आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व अर्थमन्त्री शर्माको प्रश्न : सबै खाले भ्रष्टाचारकाे छानबिन गर्छु भन्नु सरकारको गल्ती हो ?

आइतबार, ०७ जेठ २०८०, १८ : १०
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम यथार्थमा आधारित भएर आएको बताएका छन् । शुक्रवार संसदमा पेश भएको बजेटको नीति तथा कार्यक्रम माथिको छलफलमा आफ्नो राय राख्दै अर्थमन्त्री शर्माले वर्तमान आर्थिक स्थिति, संविधानको रक्षा, आर्थिक संवृद्धि, समानता र समानुपातिक विकास र सम न्यायिक समाज निर्माण गर्ने गरी नीति तथा कार्यक्रम आएको बताए ।

सांसद शर्माले संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरू पक्ष र विपक्ष भएर आरोप प्रत्यारोपमा उत्रिएकाबारे दुःख व्यक्त गरे । ‘संसदीय प्रणालीलाई नमानौँ फरक तरिकाले अघि बढौँ भनेजसरी संसद् अघि बढिरहेको छ । यसरी जाने हो भने पनि म त तयार छु । तर, नीति तथा कार्यक्रमलाई संसदीय व्यवस्थाभन्दा फरक तरिकाले हेर्न भएन । नीति तथा कार्यक्रम सिङ्गो बजेट होइन, कार्यदिशा हो’ पूर्व अर्थमन्त्री शर्माले भने, ‘यसले स्पष्ट दिशा निर्देशन गरेको छ कि छैन यो महत्त्वपूर्ण छ । सत्तापक्ष र प्रतिपक्षको रूपमा नीति तथा कार्यक्रमलाई हेर्नुभएन ।’

‘समस्याको सम्बोधन गर्ने र आर्थिक सुरमा केन्द्रित हुँदै बजेटको नीति तथा कार्यक्रम आएको छ, म यसको समर्थन गर्छु’ शर्माले भने । संविधानको व्यवस्था, कार्यान्वयन र आर्थिक संवृद्धिको कार्यदिशामा अघि बढ्ने गरी बजेटको नीति तथा कार्यक्रम आएको उनको भनाइ छ । बजेटको नीति तथा कार्यक्रम शिक्षा, स्वास्थ्य, रोजगारी, समतामूलक र न्यायिक समाज निर्माणमा आधारित छ ।  नीति तथा कार्यक्रमले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाएको छ । सबै खाले भ्रष्टाचारको छानबिन गर्ने भनेको छ, के यो पुलिन्दा हो ? झुटा हो ?’  उनले प्रतिप्रश्न गरे । 

सामुदायिक वनको संरक्षण गरेर वन्यजन्तु, जडीबुटी, काठको उत्पादन गर्ने भन्नु गल्ती नभएको उनले बताए । ‘कृषि क्षेत्रलाई विशेष प्राथमिकता राखेर कृषि, मल, बिउ र उत्पादनको बजारीकरणको मुद्दा उठाउनु गलत हो ? के यो आजको आवश्यकता होइन ?’  उनले प्रश्न गरे । 

औद्योगिक विकास, यातायातको विकास, देशलाई पूर्णतः विद्युतीयकरण गर्ने कुरा आवश्यक भएर नै सरकारले ल्याएको उनले बताए । वैदेशिक रोजगारीमा गएकाहरूको संरक्षण, कमाइलाई उत्पादनमूलक क्षेत्रमा सदुपयोग गर्ने रणनीति सरकारले लिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप