सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलम्पियन पूनर्मिलन र सम्मान पोखरामा

शुक्रबार, १२ जेठ २०८०, ११ : ०५
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । नेपाली ओलम्पियनहरुको एकमात्र छाता संगठन ‘नेपाल ओलम्पियन संघले अर्को साता पोखरामा ओलम्पियन पूनर्मिलन तथा ओलम्पियन सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । यसअघि ‘ओलम्पियन पूनर्मिलन तथा ओलम्पियन सम्मान’ कार्यक्रमको पहिलो संस्करण गत वर्षको असारमा काठमाडौंमा आयोजना भएको थियो ।
पोखरा महानगरपालिकाको खेलकद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको संयोजनमा जेठ १९ देखि २१ गतेसम्म पूनर्मिलन तथा सम्मान कार्यक्रम आयोजना गर्न लागिएको हो । उपत्यका बाहिर पनि कार्यक्रम आयोजना गर्ने उद्देश्यसहित यसपटक पोखरामा कार्यक्रम आयोजना गर्न लागिएको संघले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन ओलम्पियनहरु जेठ १९ गते पोखरा पुग्नेछन् । जेठ २० गते बिहान प्रभातफेरी तथा सोही साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको मुख्य आतिथ्यतामा पूनर्मिलन तथा सम्मान कार्यक्रम आयोजना हुनेछ ।

जेठ २१ ग्ते गण्डकी प्रदेशका खेलाडी, खेलकर्मी तथा खेलप्रेमीहरुसँग ओलम्पियनहरुको अन्तरक्रिया कार्यक्रम राखिएको संघले जनाएको छ । सन् १९६४ देखि सन् २०२० सम्म भएको ओलिम्पिक खेलकुदमा देशको प्रतिनिधित्व गर्ने ओलम्पियनहरुलाई एकै थलोमा उपस्थित गराएर अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना  गरिएको बताइएको छ ।

‘पहिलो पूनर्मिलन तथा सम्मान कार्यक्रम सफल भएपछि हामी दोस्रो संस्करणको कार्यक्रम आयोजना गर्न उत्साही भएका छौं,’ संघका महासचिव राजेन्द्र भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  नेपालले पहिलो पटक सन् १९६४ मा जापानको टोकियो ओलम्पिकबाट औपचारिक रुपमा ओलम्पिकमा सहभागिताता जनाउन सुरु गरेको हो ।

त्यसअघि सन् १९६३ मा नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को सदस्यता प्राप्त गरेको थियो । करिब ६ दशकको अवधिमा ९० जना नेपाली खेलाडीले ओलम्पिक खेलकुदमा सहभागिता जनाएका छन् । ८८ जना नेपाली खेलाडीले ग्रिष्मकालीन र २ जना खेलाडीले शितकालिन ओलम्पिकमा सहभागिता जनाइसकेका छन् ।

ओलम्पिकमा सहभागिता जनाउने नेपाली खेलाडीमध्ये १० जनाको निधन भइसकेको छ । केही ओलम्पियन भने विदेशमा छन् । ‘देशभरमा हाल रहेका ओलम्पियनहरुको पोखरामा जमघट गराउने हाम्रो प्रयास रहेको छ । कार्यक्रममा ५० जनाभन्दा बढी ओलम्पियनको सहभागिता रहने विश्वास लिएका छौं,’ महासचिव भण्डारीले भनेका छन् । ‘सर्भिस टु सोसाइटी, सर्भिस टु ओलम्पियन’ भन्ने नाराका साथ विश्व ओलम्पियन महासंघको स्थापना भएको थियो । सोही महासंघमा आबद्ध रहि नेपालमा नेपाल ओलम्पियन्स संघको गठन भएको हो ।

कार्यक्रममा विश्व ओलम्पियन महासंघका प्रतिनिधिको पनि सहभागिता रहने बताइएको छ । कार्यक्रमको स्थानिय व्यवस्थापनका लागि पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति र ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । 
० ओलम्पियनहरुको पहिलो भेला अघिल्लो वर्ष काठमाडौंमा भएको

० नेपालले पहिलो पटक सन् १९६४ मा जापानको टोकियो ओलम्पिकमा भाग लिएको

० नेपालले सन् १९६३ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को सदस्यता प्राप्त गरेको

० हालसम्म ९० जना नेपाली खेलाडीले ओलम्पिकमा सहभागिता जनाएको

० नेपालका ८८ जना नेपाली खेलाडीले ग्रिष्मकालीन ओलम्पिक खेलेको

० नेपालका २ जना खेलाडीले शितकालिन ओलम्पिकमा सहभागिता जनाएको

० ओलम्पिकमा सहभागिता जनाउने नेपाली खेलाडीमध्ये १० जनाको निधन भइसकेको
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप