शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक संघ, संस्थाहरूले निःस्वार्थ सेवाभावका साथ काम गर्नु पर्दछ : सभामुख घिमिरे

शनिबार, २० जेठ २०८०, १६ : १७
शनिबार, २० जेठ २०८०

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निःस्वार्थ सेवाभावका साथ काम गर्न सामाजिक संघ, संस्थाहरूलाई आग्रह गरेका छन् । सभामुख घिमिरेले नेपाल जाति, भाषा, कला, संस्कृति आदि सबै हिसाबले समुन्नत रहेकाले त्यसको प्रचार गर्ने काममा पनि सामाजिक संघ, संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने विश्वास समेत व्यक्त गरेका हुन् । 

फोकस नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भौतिक रूपमा नेपाल गरिबीको चपेटामा रहेको भए पनि भाषा, कला र संस्कृतिको हिसाबले समुन्नत रहेको पनि स्मरण गराए । घिमिरेले भने, ‘समाज सेवा भन्दा खेरी समाज एउटा शब्द भो, सेवा अर्को शब्द भो । तर वास्तवमा समाजको सेवा गर्ने कुरा समय, काल, परिस्थिति, विषय हरेक हिसाबले यसका परिभाषा त हुन्छन् । तर मेरो बुझाइमा यो ज्यादै महान् कुरा हो । महत्त्वपूर्ण कुरा हो । र, यसमा योगदान गर्ने कुराहरू निःस्वार्थ ढंगले नै गरिएको हुन्छ । र, त्यसमा कुनै पनि स्वार्थहरू राखेर आफ्ना नाम कमाउँछ, एउटा क्षेत्रमा केही योगदानहरू गर्छु भन्ने खालका अलि ठुलै त्यसका स्वार्थहरू होलान् । त्यो भन्दा पनि समाजलाई सोचेको ठाउँमा कसरी लैजान सकिन्छ ? यसको बारेमा सोच्ने र त्यसमा विभिन्न क्षेत्रको भूमिकाहरू के हुन सक्छ ? क–कसले कस्तो–कस्तो भूमिका निर्वाह गरेर मात्रै समुन्नत बनाउन सकिन्छ ? यसको बारेमा बहस, छलफल गर्नु आफैँमा महत्त्वपूर्ण कुरा हो भने त्यसले निकालेका निष्कर्षहरुलाई कार्यान्वयन गर्ने कुरा अझै ठूलो हो । मलाई के लाग्छ भने नेपाल हामी भौतिक रूपबाट अभाव, गरिबी, कतिपय मानेमा पछौटेपन, दरिद्रता वा समस्या भित्र हामी गुज्रिरहेका छौँ । तर हामी त्यस्तो हुनुपर्ने मुलुक होइनौँ । जातिको हिसाबले हेर्‍यौँ भने पनि हामी समुन्नत जाति भित्र पर्छौँ । हाम्रा पुर्खाहरूको इतिहासलाई हेर्‍यौँ भने पनि उनीहरूले गरेका योगदान वास्तवमा सिंगो मानव जातिलाई आधुनिक भन्दा आधुनिक ठाउँमा लैजाने विचार त्यतिबेलै उत्पत्ति भएका थिए ।’ 

उनले थपे, ’अर्को ढंगले भन्ने हो भने हामी एकअर्कालाई सम्मान गर्ने, श्रद्धा गर्ने, सानाले ठूलालाई, योग्यले अयोग्यलाई, सक्षमले असक्षमलाई सहयोग गर्ने कुराहरूको हिसाबले, भाषाको हिसाबले विविध भाषाहरू । यो सँगसँगै हाम्रा संस्कारहरू भएको, संस्कृतिहरू भएको, त्यही रुपमा कलाहरू भएको, मान्यताहरू भएको, एउटा यस्तो जातिको सम्मिश्रण फूलबारीको रूपबाट हामी नेपालीहरू छौँ । अव भूगोलको हिसाबबाट भन्ने हो भने, हावापानीको हिसाबबाट भन्ने हो भने, हाम्रा कला र साहित्यको हिसाबबाट भन्ने हो भने, हाम्रो वीरता र संस्कारका इतिहास भन्नुस् । अथवा धर्मको इतिहास भन्नुस् । विभिन्न जातजातिका आ–आफ्ना धर्म, भाषा, संस्कृति, एकले अर्कालाई साथ, सहयोग गर्दै आएको मुलुक, एउटा समुन्नत मुलुक हो । र, विश्वमा यस्ता मुलुकहरू सायद कमै छन् । तर यसलाई हामीले त्यसरुपबाट विकास गर्न सकिरहेका छैनौँ । त्यस रूपबाट भएको चिजको प्रचार गर्न सकिरहेका छैनौँ । र, त्यसलाई प्रचार गरेर उपयोग गर्ने कुराहरूमा हामीले कामहरू गर्न सकिरहेका छैनौँ । त्यो काम गर्नका लागि सामाजिक संघ, संस्थाहरू, गैर सरकारी संस्थाहरूको माध्यमबाट यी कामहरू गर्न निःस्वार्थ ढंगबाट लाग्ने संघ, संस्थाहरूको योगदान महत्त्वपूर्ण रहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप