बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
खेलकुद

एसिया कप क्रिकेट : पाकिस्तानको नयाँ ‘हाइब्रिड मोडेल’प्रति श्रीलङ्का र बङ्गलादेश सकारात्मक

बुधबार, ०३ जेठ २०८०, १२ : ५५
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । भारत र पाकिस्तानको असहज राजनीतिक सम्बन्धको असर यसै वर्ष आयोजना हुने भनिएको एसिया कप क्रिकेट प्रतियोगितामा परेको छ । एसिया कपको विषयलाई लिएर भारत र पाकिस्तान आ-आफ्नो अडानमा कायमै छन् ।

सहभागी अन्य राष्ट्र भने मूक दर्शक बनेका छन् । प्रतियोगिताको मुख्य आयोजक एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले पनि कुनै ठोस निर्णय लिन सकिरहेको छैन । पछिल्लो समय एसिया कपको विषयलाई लिएर दिनदिनै नयाँ नयाँ समाचारहरू बाहिर आइरहेका छन् ।

पछिल्लो समाचार अनुसार, पाकिस्तानको नयाँ ‘हाइब्रिड मोडेल’प्रति श्रीलङ्का क्रिकेट बोर्ड र बङ्गलादेश क्रिकेट बोर्ड सकारात्मक देखिएका छन् । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष नजाम सेठीको निरन्तरको प्रयासपछि श्रीलङ्का र बङ्गलादेश नयाँ ‘हाइब्रिड मोडेल’प्रति सकारात्मक बनेका हुन् ।

पीसीबीले २ वटा विकल्पसहितको नयाँ ‘हाइब्रिड मोडेल’ एसीसीमा पेश गरेको छ । पीसीबीको पहिलो प्रस्तावमा एसिया कपका सबै खेल पाकिस्तानमै खेलाउने तर, भारतको खेल भने कुनै ‘न्यूट्रल भेन्यू’ मा खेलाउने उल्लेख गरिएको छ ।

यसैगरी दोस्रो प्रस्तावमा भने एसिया कपका खेलहरूलाई २ चरणमा विभाजन गरेर खेलाउने उल्लेख गरिएको छ । पहिलो चरणमा भारतबाहेकका खेलहरू पाकिस्तानमा खेलाउने र दोस्रो चरणमा भारतका खेलहरू ‘न्यूट्रल भेन्यू’ मा खेलाउने उल्लेख छ । पीसीबीको दोस्रो प्रस्तावमा एसिया कपको फाइनल खेल पनि ‘न्यूट्रल भेन्यू’ मै खेलाउने उल्लेख गरिएको छ ।

एसीसीका अध्यक्ष जय शाहले पनि पीसीबीको नयाँ ‘हाइब्रिड मोडेल’ लाई बैठकमा प्रस्तुत गर्ने आश्वासन दिएका छन् । शाह भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव पनि हुन् । तर, बीसीसीआई भने सम्पूर्ण प्रतियोगिता नै पाकिस्तानबाट अन्यत्र सारिनु पर्ने पक्षमा देखिन्छ ।

‘मैले हालसम्म पाकिस्तानले प्रस्तुत गरेको नयाँ हाइब्रिड मोडेल हेरेको छैन । तर, हामी अहिले पनि आफ्नो अडानमा कायमै छौं । हामी प्रतियोगिताका सबै खेल न्यूट्रल भेन्यूमा खेलाइयोस् भन्ने चाहन्छौँ,’ बीसीसीआईका एक अधिकारी भन्छन् ।

उनले भारतीय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) मा पनि नखेल्ने बताएका छन् । ‘यूएईमा चर्को गर्मी हुन्छ । हामी आफ्ना खेलाडीको स्वास्थ्यप्रति कुनै जोखिम मोल्न चाहँदैनौँ । प्रतियोगिताका लागि श्रीलङ्का उपयुक्त स्थान हुनसक्छ भन्ने हाम्रो मान्यता हो । प्रतियोगिता बहिस्कार गर्ने बारेमा पनि हामीले कुनै निर्णय गरेका छैनौँ,’ ती अधिकारी भन्छन् ।

यसअघि पीसीबीले अगाडि सारेको ‘हाइब्रिड मोडेल’लाई भने बीसीसीआईले अस्वीकार गरेको थियो । बीसीसीआईले प्रतियोगिताका सम्पूर्ण खेल अन्यत्र सारिनु पर्ने अडान लिएको थियो । श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान पनि प्रतियोगिता आयोजना गर्न इच्छुक देखिएको थियो ।

तर, पीसीबी अध्यक्ष सेठीको निरन्तरको दौडधुपपछि श्रीलङ्का र बङ्गलादेश नयाँ ‘हाइब्रिड मोडेल’प्रति सकारात्मक देखिएका हुन् । यस विषयमा अफगानिस्तानको आधिकारिक धारणा भने आइसकेको छैन । तर, पीसीबी भने अफगानिस्तानको पनि समर्थन पाउनेमा विश्वस्त देखिन्छ ।

पीसीबीले श्रीलङ्कालाई धम्क्याउन आगामी जुलाईमा हुने भनिएको श्रीलंकासँगको २ टेस्टको शृङ्खला रद्द गर्ने चेतावनी पनि दिएको थियो । भारतले सुरक्षाको कारण देखाउँदै एसिया कप खेल्न पाकिस्तान नपठाउने अडान लिएपछि पाकिस्तानले पनि भारतमा विश्वकप नखेल्ने चेतावनीसमेत दिएको थियो ।

यस विषयमा छलफल गर्न यसै साता एसीसीको बैठक बस्दैछ । बैठकमा पीसीबीको नयाँ ‘हाइब्रिड मोडेल’को विषयमा छलफल हुनेछ । आगामी एसिया कपमा नेपाल पनि सहभागी हुँदैछ । नेपालका अतिरिक्त प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप