बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विश्वज्ञान सिद्धान्तका महारथी रमेश सुनुवार

बिहीबार, ०४ जेठ २०८०, १० : ३५
बिहीबार, ०४ जेठ २०८०

जनयुद्ध दिवस, २०७९ फागुन १ गते श्री रमेश सुनुवारसँग प्रथम भेट गरियो । केही साथीहरूको संयोजनमा काठमाडौँमा भएको भेटमा परिचय, आआफ्ना राजनीतिक पृष्ठभूमि र वैचारिक दृष्टिकोणबारे चर्चा गरियो । वैज्ञानिक समाजवाद निर्माण अभियानका संयोजकसमेत रहेका सुनुवारले अनुवाद गरेका विभिन्न पुस्तक र लेखहरू अगाडि नै पढिएका हुन् । सो भेटमा उनले ‘वैज्ञानिक समाजवादको घोषणपत्र’ उपलब्ध गराए । भोलिपल्ट बिहानै त्यो पढिसिध्याइयो । आहुतिको ‘विज्ञान र प्रविधि मुख्य उत्पादक शक्ति’ लाई प्रविधिवादी विचारधारा भन्दै आएका हाम्रा लागि सुनुवारको कार्यदिशा भने सहज, सकारात्मक तथा बोधगम्य लाग्यो । 

आहुति र रमेश सुनुवारको प्रस्तुतिमा आधारभूत अन्तर छ । आहुतिका प्रस्तुतिमा मानव श्रमिकको किञ्चित स्थान देखिँदैन । तर सुनुवारजीको वैज्ञानिक समाजवादको घोषणापत्र पृष्ठ ६१ मा लेखिएको छ, ‘मानव जातिले वैज्ञानिक समाजवाद निर्माणका लागि विज्ञान प्रविधिलाई प्रमुख उत्पादकशक्तिका रूपमा उपयोग गर्नु अनिवार्य भएको छ ।’ ‘मानव जातिका लागि’ भनेपछि त्यो स्वतः श्रमिक वर्गका लागि हुने भयो । अतः सुनुवारको कार्यदिशा वस्तुतः वैज्ञानिक समाजवादी विचारधारामा आधारित रहेको ठहर्छ । 

अब वैचारिक–राजनीतिक सम्बन्धमा छलफल गर्न सकिन्छ भनेर हामीले दोस्रो भेटघाट ग¥यौँ । ‘मानव जातिका लागि विज्ञान प्रविधिलाई प्रमुख उत्पादकशक्ति’ मा सहमति जनाउँदै हामीले अर्को पुस्तक लिएर आयौँ । ‘वैज्ञानिक समाजवादको रोडम्याप’ शीर्षकको त्यो पुस्तक फागुन दोस्रो साताभित्र पढिसकियो । प्रत्येक प्रगतिशीलहरूका निमित्त जोडदार गुरुत्व बोकेको सुनुवारको सो पुस्तकबारे लेख्ने तयारीमा लागियो । आलेखको शीर्षक सोचियो– ‘विश्वज्ञान सिद्धान्तका महारथी रमेश सुनुवार’ !

दुर्भाग्य भन्नुपर्छ, पूर्वमा रातारात कोशी नाम थोपरेछन् । फागुन १७ गते बिहान जानकारी भयो । के कसो गर्ने सम्बन्धमा परामर्श गर्दै पूर्वी पहाडतर्फ जनसंवाद यात्राको निधो गरियो । पाँचथरदेखि हलेसीसम्म जनसंवाद तथा सडक आन्दोलनमा सहभागितासहित प्राप्त सुझावहरूका आधारमा किरात गणराज्य मोर्चा प्रस्ताव गरियो । पूर्वमा पहिचान आन्दोलनको वैचारिक–राजनीतिक कार्यदिशा प्रस्ताव र केही हदसम्म सङ्गठनात्मक तयारीबाट बल्ल यो सङ्क्षिप्त आलेखले पूर्णता पाएको छ । 

पुस्तक परिचय

विसं २०७९ भदौमा प्रकाशित ‘वैज्ञानिक समाजवादको रोडम्याप’ ५७० पृष्ठको एउटा सबल कृति हो । यसमा दर्शनशास्त्र, विज्ञान, इतिहास, मार्क्सवाद र वैज्ञानिक समाजवादका पाँच वटा भाग छन् । दर्शनशास्त्रलाई पाँच अध्यायमा, विज्ञानलाई आठ अध्यायमा, इतिहासलाई छ अध्याय र मार्क्सवाद तथा वैज्ञानिक समाजवादलाई तीन–तीन अध्यायमा विन्यास गरिएको छ । अध्याय पृष्ठको हिसाबले दर्शनशास्त्र १२४, विज्ञान १७३, इतिहास ११५ र मार्क्सवाद ७६ तथा वैज्ञानिक समाजवादलाई १४९ पृष्ठमा विवेचना गरिएको छ । 

सज्जन पाठकहरूका निमित्त रूपमा ज्यादति देखिए पनि सारतत्त्वमा उपायोगी रहने ठानेर पुस्तकका विभिन्न भाग तथा अध्याय अन्तर्गतका शीर्षकहरूलाई यहाँ समावेश गरिएको छ । यसो गर्दा नै पुस्तक अन्तर्वस्तुको परिचय खुल्ने र कठोर परिश्रम गरेका लेखकको भूमिका पनि स्थापित गर्न सम्भव होला भन्ने लाग्छ । तदनुरूप भाग तथा अध्याय अन्तर्गतका निम्न क्रमागत शीर्षकहरू प्रस्तुत छन् ।

दर्शनशास्त्र

अध्याय १– दर्शनको परिचयः १. दर्शनको परिभाषा, २. दर्शनको कार्य, ३. दर्शनको लक्ष्य । अध्याय २– दर्शनको वर्गीकरणः १. सत्ताको स्वरूपको आधारमा, २. सत्ताको सङ्ख्याको आधारमा, ३. अध्ययन विधिको आधारमा । अध्याय ३– दर्शनका शाखाहरूः १. तर्कशास्त्र, २. प्रकृति दर्शन, ३. समाज दर्शन । अध्याय ४– दर्शनको संरचनाः १. प्रवर्ग, २. निर्णय, ३. तर्क । अध्याय ५– दर्शनको विकासक्रम÷भारतीय दर्शनको विकासक्रम :आस्तिक दर्शन १. न्याय दर्शन, २. वैशेषिक दर्शन, ३. साङ्ख्य दर्शन, ४. योग दर्शन, ५– मिमांसा दर्शन, ६. वेदान्त दर्शन । नास्तिक दर्शन १. चार्वाक दर्शन, २. जैन दर्शन, ३. बुद्ध दर्शन ।

चिनियाँ दर्शनः १. प्राकृतिक दर्शन, २. नैतिक दर्शन । 

पश्चिमा दर्शनको विकासक्रम– प्राचीन दर्शन :१. प्राकृतिक दर्शन, २. बौद्धिक दर्शन, ३. नैतिक दर्शन । 

आधुनिक दर्शन अन्तर्गत १. तर्कवाद, २. अनुभववाद, ३. आदर्शवाद– द्वन्द्ववादको प्रवर्ग, द्वन्द्ववादको नियम, द्वन्द्ववादको सिद्धान्त । 

मार्क्सवादी दर्शन :१. द्वन्द्ववाद, २– भौतिकवाद, ३. द्वन्द्वात्मक भौतिकवाद, ४. प्रकृति, समाज र चिन्तनमा भौतिकवाद, ५. प्रकृति, समाज र चिन्तनमा द्वन्द्ववाद । 

उत्तरआधुनिक दर्शन :१. तार्किक प्रत्यक्षवाद, २. तार्किक परमाणुवाद, ३. विश्लेषणात्मक दर्शन । 

विज्ञान 

अध्याय १– विज्ञानको परिचयः १. विज्ञानको आवश्यकता, २. विज्ञानको कार्य, ३. विज्ञानको लक्ष्य । अध्याय २– विज्ञानका मान्यताहरूः १. भौतिकताको मान्यता, २. नियमितताको मान्यता, ३. अन्तरसम्बन्धको मान्यता । अध्याय ३– वैज्ञानिक विधि । अध्याय ४– विज्ञानको वर्गीकरण :१. भौतिक रूप, २. रासायनिक रूप, ३. जैविक रूप । 

अध्याय ५– विज्ञानको संरचनाः १. धारणा, २. नियम, ३. सिद्धान्त । अध्याय ६– विज्ञानका प्रमुख नियमहरूः १. उत्तोलकको नियम, २. उत्प्लवनको नियम, ३. आवर्तताको नियम, ४. ग्रहगतिका नियमहरू, ५. प्रकाश आवर्तनको नियम, ६. गुरुत्वाकर्षणको नियम, ७. स्वतन्त्र पतनको नियम, ८. द्रव्य संरक्षणको नियम, ९. शक्ति संरक्षणको नियम, १०. द्रव्य–शक्ति संरक्षणको नियम, ११. तापगतिको नियम, १२. चुम्बकको नियम, १३. विद्युत्को नियम, १४. विद्युत् चुम्बकीय उत्पे्ररणाको नियम, १५. न्यूनतम क्रियाको नियम । 

अध्याय ७– विज्ञानका प्रमुख सिद्धान्तहरूः यान्त्रिक सिद्धान्त, यान्त्रिक सिद्धान्तकोे आगमन, यान्त्रिक सिद्धान्तका नियमहरू, यान्त्रिक सिद्धान्तका परिणामहरू, यान्त्रिक सिद्धान्तको सीमा, सामान्य सापेक्षताको सिद्धान्त, विशेष सापेक्षताको सिद्धान्त, सापेक्षताको सिद्धान्तको आगमन, विशेष सापेक्षतको सिद्धान्तका नियमहरू, विशेष सापेक्षताको सिद्धान्तका परिणामहरू, सामान्य सापेक्षताको सिद्धान्तको आगमन, सामान्य सापेक्षताको सिद्धान्तका नियमहरू, सामान्य सापेक्षताको सिद्धान्तका परिणामहरू । 

क्वान्टम सिद्धान्तः १. प्रकाशको कण, २. प्रकाशको तरङ्ग–सिद्धान्त, ३. क्वान्टम सिद्धान्तका नियमहरू, ४. क्वान्टम सिद्धान्तको सफलता, ५. क्वान्टम सिद्धान्त र द्वन्द्ववाद, ६. क्वान्टम सिद्धान्तको सीमा । क्वान्टम सिद्धान्तको सामाजिक भूमिकाः विचारको निर्माण, भौतिक उत्पादन, महाविस्फोटको सिद्धान्त, ब्रह्माण्डको प्रारूप, ब्रह्माण्डको विकासक्रम ।

एकीकृत भौतिकवादको सिद्धान्तः १. एकीकृत क्षेत्र सिद्धान्त, २. बृहत् एकीकृत सिद्धान्त, ३. तार सिद्धान्त, ४. मातृसिद्धान्त । परमाणु सिद्धान्तः परमाणु सिद्धान्तका नियमहरू, परमाणु सिद्धान्तको संरचना, परमाणु सिद्धान्तका परिणामहरू ।

क्रमविकासको सिद्धान्तः सिद्धान्त निर्माणको रोचक घटना, क्रमविकासको सिद्धान्तका नियमहरू, क्रमविकासको सिद्धान्तका परिणामहरू । आनुवंशिकताको सिद्धान्तः ग्रेगोर मेण्डलको ऐतिहासिक प्रयोग, आनुवंशिकताका नियमहरू, जीनको संरचना । ब्रह्माण्डको सूर्यकेन्द्रित सिद्धान्तः सौर्यप्रणालीको उत्पत्तिको सिद्धान्त, प्रकाशको कण–तरङ्ग सिद्धान्त, तापको गति सिद्धान्त, जीवकोषको सिद्धान्त, रोगको जीवाणु सिद्धान्त । 

अध्याय ८– विज्ञानको विकासक्रमः १. एकताको चरण, २. विविधताको चरण, ३. अन्तर्सम्बन्धको चरण । 

इतिहास

अध्याय १– इतिहासको परिचय र समाजः १. उत्पादक शक्ति, २.उत्पादन सम्बन्ध । अध्याय २– समाजका रूपहरूः १. गोत्र समाज, २. कुल समाज, ३. कविला समाज, ४. जाति समाज, ५. राष्ट्र समाज, ६. अन्तर्राष्ट्र समाज । अध्याय ३– इतिहासको काल र युग विभाजनः १. काल विभाजन, २. युग विभाजन । 

अध्याय ५– मानवको उत्पत्ति :१. प्राचीन मानव, २. आधुनिक मानव, ३. भाषा समूह । अध्याय ६– मानव सभ्यताहरू :लिपिको आविष्कार, मुद्राको आविष्कार, कविलाको जातिमा रूपान्तरण, निजी सम्पत्तिको उत्पत्ति, राज्यको उत्पत्ति, मानव सभ्यताको वर्गीकरण । 

प्राचीन पूर्वीय सभ्यताः १. इजिप्टको सभ्यता, २. चिनियाँ सभ्यता, ३. भारतीय सभ्यता । प्राचीन पश्चिमी सभ्यताः १. ग्रिक सभ्यता, २. रोम सभ्यता । मध्यकालीन सभ्यताः १. युरोपेली सभ्यता, २. अरब सभ्यता । आधुनिक सभ्यताः १. पुँजीवाद, २. प्रतिनिधिमूलक व्यवस्थाको विकास, ३. बौद्धिक क्रान्ति । उत्तरआधुनिक सभ्यताः १. पुँजीवादको चौथो चरण, २. वैज्ञानिक–प्राविधिक क्रान्ति, ३. प्रत्यक्ष जनवादको विकास, ४. उत्तरआधुनिक दर्शनको विकास । 

मार्क्सवाद 

अध्याय १– मार्क्सवादको परिचय । अध्याय २– मार्क्सवादका सङ्घटक अङ्गहरू÷दर्शनः १. द्वन्द्वात्मक भौतिकवाद, द्वन्द्वात्मक भौतिकवादको प्रवर्ग, द्वन्द्वात्मक भौतिकवादका नियमहरू, द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त, २. ऐतिहासिक भौतिकवाद, इतिहासको भौतिकवादी धारणा, ऐतिहासिक भौतिकवादका नियमहरू, ३. द्वन्द्वात्मक भौतिकवादको ज्ञान सिद्धान्त । 

राजनीतिक अर्थशास्त्रः अर्थशास्त्रका विषयवस्तुहरू, मूल्यको सिद्धान्त, आर्थिक सिद्धान्तहरू, मार्क्सको प्रमुख कृति ‘पुँजी’ । समाजवाद :काल्पनिक समाजवाद, काल्पनिक समाजवादीहरू, काल्पनिक समाजवादबाट वैज्ञानिक समाजवादमा सङ्क्रमण, वैज्ञानिक समाजवाद । 

अध्याय ३– मार्क्सवादको विकासक्रमः १. मार्क्सवाद (१८४८–१९००), २. लेनिनवाद (१९००–१९१७), माओवाद (१९१९–१९४९) ।

वैज्ञानिक समाजवाद

अध्याय १– वैज्ञानिक समाजवादको पृष्ठभूमिः १. उत्पादक शक्तिको रूपमा विज्ञान–प्रविधिको विकास, २. समाजको नयाँ संरचना, ३. पुँजीवादको नयाँ स्वरूप । 

अध्याय २– वैज्ञानिक समाजवादका सङ्घटक अङ्गहरू÷वैज्ञानिक दर्शन :१. वैज्ञानिक दर्शनको परिचय, २. वैज्ञानिक दर्शनका सङ्घटक अङ्गहरू, राजनीतिक अर्थशास्त्रः १. मूल्य उपयोगिताको सिद्धान्त, २. उत्पादक शक्तिको रूपमा विज्ञान प्रविधि, ३. उत्पादन सम्बन्धका रूपमा सामाजिक स्वामित्व । समाजवादः १. समाजवादको परिचय, २. समाजवादको उत्पत्ति र विकास, ३. समाजवादको नयाँ स्वरूप । 

अध्याय ३– वैज्ञानिक समाजवादी क्रान्तिको मोडलः १. क्रान्तिको विधि, २. क्रान्तिका साधनहरू ।

गुणवत्ता र प्रश्नहरू

उपरोक्त २५ अध्यायका २३० शीर्षकहरूबाट के अनुमान गर्न सकिन्छ भने ‘वैज्ञानिक समाजवादको रोडम्याप’ एक असाधारण कृति हो । मानव जातिले आजसम्म आर्जन गरेका ज्ञान सिद्धान्तहरूको साङ्गोपाङ्गो एकीकृत दस्तावेज हो यो । यत्रो विशद अध्ययन, विश्लेषण तथा एकीकृत लेखनको क्षेत्रमा रमेश सुनुवार सम्भवतः प्रथम मानव हुन् । अतः सुनुवारजी विश्व ज्ञान सिद्धान्तका महारथी बन्न पुगेका छन् । 

१. क्वान्टम सिद्धान्तसम्मको आधारमा विज्ञान–प्रविधियुक्त दर्शनलाई वैज्ञानिक दर्शन र समाजवादलाई वैज्ञानिक समाजवाद भन्नु पर्ने विचार यस कृतिको मूल अन्तर्वस्तु हो । स्टेफन हकिङको शब्दमा, विज्ञान–प्रविधिले असान्दर्भिक तुल्याइरहेको विशाल जनवर्गलाई सुनुवारजीले विस्थापित वर्ग भनेका छन् । अतः नयाँ वर्ग विश्लेषणमा विस्थापित वर्गलाई क्रान्तिको वाहक शक्ति स्वीकार गर्दै अनेक प्रकारका पुँजीवादको गर्भमा समाजवादको भ्रुण सुदृढ गर्न समानान्तर सत्ता अभ्यास गर्ने उनको कार्यदिशा छ । 

२. दर्शन र समाजशास्त्रको क्षेत्रमा भौतिकवाद निकट बुद्ध दर्शन, जसले सृष्टिकर्ताको धारणालाई अस्वीकार गर्दछ, वैदिक दर्शन बराबर पर्याप्त विवेचना जरुरी थियो । राजनीतिक कार्यदिशा सामान्यतः सही देखिए पनि क्रान्तिको अग्रदस्ता निर्माण तथा साम्राज्यवाद विरोधी राज्यसत्ता सञ्चालनबारे वैज्ञानिक भौतिकवाद अभिव्यक्त भएको पाइँदैन । उत्पीडित जातिहरूको मुक्ति अथवा देशभक्तिपूर्ण पहिचान आन्दोलनबारे मौनता पुस्तकको गम्भीर कमजोरी बनेको छ । 

३. परन्तु वैज्ञानिक समाजवादको रोडम्याप, जसमा क्वान्टम सिद्धान्तको विशद चर्चा गरिएको छ र हामीद्वारा प्रस्तावित ब्रह्माण्डीय विचारधाराबिच सम्यक एकीकरणबाट नयाँ वैचारिक संश्लेषण गर्न सकियो भने त्यसले मार्क्सवादको चौथो आयामको स्थान स्वतः ग्रहण गर्दछ । त्यसतर्फ अध्ययन, छलफल र बहस केन्द्रित गर्नु पर्छ । 

रमेश सुनुवार विसं २०२६ मा शान्ता सुनुवार, नरबहादुर सुनुवार सुपुत्रका रूपमा साबिकको कुँबुकास्थली, हाल उमाकुण्ड गाउँपालिका, रामेछापमा जन्मिएका हुन् । उनले बाम्ती भण्डार, रामेछापबाट २०४५ मा एसएलसी; कानुन क्याम्पस, काठमाडौँबाट प्रमाणपत्र तह, त्रिचन्द्र कलेजबाट स्नातक तह र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका हुन् । नेपाल संस्कृत विश्वविद्यालय दाङबाट उनले आचार्य समेत गरेका छन् । 

उनका समाजवादको यात्रा– २०७३, विज्ञानका प्रमुख सिद्धान्तहरू–२०७३, विज्ञान संसार–२०७९, वैज्ञानिक समाजवादको रोडम्याप–२०७९ लगायत पुस्तक प्रकाशित छन् भने करिब पाँच सय वटा अनुवाद पुस्तक प्रकाशित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोपाल किराती
गोपाल किराती
लेखकबाट थप