शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
रोग

४० जिल्लामा फैलियो लम्पी स्किन रोग, ७ हजार बस्तुभाउ मरे

सङ्क्रमित गाईभैँसीको दूध नखाऔँ : डा. ढकाल
आइतबार, २१ जेठ २०८०, ०९ : ०३
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । गाईभैँसीमा देखिने लम्पी स्किन रोग नेपालका ४० जिल्लामा फैलिसकेको छ । पशु सेवा विभागका अनुसार हालसम्म ४० लाख गाईभैँसीलाई लम्पी स्किन रोग पुष्टि भएको छ । यसबाट ७ हजार बस्तुभाउ मरेको विभागको तथ्याङ्क छ । 

नेपालमा पहिलो पटक २०७७ सालमा सङक्रमजन्य लम्पी स्किन रोग पुष्टि भएको थियो । त्यसबेला करिब ३ हजार पशुमा यो रोग पुष्टि भएको थियो । विगत गाईभैँसीमा देखिने यो रोग अफ्रिकामा मात्र सीमित थियो । तर सन् २०१२ पछि मध्यपूर्व, दक्षिण–पूर्वी युरोप, रुस, काजकिस्तान हुँदै बंगलादेश र भारतमा केही वर्षअघि यो रोग देखापरेको थियो ।

लम्पी स्किन रोग पक्स समूहको काप्रीपक्स भाइरसबाट लाग्ने पशु सेवा विभागका वरिष्ठ पशु विज्ञ तथा सूचना अधिकारी डा. चन्द्र ढकाल बताउँछन् । लम्पी स्किन रोग भैँसीमा भन्दा गाईमा बढी देखिने उनको भनाई छ । हाल नेपालका विभिन्न जिल्लामा यो सङ्क्रामक रोग देखिएकाले सचेत हुन डा. ढकालको आग्रह छ । 

लम्पी स्किन रोगबाट सङ्क्रमित भएका गाईभैँसीको दूध विक्री वितरण नगर्न र नखान उनको सुझाव छ । हालसम्म पशुबाट मानिसमा यो रोग सरेको नपाइए पनि संक्रमित पशुलाई विभिन्न किसिमको औषधि खुवाइने भएकाले दूध खान नहुने ढकालले बताए । ‘ लम्पी स्किन रोगबाट सङ्क्रमित बस्तुभाउले दूध पनि कम दिने गर्छन्,’ उनले भने, ‘यो रोग लागेका गाईभैँसीको दूध धेरै बेरसम्म उमालेर खान त हुन्छ । तर, गाईभैँसीलाई औषधि सेवन गराइने भएकाले दूध नखाएकै बेस हुन्छ ।’ औषधि सेवन गराइएका गाईभैँसीको दूध खाँदा स्वास्थ्यमा असर पर्न सक्ने उनले बताए ।

रोगको पहिचान कसरी गर्ने ?

डा ढकालका अनुसार गाईभैँसीमा लम्पी स्किन रोग देखिँदा गाईभैँसीमा यस्ता लक्षणहरू देखिन्छन् ः  

–१०४ फरेनहाइटभन्दा बढी ज्वरो आउँछ ।

–सिँगान बग्ने तथा र्‍याल धेरै निकाल्छन् ।

–छालामा १–५ सेन्टिमिटरको गोलो गिर्खाहरू देखिन्छ । सुरुमा गिर्खा टाउको घाँटीमा देखिएर त्यसपछि शरीर भरि फैलिन्छ ।

–शरीरमा रौँ भएका पशुमा बाहिर गिर्खा नदेखिन सक्छ । यसलाई छाम्दा भेट्न सकिन्छ ।

–सामान्य सङ्क्रमण हुँदा गिर्खा कम हुन्छ, गम्भीर सङ्क्रमण हुनेमा यो धेरै हुन्छ । 

–शरीरका विभिन्न भागहरूमा विशेष गरी घाँटी, पछाडिको खुट्टाहरूमा, पेट र थुन वरिपरि सानादेखि ठुला गिर्खाहरू देखिन्छन् ।

–दूध उत्पादन २५–८०% सम्म घट्न सक्छ । 

–गर्भ तुहिने तथा बाँझोपना देखिन सक्छ ।

–मृत्युदर कम भए पनि धेरै पशुहरू (५–४५%) बिरामी हुन सक्छन् ।

–गिर्खाहरू केही समयपछि हराउन पनि सक्छ । गिर्खा निको भएन भने घाउ बन्ने, किरा पर्ने, पाक्ने भई थप जटिल हुन्छ ।

–यो रोगले गाईबस्तुमा कुनै पनि लक्षण नदेखाई मृत्यु समेत हुन सक्छ । 

कसरी सर्छ यो रोग ?

–लामखुट्टे, झिँगा, किर्ना, भुसुना आदिले सङ्क्रमित टोकाइबाट एउटा गाईभैँसीबाट अन्यमा सर्छ ।

–पशुको ओसारपसार र लसपसबाट पनि यो सर्न सक्छ । 

–सङ्क्रमित गाईभैँसी र स्वस्थ गाईभैँसीको उपचार गर्दा एउटै सुई प्रयोग गरिएमा ।

–सङ्क्रमित गाईभैँसीले दानापानी खाएको भाडामा अन्य पशुलाई खुवाउँदा ।

–रोगी पशुको सम्पर्कमा स्वस्थ पशु आएमा  ।

उपचार तथा रोकथाम

– यसको ठोस उपचार छैन ।

– प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार गरिन्छ ।

– लम्पी स्किन रोगविरुद्धको खोप लगाउने ।

– सङ्क्रमित क्षेत्रबाट गाईभैँसीको ओसारपसार नियन्त्रण गर्ने ।

– लामखुट्टे, झिँगा, किर्ना आदिको नियन्त्रण गर्ने र गोठ वरिपरिको वातावरण सफा राख्ने ।

 –प्रशस्त मात्रा पानी र घाँस कुँडो खुवाउने ।

–थाहा नभएको स्थानबाट पशु ल्याएको अवस्था केही दिनसम्म अन्य पशुबाट छुट्टै राख्ने ।

– लामखुट्टे, झिँगा, किर्ना, भुसुनाको टोकाइबाट बचाउन गोठको नजिकै घसेटाहरू बाल्ने, फिनेलले सफा गर्ने, पानी जम्न नदिने, नियमित सफाइ गर्ने ।

–सङ्क्रमित पशु मरेमा गहिरो खाल्डो खनेर पुर्ने ।

–यस्ता लक्षण देखिएमा तत्काल स्थानीय तहका पशुसेवा केन्द्र, जिल्ला पशुसेवा केन्द्र र भेटनरी विज्ञलाई  तत्काल देखाउने ।

–सङ्क्रमित पशुबाट उत्पादित दूध बजारमा  गएर नबेच्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप