएर मात्रै होइन । विगत लामो समयदेखि यहाँ भ्रष्टाचारको तापक्रम बढ्दै आएको दृष्टान्त भ्रष्टाचारविरुद्ध सक्रिय अन्तर्राष्ट्रिय संस्था ‘ट्रान्सपरेन्सी इन्टरनेसनल’ आदिका वार्षिक प्रतिवेदनमा छरपस्ट छन् तर यसबारे लाग्नुपर्नेका घैँटामा कहिल्यै घाम नलागेका कारण भ्रष्टाचारविरुद्ध अभियान ओठेनारामै सीमित रह्यो । 

मुलुक र जनताको मुहार उजिल्याउने नाममा ठूलाठूला राजनीतिक परिवर्तन नभएका होइनन्, ऐतिहासिक तथा युगान्तकारी भन्न मिल्ने परिवर्तन पनि भएकै हुन्, तैपनि यहाँ कुनै परिवर्तन सार्थक ठहरिन सकेन ।

प्रायः भ्रष्टाचारको सालनाल राजनीतिक दलसँग गाँसिएकाले पनि यसप्रति चाहिँदो रूचि नदेखाइएको हुन सक्छ । भ्रष्टाचाररूपी क्यान्सरलाई बेलैमा पहिचान गरी त्यसको निर्मूलनतर्फ लाग्नुपर्नेमा अनदेखा गर्ने वा बुझपचाउने परिपाटी अँगालिँदा अहिले राजनीतिक दलको छवि ज्यादै धमिलिन पुगेको छ । 

भ्रष्टाचारको आरोप लागेकालाई लुकाउन चाहने, बचाउन खोज्ने र सत्ता ‘बार्गेनिङ’ को माध्यम बनाउन खोज्ने प्रवृत्ति कुनै पनि मुलुकका लागि सुखद पाटो होइन । भ्रष्टाचारी जोकोही भए पनि उसलाई कानुनी घेराभित्र ल्याई अपराध गरे अनुपातको दण्ड, सजायको भागिदार बनाउन जोड दिनैपर्छ । अरुको दलका नेता, कार्यकर्ता समातिँदा ताली पड्काउने र आफ्नो दलको समातिँदा ‘हाय तौबा !’ मच्चाउने परिपाटीले अरूको होइन, नेतृत्व तथा दलकै खिल्ली उडाइरहेको वस्तुस्थिति छ । अतः मेरो होस् वा तेरो, सानो होस् वा ठूलो जुनसुकै तह र तप्काको भए पनि अपराधी राष्ट्रकै घाती हुनेभएकाले तिनमाथि अलिकति पनि आत्मीयताभाव नराखी कठघरामा पु¥याउने दृढता अँगाल्नु हरेक दलको कर्तव्य बनेको छ ।

मुलुक र जनताको मुहार उजिल्याउने नाममा ठूलाठूला राजनीतिक परिवर्तन नभएका होइनन्, ऐतिहासिक तथा युगान्तकारी भन्न मिल्ने परिवर्तन पनि भएकै हुन्, तैपनि यहाँ कुनै परिवर्तन सार्थक ठहरिन सकेन । यसको पछाडि एउटै कारण यही भ्रष्टाचार रहेको छ । राजनीतिक पदावली सापटी लिएर भन्ने हो भने यहाँका हरेक परिवर्तन केवल स्वरूपमा भए, सारमा भएनन्, तब त, सारमा चाहिँ भ्रष्टाचारको जिउ झन्, झन् अजङको बन्दै आयो ।

प्रणालीगत रूपमा पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे जे भनिए पनि क्रमशः भ्रष्टाचार मौलाउने र भ्रष्टाचारी रमाउने खेलोविरुद्ध शङ्खघोष नभएकैले जनसाधारण सधैँ उही रोइलो गर्न बाध्य बनेका हुन् । भ्रष्टाचारलाई राजनीतिक दल वा तिनका नेतृत्वले कहिल्यै संवेदनशील रूपमा नलिएको उदाहरण अनेक छन् । हरेक व्यवस्था परिवर्तनमा विगतका भ्रष्टाचार उधिनी कारबाही मात्रै गर्न सकिएको भए पनि बेग्लै कुरो हुन्थ्यो । विगतलाई च्याप्दा भविष्यमा आफू पनि च्यापिने डरले हुनसक्छ । भ्रष्टाचारविरुद्ध खडा गरिएका तमाम आयोगका प्रतिवेदन केवल कागजी शोभाका फूल बने । 

भ्रष्टाचारविरुद्ध स्थापित संस्था पनि राजनीतिक इच्छाशक्तिको अभावमा ओजहीन बन्न पुगे । उस्तैखाले अभियुक्त हुँदा पनि कसैलाई हतकडी लगाई बाहिर र कसैलाई ससम्मान भित्र राखिने ‘काखा र पाखा’ को हालैको बेहोराले पनि हाम्रो कानुनी शासनको धज्जी उडाएको छ । यस्ता धेरै कारण छन्, जसले ठूला माछा पक्डनै नसकिने र पक्डिहाले पनि येनकेन उम्काइने आशङ्का निराधार छैन । तल, माथि, दायाँ, बायाँ सबैतिर भ्रष्टाचारै भ्रष्टाचारको छाया रङमङाएको देखिन थालेपछि अविश्वासको बादल घनीभूत हुनु कुन आश्चर्य ! 

भारतीय सन्दर्भमा लेखिएको एक अंश यतिखेर स्मरणीय बनेको छ । त्यसमा उल्लेख छ– ‘भारतमा भ्रष्ट नै भ्रष्टमाथि भ्रष्ट हुने आरोप लगाउँछन्् र भ्रष्ट नै भ्रष्टाचारको जाँच गर्छन्, अनि भ्रष्ट नै भ्रष्टलाई भ्रष्टाचारको आरोपबाट मुक्त गर्छन् !’ 

‘सौ में निन्यानवे बेइमान, फिर भी मेरा देश महान्’ भनिने भारतमा जस्तै यहाँ पनि ‘भ्रष्टै भ्रष्टको पाराले, रुन नपरोस् साराले’ चिन्ता उब्जनु अस्वाभाविक होइन । गत चुनावी नतिजाबाट परम्परागत राजनीतिक दलले, सबक लिएका छन् भने थाहा भएकै हुनुपर्छ, जनताले नयाँलाई यत्तिकै मतदान गरेका होइनन् । नयाँले पनि कुरो बुझेनन् वा पुरानाले झैं बुझपचाउन थाले भने यिनले पनि उस्तै जनवितृष्णाको कोपभाजनमा पर्नुपर्छ । 

मुलुक पिछडिनुमा, जनता उपेक्षित र उत्पीडित भइरहनुमा, न्याय नपाइनुमा र गुजाराका लागि सकस पर्दै जानुमा अरू होइन, यही भ्रष्टाचाररूपी दैत्य मूलकारक रहेको छ । नशा, नशामा रगत प्रवाह भएझैँ मुलुकका प्रत्येक क्षेत्रमा फैलिएको भ्रष्टाचार सितिमिती तालले अन्त्य हुने छाँट पनि छैन । यसका निम्ति सबै जना जाग्नैपर्छ, अनि मात्र भ्रष्टाचारविरुद्ध अभूतपूर्व क्रान्ति सम्भव छ । 

भ्रष्टताको क्यान्सरले तेरो, मेरो, कसैको भन्दैन, क्यान्सर लागेको अङ्गप्रति मोह राखिएमा अस्तित्वै नास हुने डर रहन्छ, तसर्थ कुनै पनि दलले भ्रष्टाचारको आरोप लागेकालाई आश्रय दिनु, बचाउन खोज्नु आत्मघाती प्रयासबाहेक केही नठहरिने युगीनबोध आजको आवश्यकता बनेको छ । पछिल्ला समयमा राजनीतिक दलभित्रै पनि भ्रष्टाचार र भ्रष्टाचारीप्रति गम्भीर हुनुपर्ने स्वर मुखरित हुन थालेका छन्, यो राम्रो कुरो हो, राम्रा कुरालाई व्यावहारिक जामा नपहि¥याइएसम्म यसै हो भन्न हतारो हुनेछ । 

भ्रष्टाचारविरुद्ध नागरिक समाज पनि उत्रन थालेका छन्, जनता ‘जनार्दन’ को त कराउँदा, कराउँदा घोक्रो फुलेकै छ । राजनीतिक नेतृत्वप्रति औँला ठडिँदै आएका छन् । ०६३ सालयताका सबै भ्रष्टाचारको छानबिन हुनुपर्ने स्वर सुनिएको छ भने कतिपयले ०४७ यताका सबैलाई तान्नुपर्ने आवाज पनि घन्काएका छन् । यस सम्बन्धमा ०४६ पूर्वका पञ्चायतकालीन नेतालाई समेत छुटाउनु न्यायोचित हुँदैन । मुख्य कुरो, भ्रष्टाचारविरुद्ध राजनीतिक संकल्प नै हो । साँच्चै, बृहत् अभियान चलाउने हो भने ‘आँटी छोरालाई बाघले खाँदैन’ । यस महाअभियानलाई महायज्ञ ठानी कतिपय नेताले स्व–अपराध घोषणा गर्न सक्छन् । बिगार्न मात्रै होइन, सच्याउन पनि सक्छन् भन्ने देखाउन पनि यस किसिमको राष्ट्रभाव जरुरी बनेको छ । वाल्मीकि पनि त आखिर रत्नाकर थिए, सच्चिएपछि दाग मेटिएर गएको हो । 

राजनीतिक दलबाटै अभियान थालिने हो भने मुलुकभरि छिट्टै यसको सुप्रभाव पर्नेछ । साना, साना भूकम्प जाँदा सञ्चित ऊर्जा न्यून हुँदै गई महाभूकम्प टरेजस्तै अथाह भ्रष्टाचारका कारण मुलुक भँड्खारामा पर्ने छैन । हैन, राजनीतिक दल अहिले पनि नचेत्ने, युगको आवाज बुझ्न नचाहने र कुशासनमै अलमलिरहन खोज्ने हो भने यही बढ्दो भ्रष्टाचारका कारण जनाक्रोश चर्किई कुनै पनि दिन मुलुकमा राजनीतिक महाभूकम्प नआउला भन्न सकिँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निर्मलकुमार आचार्य
निर्मलकुमार आचार्य
लेखकबाट थप