शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संघीयतालाई समाप्त पार्न शक्तिहरू ध्रुवीकृत भइरहेका छन् : उपेन्द्र यादव

आइतबार, ०७ जेठ २०८०, १३ : ३६
आइतबार, ०७ जेठ २०८०

धनुषा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक तीव्र रूपमा ध्रुवीकृत भइरहेको बताए । संघीयतालाई समाप्त गर्ने षड्यन्त्र भइरहेको बताउँदै उनले नेपालमा भइरहेको विकासलाई पछाडि फर्काउन विभिन्न शक्तिहरू ध्रुवीकृत भइरहेको दाबी गरेका हुन् ।

अध्यक्ष यादवले मधेसमा पनि त्यस्ता शक्तिहरू देखिएको बताउँदै संघीय लोकतन्त्र गणतन्त्रको रक्षाका लागि सबैको सहयोग आवश्यक रहेको बताए । जनकपुरमा जसपा निकट प्रेस मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी संघीयतालाई बलियो बनाउने प्रयास गरिरहेको जिकिर गरे । मधेस सरकारलाई अधिकारविहीन बनाएको टिप्पणी गर्दै उनले संघीयता विरोधी शक्तिले प्रदेशको अधिकार कटौतीमा लागेको बताए ।

नेपाल जनशक्ति सप्लाई गर्ने देश मात्र बनेको उनले टिप्पणी गरे । देशमा आर्थिक संकटको अवस्था रहेको उल्लेख गर्दै अध्यक्ष यादवले जुन देशमा यत्रो कृषि भूमि, जलस्रोत, जडीबुटीको स्रोत भएको देशमा संकट आउनु नपर्ने नभए पनि उचित नीति नभएको कारण यो अवस्था आएको बताए ।

गुणस्तर शिक्षालाई अगाडि बढाउँदै, कृषिलाई विकसित गरी नेपालमै रोजगारको व्यवस्था गर्नुपर्ने उनले बताए । नागरिकताको समस्या राजनीतिक समस्या बनेको बताउँदै अध्यक्ष यादवले दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा पठाएको तर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई अनुमोदन नगरेको जानकारी दिए । अहिलेका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको विधेयकलाई प्रमाणीकरण गर्न सक्ने भएकाले यसलाई चाँडो अघि बढाउन उनले माग गरे । 

त्यस्तै, संघीय निजामती ऐन पारित गरी प्रदेशका कर्मचारीको व्यवस्था समेत गर्न उनले आग्रह गरे । प्रदेश सरकारसँग आफ्नै प्रहरी प्रशासन हुनुपर्ने उनको भनाई थियो ।

नेपालमा सबैभन्दा पिछडिएको प्रदेश मधेस प्रदेश रहेको उनले बताए । उनले भने, ‘मिथिला कला र संस्कृति, साहित्यको महत्त्वपूर्ण केन्द्रको रूपमा मधेसलाई चिनिन्थ्यो । तर अहिले शिक्षामा सबैभन्दा पछाडि र आर्थिक रूपमा पिछडिएको क्षेत्रको रूपमा चिनिएको छ ।’ 

सोही कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थमन्त्री सञ्जय यादवले देशी विदेशी शक्ति मिलेर उपेन्द्र यादवलाई हराउने प्रयास गरेको दाबी गर्दै बारा–२ को उपनिर्वाचन मात्र नभएर यो देशमा गणतन्त्र रहने कि नरहने, संघीयता रहने कि नरहने परीक्षा रहेको जिकिर गरे । प्रेसको अवस्था प्रति सरकार गम्भीर रहेको बताउँदै अर्थ मन्त्री यादवले पत्रकारको पीडा कम गर्दै सरकार सहयोगीको रूपमा काम गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप