शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पूर्वराजालाई खनालको चेतावनी–गुण्डागर्दी सह्य हुँदैन

बिहीबार, १८ जेठ २०८०, १५ : २४
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहको चर्काे आलाेचना आलोचना गरेका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दे नेता खनालले पूर्वराजाले देशमा मण्डेले शैलीमा गुण्डागर्दी गरिरहेकाे भन्दै त्याे सह्य नहुने चेतावनी दिएका हुन् ।  

नेता खनालले देशमा गुण्डागर्दी गर्दै हिँड्ने इच्छा पूरा हुन नदिने भन्दै राजाका मान्छेहरूले आफूविरुद्ध नाराबाजी लगाएकोप्रति आक्रोशित व्यक्त गरे । नेता खनालविरुद्ध मंगलबार एक कार्यक्रम आफूलाई राजावादी भन्ने समूहले नाराबाजी गरेको थियो । त्यसको जवाफमा खनालले पूर्वराजा शाहलाई सक्ने भए राप्रपाको अध्यक्ष बनेर राजनीतिक प्रतिष्पार्धामा आउन चुनौती दिए ।  

के भने खनालले ?

अहिले गणतन्त्र र गणतन्त्रका लागि लड्ने नेताहरुलाई बदनाम गर्न अभियान नै सुरु भएको छ । उनीहरूका विभिन्न कार्यक्रमलाई बिथोल्ने क्रियाकलाप हुन थालेका छन् । आजको कार्यक्रममा आउँदा पनि सोच्दै थिएँ । कतै यहाँ मण्डले गुन्डाहरू त प्रवेश गर्ने होइनन् भनेर । हिजो पनि म एउटा कार्यक्रममा गएँ । त्यहाँ वामपन्थी नेताहरू भेला हुँदैछन् भनिएको थियो । म जाँदा कार्यक्रमको रूप अलि भिन्दै रहेछ । भिन्दै ढंगले सञ्चालन गर्ने कोसिस गरियो, जुन कुरासँग म सहमत छैन । तर, जेसुकै भएपनि कार्यक्रममा केही मान्छेहरूले बोल्न मागे, बोल्न दिइयो । बोल्ने क्रममा तथानाम गाली गरे । मैले यस्तो बोलियो भनेर भन्न पनि नमिल्ने छारस्ट कुराहरु भए । सबै पार्टीको विरुद्ध, नेताका विरुद्ध, विशेषगरी मेराविरुद्ध । मलाई विभिन्न आरोप लगाए । यस्तो बोल्न पाइँदैन भन्दा त गुण्डा ग्याङ नै आएको रहेछ । त्यो ग्याङले नारा लगाउन थाल्यो । विभिन्न ढंगले ‘फलाना चोर देश छोड’ भनेर नाराहरु लगाइयो । हिजो पञ्चायतकलामा लोकतन्त्रका लागि, राष्ट्रियताका लागि, न्यायका लागि लड्नेहरूका विरुद्ध त्यतिबेलाका मण्डलेहरु आक्रमण गर्थे । तिनै मण्डलेहरु ब्युँताउन कोसिस भएको छ । ज्ञानेन्द्र राजा जिन्दावाद भन्छन् एकातिर, अर्कोतिर लोकतन्त्रका विरुद्ध लड्ने योद्धाका विरुद्ध तथानाम गर्छन् । मैले केही दिनअघि राजा ज्ञानेन्द्रलाई, अहिले त राजा भन्न मिलेन, भूतपूर्व राजा ज्ञानेन्द्र, अहिलेको ज्ञानेन्द्र शाहलाई, जो अहिले विभिन्न क्षेत्रमा अनेक राजनीतिक गतिविधि गर्दैछन्, यसप्रकारले समाजमा भाँडभैलो मच्चाउन कोसिस गर्नुभन्दा राप्रपा भन्ने पार्टी छ, त्यसको अध्यक्ष बनेर वा अर्को पार्टी खोलेर आए हुन्छ भनेको हुँ । हामी तपाईंसँग प्रतिष्पर्धा गर्न तयार छौं । गुण्डागर्दी गर्ने काम बन्द गर । बन्द गर्दैनौ भने तिमीहरुका कुनै पनि कार्यक्रम हामी देशव्यापी एउटा पनि कार्यक्रम हुन दिँदैनौं । यो कुरा सुनिराख । ज्ञानेन्द्र शाहले सुन्नुपर्ने कुरा हो यो । म ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु । तिम्रा यी स–साना सेनालाई मैले भन्नुपर्ने छैन । तिनीहरुले टिट फर ट्याट पाउँछन् । जहाँ जे गर्छन्, त्यही फिर्ता लिनुपर्ने स्थिति आउँछ । तर, ज्ञानेन्द्र शाहलाई भन्छु, खबरदार, यदि गुण्डागर्दी गर्ने, अराजकता मच्चाउने इच्छा छ भने यो इच्छा पूरा हुनेवाला छैन । अहिले नै हिसाबकिताब हुन्छ ।नारायणहिटी दरबारमा गएर मुकुट लगाउने सपना देखेको छ भने त्यो दिउँसै आकाशतिर हेरेको दिवास्वप्नबाहेक केही होइन । तपाईंलाई थाहा हुनुपर्छ । एकपटक जन्मिसकेको बालक फेरि गर्भमा पस्न सक्दैन । अब राजा भन्ने शब्द केही मान्छेको नाममा सीमित हुनेछ । जस्तो राजा शाक्य । मेरै टोलमा हुनुहुन्छ । तर, राजतन्त्र यो देशमा फर्किनेवाला छैन । मन्दिर मन्दिर नगए पनि हुन्छ । अभिनन्दन नखाए पनि हुन्छ । केही काम छैन । राप्रपालाई दुई चार भोट बढाइदिनु छ भने बढाइदिनु । तर, विभिन्न ढंगका हर्कत गरेर लोकतन्त्रमा प्रश्न उठाउने कुनै कुरा जनताले सहँदैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप