मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आगमनभित्र भेटिएका दिलिप योञ्जन

आइतबार, १४ जेठ २०८०, १० : ०२
आइतबार, १४ जेठ २०८०

स्वतन्त्रतापूर्वक आफ्ना भाव पोख्ने महत्त्वपूर्ण माध्यम हो मुक्तक । सामान्यतः चार हरफमा लेखिने यो कविताको एक छोटो प्रभेद हो । चतुष्पदीमा लेखिने मुक्तकमा पहिलो र दोस्रो पंक्तिमा अनुप्रास मिलेको हुन्छ भने तेस्रो पंक्तिमा अनुप्रास स्वतन्त्र हुन्छ र अन्तिम चौथो हरफ फेरि अनुप्रास मिल्ने हुनुपर्छ । 
भोजपुरका दिलिप योञ्जन तामाङ अमेरिका बस्छन्, तर नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि एकदमै दत्तचित्त भएर लागिपर्छन् । साहित्यमा गीत, गजल, कविता र मुक्तकमा विशेषतः उनको कलम चल्छ । झन्डै एक दर्जन मुक्तक, कविता र गीतिसङ्ग्रह प्रकाशित गरिसकेका योञ्जनका पछिल्लो मुक्तक सङ्ग्रह हो ‘आगमन’ । 

आगमनभित्र दुई सय ६९ वटा मुक्तक परेका छन् । जसभित्रका मुक्तकरूपी फूलहरूमा विविधताको छनक पाउन सकिन्छ । कतै मायाप्रेम, प्रणयभाव, मिलन र प्रेममा उब्जिने समर्पणभावको मिसावट  देखिन्छ त कतै विछोडको पीडामा तड्पिएको प्रेमीको व्यथा उजागर भएको पाइन्छ । प्रेमभावको सुन्दर अभिव्यक्ति झल्किने मुक्तक पनि यस कृतिमा परेका छन् । कतै जीवनलाई फूलसँग तुलना गरिएको छ– सुख र दुःख,हाँसो र आँसुको संगमका रूपमा जिन्दगीलाई बुझ्न आग्रह गरिएको छ । 

प्रेमका मीठा र न्याना बाछिटाले लछप्पै भिजेका मुक्तक पनि यहाँ समावेश गरिएका छन् । प्रेमको आयतन नापेका मुक्तककार धोका खानुपर्दाको प्रेमीको भाव, खुसी हराउँदाको अनुभूति पनि आफ्नो मुक्तकमार्फत दर्शाउँछन् :

मनमा एउटा खुसी थियो, त्यो पनि सिसाझैँ टुट्यो
खुसी खोजियो जीवनभरि, त्यो पनि बाटोमै छुट्यो
नहुँदा जुन खुसी थियो, भएर पनि आज दुःखी छ मन
जिउँदो हुन्जेल त दुःख पीडा, खुुी मनमै फुट्यो । 

सरल भाषामा समाजका नकारात्मकताहरूले बनाएका नराम्रा खाडललाई मुक्तकमार्फत औँल्याउने प्रयास भएको छ । वर्तमान समग्र परिवेशलाई मिहीन ढंगले केलाएर व्यंग्य गरेका छन् । उनका मुक्तक यथार्थ धरातलमा दर्विलो ढंगले टेकेका छन् । समाजको विषम परिस्थिति, विशाक्तता लगायत विषयको उठान पाइन्छ आगमनमा । दिलिपका मुक्तक यथार्थताका द्योतक हुन् । मुक्तकले वर्तमान समाजको सही प्रतिनिधित्व गरेका छन् । दैनिकीका विम्ब बोलेका छन् ।

जीवनको मूल्य–मान्यता ह्रास हुँदै गएको वर्तमान अवस्थाप्रति उनको चिन्ता छ । वर्तमान समयको विकृत राजनीतिक बेथिति देख्दा उनी उकुसमुुकुस भएर बोल्छन् । उनलाई दिक्क बनाउँछ— गरिबीले विदीर्ण बन्दै गएका जनता, स्वार्थी र सम्पत्ति कमाउमा लागेका हाम्रा नेता देखेर । समाज, देश र जनताको हित राजनीतिको मुख्य ध्येय हुनुपर्ने उनको ठम्याइविरुद्ध नेता लागेको देख्दा उनको मन पोल्छ । राजनीतिलाई कमाउ जागिर बनाउने नेतासँग झोँक चल्छ उनलाई । उनी र व्यंग्य कस्छन् :

राजनीति भनेको समाज परिवर्तन हो जागिर खानु होइन
तलब भत्ता चाहिए जागिर खाने हो, जनता ढाँट्नु होइन
भोकभोकै जनताहरू मारेर पेट भर्नुभन्दा भोकै मरे भो
देश र जनता लुटेर,रिन मागेर मोजमस्तीले बाँच्नु होइन ।

हाम्रा जीवनका यथार्थता र जटिलता मुक्तकमार्फत औँल्याएका छन् । दिलिप पछिल्लो समयसम्म आइपुग्दा मुक्तक लेखनमा एकदम सक्रिय देखिन्छन् ।  समाजका विद्रूप विसंगति हर क्षेत्रमा रहेको उनको ठहर छ । जागिरमा चाकरी, राजनीतिमा झोले कार्यकर्ताको उल्लेख्य उपस्थिति, हर पेसामा चाकरी र चाप्लुसीका चरित्र हाबी भएकाप्रति उनको रोष छ । 

राजनीतिक दलहरूमा हाबी भएका गुटगत स्वार्थका झुण्ड, कुर्सीका लागि तानातान र हानाहान भइरहने परिवेश, भोकै भएर अभावमा जीवन जिउन विवश जनता हुँदाहुँदै तलब–भत्ता वृद्धिका लागि आवाज उठाउने माननीय जनप्रतिनिधिका चरित्रलाई मुक्तकमा उदांगो पारिएको छ । पढे–लेखेका मान्छे पनि राजनीतिक पार्टीका झोले भएकामा उनी आक्रोशित छन् । पुरस्कार र विद्वता पनि चाकरीमा परेको मुलुक सम्झेर दुःखी बनेका मुक्तककार आरोप र प्रत्यारोपमा उत्रनेको खिल्ली उडाउँछन् ।

धर्म परिवर्तन गर्ने, धर्मको नाउँमा लुट्ने, परम्परागत संस्कार र संस्कृतिविपरीत लाग्ने कुरा क्षम्य हुन नसक्नेमा उनको मुक्तकको जोड छ । विदेशीको जुठोपुरो खाएर देशलाई राष्ट्रघातको विषवमन गर्ने कुरा अक्षम्य हुने उनको तर्क छ । 
यस्तै देश नातावाद र कृपावादको दलदल र चंगुलमा फसेको उनले औँल्याएका छन् । 

नातावाद र कृपावादकै मोजमस्ती छ यहाँ
जनताको जताततै उजाडिएको बस्ती छ यहाँ ।

वर्तमान राजनीतिको खतरनाक अवस्था छ मुक्तकमा । आजको युगको राजनीतिको विकृत मनोदशा मुक्तकमा चित्रण गरिएको छ । राजनीतिक विद्रुपताले जनतामा छाएको निराशा उजागर गरिएको छ । देश र जनतालाई ढाँट्नेले आफ्नै आत्मालाई पनि ढाँटेका हुन्छन् भन्दै वर्तमान राजनीतिक नेतृत्वप्रति उनको व्यंग्य छ :

दिन्दिनै देश र जनता ढाँट्दा, लाज शरम त लाग्नुपर्ने,
दलाली गरीगरी आफ्नै आत्मालाई आफैँ ढाँट्नुपर्ने 
किन पापीहरूको आत्मा रुँदैन, आफ्नै आमा बेच्दा
देश दुख्दा मुटु पोल्छ, दलालहरुलाई जिउँदै गाड्नुपर्ने ।

स्वार्थको आहालमा डुबेका नेतालाई खबरदारी गर्ने, विद्रोहका भाषा बोल्ने उनका मुक्तकमा आशावादिता पनि अटेको छ । थोरै शब्दमा धेरै विषय बुनिएको उनका मुक्तकमा पाइन्छ । मायाप्रेम, राष्ट्रप्रेमको भाव हुँदाहुँदै उनका सबै मुक्तक शक्तिशाली छन् भन्न नमिल्ला, अनि सबै उत्कृष्ट पनि छैनन् । केही मझौला लाग्छन्,  केही अझै परिष्कृत हुनुपर्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रदीप सापकोटा
प्रदीप सापकोटा
लेखकबाट थप