शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सभामुख अर्यालद्वारा शुक्लाफाँटा निकुञ्जको अवलोकन

शनिबार, २३ जेठ २०८३, ०१ : ३७
शनिबार, २३ जेठ २०८३

सारांश

  • सभामुख अर्यालले शुक्लाफाँटा निकुञ्जको जैविक विविधता र पर्यापर्यटनको सम्भावनाबारे चासो व्यक्त गरे ।
  • उनले शुक्लाफाँटाको पर्यापर्यटन प्रवद्र्धनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
  • अर्यालसहितको टोलीले सम्मेलनका क्रममा निकुञ्ज र कञ्चनपुरका विभिन्नस्थलको अवलोकन गर्‍यो ।

कञ्चनपुर । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले आज साँझ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । अवलोकन गर्दे उनले निकुञ्जको जैविक विविधता र पर्यापर्यटनको सम्भावनाप्रति चासो व्यक्त गरे ।

निकुञ्जको विशाल घाँसे मैदानमा सयौँको सङ्ख्यामा चर्दै गरेका बाह्रसिङ्गाको बथान अवलोकन गरेपछि सभामुख अर्यालले शुक्लाफाँटाको पर्यापर्यटन प्रवर्द्धनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत विनयकुमार झाका अनुसार सभामुख अर्यालसहितको टोलीले निकुञ्जको मुख्य आकर्षण मानिने शुक्लाफाँटा घाँसे मैदान र दुर्लभ बाह्रसिङ्गाको बासस्थानको अवलोकन गरेको थियो । निकुञ्ज भ्रमणमा सभामुख अर्यालसँगै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधिसभाका उपसभामुख रुबी कुमारी, राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी तथा अन्य उच्चपदस्थ व्यक्तिको सहभागिता रहेको थियो ।

कैलालीको टीकापुरमा आयोजना हुने अन्तर–व्यवस्थापिका सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम प्रदेश आएको अवसरमा टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गरेको हो । निकुञ्ज भ्रमणपछि सभामुखसहितको टोलीले कञ्चनपुरका विभिन्न विकास तथा धार्मिक–पर्यटकीयस्थलको अवलोकन गरेको छ । टोलीले दोधारा–चाँदनी क्षेत्रमा निर्माणाधीन सुख्खा बन्दरगाह, महाकाली नदीमाथिको मल्टीस्पान झोलुङ्गे पुल, प्रसिद्ध धार्मिकस्थल भम्केनी धाम तथा महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत निर्माणाधीन नहरको निरीक्षण समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप