शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक खारेज हुँदैन : उपेन्द्र यादव

शुक्रबार, १९ जेठ २०८०, २२ : ५९
शुक्रबार, १९ जेठ २०८०

जनकपुरधाम । मंगलबार नागरिकता विधेयक प्रमाणीकरण भयो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेलगत्तै कतिले निर्णयको स्वागत त, कतिले त्यसको चर्को विरोध गरिरहेका छन् ।

अहिले त्यसको विरोध मात्रै होइन, सर्वोच्च अदालतमा खारेजीको मागसहित रिट पनि दायर भइसकेको छ ।

संविधानमा व्यवस्था भएपनि नागरिकता नपाएर आफ्नै देशमा अनागरिक भएर बसिरहेकाहरु यो विधेयक प्रमाणीकरण भएपछि निकै खुसी भए । नागरिकतालाई नै मुख्य माग राखेर आन्दोलन गरेका मधेसवादी दलका शीर्षस्थ नेताहरु पनि उति नै खुसीयाली व्यक्त गरे । 

नागरिकताबाट सबैभन्दा बढी वञ्चित रहेको मधेस प्रदेशका नागरिकताविहीन र काँग्रेससहित मधेसवादी दलले त दीप प्रज्वलन गरी दीपावली नै मनाए । 

तर, फेरि उक्त विधेयकको खारेजीको माग गर्दै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरुले विरोध गर्दै अदालतमा खारेजीको माग हुँदा त्यसले फेरि पनि अर्को आन्दोलन निम्तिने खतरा देखिएको छ ।

यसैबीच, जसपाका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक विरुद्धको गतिविधिमा लागेकाहरु गलत काम गरिरहेको बताएका छन् । ‘आफ्नो देशको नागरिकलाई आफ्नै देशमा अनागरिक बनाएर राख्नु हुँदैन,’ उनले भने, अब नागरिकता विरुद्ध लागेर कसैले केही गर्न सक्दैन । जे भएको छ, ठिक र संविधानसम्मत भएको छ । अब यो खारेज हुँदैन ।’

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतले विधेयक प्रमाणीकरण भएको भोलिपल्टै नागरिकतासम्बन्धी उक्त विधेयक खारेजी गर्न सर्वोच्चमा रिट हालेका छन् ।

धनुषा गणेशमान चारनाथ नगरपालिका–३ भरतपुरका ईन्द्रजित साफी नागरिकता विधेयक प्रमाणीकरण भएपछि आजाद भएको महसुस भएको बताउँछन् । देशको नागरिक भएर पनि नागरिकताविहीन भएरबस्दा खेप्नु परेको पीडाबाट मुक्त हुँदा निकै नै खुसी महसुस भइरहेको उनले बताए ।

उनले आजै गृहमन्त्रीलाई भेटेर नागरिकता प्रदान गर्नको लागि आवश्यक व्यवस्था मिलाइदिन आग्रह गर्न गृहमन्त्रालय जाने कार्यक्रम रहेको जनाए ।

उता एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सडक र सदनबाट पनि नागरिकता विधेयकको प्रतिवाद गर्ने बताएको छ । रास्वपाका सांसद मनिष झाले भने आफूहरुले नागरिकता विधेयकको विरोध नगरेको, सरकारको सिफारिसमा राष्ट्रपतिले प्रमाणीकरण गरेको प्रक्रियाको मात्र विरोध गरेको बताए ।

बीचको बाटो अपनाएर केही दिनका लागि सदनमा लगेर पुनः प्रमाणीकरण गर्नुपर्ने सांसद झा बताउँछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप