बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
रेड कर्नर

नक्कली भुटानी शरणार्थी प्रकरणले उब्जाएका प्रश्न

खाण र रायमाझी दलाल पुँजीवादका उपज
बिहीबार, ११ जेठ २०८०, १२ : ०९
बिहीबार, ११ जेठ २०८०

नक्कली भुटानी शरणार्थी काण्डले तीन करोड नेपालीको मनमस्तिष्कमा अभूतपूर्व उद्वेलन पैदा गरेको छ । हिजोको दिनमा नायकका रूपमा चिनिएका र पुजिएका केही नेता र नोकरशाहहरू खलनायक साबित भएका छन् । उनीहरूप्रति आमजनता र दलका कार्यकर्ताहरूमा रहेको गहिरो श्रद्धा घृणामा बदलिएको छ । 

यो काण्डले सिङ्गो व्यवस्थाप्रति नै आमजनताको मनमा एक प्रकारको नकारात्मक धारणा निर्माण गरिदिएको छ । राणाकाल हुँदै पञ्चायतसम्म र त्यसपछिको कालखण्डसम्म आउँदा नेपालको पहिचान भाडाका सिपाही जन्माउने मुलुकका रूपमा बनेको छ । मुलुकको ओरालो यात्राको दोस्रो चरणमा नेपालको पहिचान श्रमिकहरू निर्यात गर्ने मुलुकका रूपमा स्थापित हुन पुग्यो । नक्कली भुटानी शरणार्थी काण्डसम्म आउँदा नेपालको पहिचानमा एउटा नयाँ आयाम थपिन पुग्यो । अब नेपाल भ्रष्ट नेता र दलालहरूको मुलुकका रूपमा बदनाम हुन पुगेको छ । यो सबै नेपालीका लागि लज्जा र चिन्ताको विषय हो । राष्ट्रमाथि लागेको कलङ्कको कालो टीका हो । यसैबिचमा ढोरपाटन मेयर काण्ड र ‘भेप’मा लुकाएर ल्याएको १९ किलो सुन काण्ड पनि थपिएको छ, जसको समाचार रातोपाटीले दिएको थियो । 

शरणार्थी प्रकरणमा दुई पृथक् पृथक् श्रेणीका उच्चपदस्थहरू पक्राउ परेका छन् । पूर्वगृहसचिव र गृहमन्त्रीका सल्लाहकार रहिसकेका उच्चपदस्थ प्रशासकको एउटा वर्ग छ भने अर्को दलका वरिष्ठ नेताहरूको वर्ग छ । धन कमाएर निजी र पारिवारिक जीवन सपार्ने उद्देश्यका साथ निजामती सेवामा छिरेर उच्च प्रशासनको उच्च ओहोदामा पुगेकाहरू ठगी र भ्रष्टाचारमा लिप्त हुनु र दलका नेताहरू ठगी र भ्रष्टाचारमा लिप्त हुनु नितान्त फरक फरक कुरा हुन् । 

पञ्चायत कालहोस् वा बहुदल होस्, बेला बेलामा भ्रष्ट र अनैतिक नेताहरू देखिने गरेका छन् । उनीहरूमाथि अदालती मुद्दा पनि चलेको छ र केहीले जेल सजाय पनि पाएका छन् ।

कांग्रेस, एमाले र माओवादी जस्ता दलहरू ठूलो सङ्घर्ष र बलिदानबाट जन्मिएका हुन् । आफ्नो जीवनको साठी र सत्तरी वर्षको उमेर वरपर हिँडिरहेका कांग्रेस, एमाले र माओवादीका अधिकांश नेताहरू आफ्नो खाऊँखाऊँ र लाऊँलाऊँको कलिलो उमेरमा नै घरपरिवार, धनसम्पत्ति र ज्यानको समेत पर्वाह नगरी समाज र व्यवस्था बदल्न टाउकामा कफन बेरेर निस्किएका नेताहरू हुन् । दलका यी नेताहरूले व्यवस्था बदल्नका लागि देखाएको जुनुन, त्याग र उनीहरूको सरल जीवन र राज्यसत्ताले उनीहरूलाई दिएको पीडा देखेर लाखौँ मानिसहरू उनीहरूका पछाडि लामबद्ध भएका हुन् । टोपबहादुर रायमाझी माओवादीको युद्ध कमिसार हुँदा उनको योजना र आदेशमा लडेका योद्धाहरू अझै पनि हाम्रै वरपर छन् । कैयौँ सहिद भए भने कैयौँ अपाङ्ग र घाइते छन् । बालकृष्ण खाण विद्यार्थीको नेता हुँदा नेवि सङ्घका लाखौँ विद्यार्थी उनलाई आदर्श मानेर परिचालित भए होलान् । उनीहरूलाई आदर्श मानेर राजनीतिमा होमिएका अनेकौँ मानिसहरूको मानसिक उद्वेलनको आज सहजै अनुमान गर्न सकिन्छ । 

रायमाझी र खाण यही पुँजीवादी संसदीय व्यवस्थाका उपज हुन् । उनीहरू उपभोक्तावादी समाजले जन्माएका नकारात्मक पात्र हुन् । हाम्रो समाज कति भ्रष्ट र अनैतिकताबाट ग्रस्त छ भन्ने कुरा भुटानी शरणार्थी प्रकरणले उजागर गरिदिएको छ । नेताहरू कुन हदसम्म अनैतिक र भ्रष्ट हुन सक्छन्, रायमाझी र खाण यसका प्रतिनिधि पात्र हुन् । 

पञ्चायत कालहोस् वा बहुदल होस्, बेला बेलामा भ्रष्ट र अनैतिक नेताहरू देखिने गरेका छन् । उनीहरूमाथि अदालती मुद्दा पनि चलेको छ र केहीले जेल सजाय पनि पाएका छन् । त्यसकै निरन्तरतामा रायमाझी र खाणहरू देखा परेका छन् । यद्यपि उनीहरूको कृत्य अनैतिक र भ्रष्ट आचरणको पराकाष्टा हो । राजनीतिमा नकरात्मताको कुरा गरिरहँदा बिर्सनै नहुने तथ्य के हो भने आज पनि माओवादी होस् वा अन्य दलहरू होउन्, तिनमा इमानदार, त्यागी र जनतामा लोकप्रिय हजारौँ नेता कार्यकर्ताहरू छन् । 

नेता र प्रशासकहरूको ठगीबाट मात्र होइन, अमेरिका जानका लागि आफ्नै मुलुकको नागरिकता त्याग्ने र अर्काको मुलुकको नक्कली नागरिकसम्म बन्न तयार हुने जनताको मानसिकता र चेतनाले पनि सिङ्गो सजग र स्वाभिमानी नेपालीहरूको शिर निहुरिएको छ । घुस लिनु र दिनु दुवै अपराध हुने हुनाले पीडित मानिएका जो पचास लाख रुपियाँसम्मको घुस दिन सक्षम छन्, उनीहरूलाई पनि दण्डित गर्ने प्रक्रिया अगाडि बढाउनु पर्छ । 

भ्रष्टाचारविरुद्ध सरकारले छेडेको यो महाअभियानमा सञ्चार माध्यमको पहल र ऐक्यबद्धता अभूतपूर्व छ । पञ्चायतकालदेखि बदनामी खेप्दै आएको प्रहरी सङ्गठनप्रति आमजनताको विश्वास चुलिएको छ ।

शरणार्थी प्रकरणको बिर्सनै नहुने अर्को शानदार र सकारात्मक पाठ छ । त्यो हो ठगीमा लिप्त प्रशासक र नेताहरूमाथि सरकारले अगाडि बढाएको साहसिक कार्यवाही । आज प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चालेको साहसिक कदमबाट देशवासीहरूमा एउटा आशा र उत्साहको लहर सिर्जना भएको छ । ठगीको घटनामा लिप्त शक्तिशाली नेता र प्रशासकहरू एकपछि अर्को गरी समातिएका छन् र अझै माथिल्लो तहका नेता र प्रशासकहरूको गिरफ्तारीको सम्भावना छ । यसबाट लोकतान्त्रिक गणतन्त्रको नयाँ राज्य व्यवस्थामा क्रियाशील मिडिया, राज्य संयन्त्र र यसका अन्य अवयवहरू व्यवस्थाभित्रका खराबीलाई हटाउन सक्षम छन् भन्ने पनि स्पष्ट भएको छ । शरणार्थी काण्डमा माओवादी नेतृत्वको सरकारले चालेका साहसिक कदमहरूले राजनीतिक इच्छाशक्ति हुने हो भने मुलुकमा व्याप्त कुशासन, भ्रष्टाचार, पछौटेपन हटाउन सकिन्छ भन्ने विश्वास आम जनतामा र राजनीतिक दलका आमकार्यकर्ताहरूमा समेत विश्वास जागेको छ । दोषीहरूलाई हदैसम्म दण्डित गरेर जनताको विश्वासलाई कायम राखिराख्ने ठुलो चुनौती सरकारसामु छ । 

शरणार्थी ठगी काण्डको विरुद्धमा सिङ्गो मुलुक, यहाँका सबै राजनीतिक दलहरू, नागरिक समाज, बुद्धिजीवी वर्ग र विश्वभरि छरिएका नेपाली नागरिकहरू एक ढिक्का छन् । भ्रष्टाचारविरुद्ध सरकारले छेडेको यो महाअभियानमा सञ्चार माध्यमको पहल र ऐक्यबद्धता अभूतपूर्व छ । पञ्चायतकालदेखि बदनामी खेप्दै आएको प्रहरी सङ्गठनप्रति आमजनताको विश्वास चुलिएको छ । कार्यपालिका र व्यवस्थापिका भ्रष्टाचार विरोधी यस मुद्दामा एक ढिक्का भएर उभिएका छन् । 

अब ढिलो वा चाँडो बल लोकतन्त्रको अर्को मुख्य खम्भा न्यायपालिकाको कोर्टमा पुग्ला । सबैले न्यायपालिकाबाट पनि भ्रष्टाचार विरोधी यस महाअभियानमा ऐक्यबद्धता खोजेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लक्ष्मण पन्त
लक्ष्मण पन्त
लेखकबाट थप