मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

नेपाल–भारत सम्बन्ध ‘सुपरहिट’ बनाउने भन्नासाथ त्यो नक्सा नेपालीको मानसपटलमा आइराख्छ : डा. मिनेन्द्र रिजाल

आइतबार, २१ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण सफल वा असफलभन्दा पनि ‘परम्पराको निरन्तरता’ का रुपमा अर्थ्याएका छन् ।

भारत भ्रमणमा जाँदा मन्त्रीहरु देशको भन्दा पनि आफ्नो राजनीतिक भविष्यको सुरक्षा भावबाट बाहिर निस्किन नसक्दा सफलता प्राप्त हुन नसकेको उनको बुझाइ छ । भारतसँग विगतमा भएका सहमति र सम्झौताको कार्यान्वयन पाटो कमजोर रहेकाले अहिले नै धेरै भन्न नसकिने उनले बताए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका रिजालले सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको गतिविधि गलत रहेको बताए । पुरानो र नयाँ पुस्ता मिलेर सामूहिक रुपमा कांग्रेसलाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।

प्रस्तुत छ, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र नेपाली कांग्रेसभित्र देखिएको आरोप–प्रत्यारोपका सन्दर्भमा कांग्रेस नेता तथा पूर्वमन्त्री मिनेन्द्र रिजालसँग गरिएको कुराकानीको सम्पादित अंश–

minendra-rijal3

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण परम्पराको निरन्तरता भयो कि अरु केही त्योभन्दा बढी भयो भन्ने लाग्छ ?

झट्ट हेर्दा परम्पराको निरन्तरताजस्तो लाग्छ । प्रधानमन्त्रीले मलाई चीन जानु छ, त्योभन्दा पहिले भारत जानु छ भन्नुभयो । मलाई यो भाष्य नै चित्त बुझेन । पहिलो भारत भ्रमण भएपछि थप बोलिरहनु परेन । सायद उहाँले पुरानो अभिलेखलाई परिवर्तन गर्न खोज्नु भएको हो कि, थाहा छैन ।

प्रधानमन्त्रीको भारत भ्रमण असफल हुँदै होइन । प्रधानमन्त्रीजीले भारतसँगको सम्बन्ध नयाँ रुपमा विकसित गर्न खोज्नु भएको छ । प्रधानमन्त्रीलाई व्यवस्थित रुपमा नेपालको राजनीतिमा बस्न त्यो मित्रता महत्त्वपूर्ण छ भन्नेमा बढी ध्यान छ । भाजपा र त्यस पार्टीको हिन्दुत्वको धारणामा उदार दृष्टिकोण राख्नुपर्छ, अनिमात्रै मेरो नेपालको राजनीतिमा मद्दत पुग्छ भन्ने कुरामा मजाले देखिने गरी उहाँ प्रस्तुत हुनु भएको छ । प्रधानमन्त्री उज्जैनमा रुद्राक्षको भारी नै बोकेर जानु भएको छ । त्यसमा पनि कम्युनिस्ट पार्टीको नेता जो धर्मलाई अफिम भन्नुहुन्छ । उहाँहरुको हिन्दुत्वको धारणामा धेरै ठुलो परिवर्तन भएको छ जस्तो लाग्दैन । तर, भारतमा मोदी वा उनी जस्तो नेतृत्वमा हुँदा व्यक्तिगत रुपमा देखियो भने भारतबाट उदार भावले सहयोग हुन्छ भन्ने कम्युनिस्ट प्रधानमन्त्रीमा कम देखिएको छैन ।

हामीलाई सानैदेखि अमेरिकी साम्राज्यवादको पिछलगु, भारतीय विस्तारवादको पिछलगु, भारतीय दलाल पार्टी भनेर पञ्चायतले सिकाएको सबैभन्दा चर्को स्वरमा कम्युनिस्ट पार्टीका नेताहरुले भन्नुभयो । कांग्रेस भन्दा झन् राम्रोसँग हिन्दुत्वको रक्षा गर्छौं भन्ने कुरालाई प्रमाणित गर्न खोज्दा ‘कन्ट्राडिक्सन’ सिर्जना गरेको छ ।

परम्पराभन्दा बाहिर भन्ने हो भने १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सहमतिले तात्विक रुपमा नेपाल भारतबीच विश्वासको वातावरण बन्ने देखिन्छ । हाम्रो अर्थतन्त्र भारतसँग यति धेरै जोडिएको छ । त्यसले झन गाँसिँदै जान्छ । यसरी सम्बन्ध गाँसिँदै गएमा नेपाल–भारत सम्बन्ध अर्को ठाउँमा पुग्ने निश्चित छ ।

तपाईले सम्झौता हुन्छन् तर त्यसको मोडालिटी नबन्दै सहमति कार्यान्वयनको पाटो फितलो हुन्छ भन्न खोज्नु भएको हो ? उदाहरणका लागि महाकाली सन्धिलाई भन्न खोज्नु भएको हो ?  

झण्डैझण्डै त्यहीँ हो । म अविश्वास गर्न चाहन्नँ । हाम्रो भारत र चीनसँगको सम्बन्ध यस्तैयस्तै रुपमा हुँदै आएको छ । हामीले छिमेकी बदल्न सक्दैनौं । छिमेकीसँग मिलेरै बस्ने हो । हामीले भारत र चीनसँगको सम्बन्ध परापूर्व कालदेखि एउटा खालको सन्तुलनको स्थितिमा राख्दै आएका छौं । बिगार्न नमिल्नेगरी सन्तुलन राखिएको छ ।

कांग्रेसको समेत गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री भएको हुँदा उहाँलाई सानो देखाउनुपर्ने कुनै कारण छैन । समाचारमा आएका विषयमा प्रधानमन्त्रीलाई सोधेको छैन । कांग्रेसबाट मन्त्रीको रुपमा भारत जानु भएका साथीहरुलाई सोध्ने अवसर मिलेको छैन । प्रधानमन्त्रीले डोभाल र क्वात्राजीलाई भेट्दा १० वर्षमा १० हजार विद्युत किन्ने सम्झौता हुन्छ भन्ने स्थितिमा पुगेको थिएन ।

भोलिपल्ट बिहानसम्म त्यो विषयले प्रवेश पाएको थिएन । यो विषय अन्तिममा सहमति भयो भन्ने आएको छ । विद्युत किन्ने औपचारिक सहमति भयो । यो सहमतिले औपचारिकता प्राप्त गर्न भारतीय मन्त्रिपरिषद्मा निर्णय हुनुपर्ने लगायतका विषय आएका छैनन् । जति गृहकार्य गरेर सहमति हुनुपर्ने हो, त्यो आएको छैन ।

गृहकार्य नगराउँदा यो असाध्यै सदभावका कारणले सहमति भयो । अब आगामी दिन त्यही सदभावकै दृष्टिकोणले अघि बढ्छ भन्नुप¥यो । गृहकार्य नभएको विषयमा गृहकार्य कसरी जान्छ भन्ने हो । तर, म अहिले दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिलाई राम्रो हुनुपर्छ भन्ने रुपमै ग्रहण गर्न चाहन्छु । मैले यो विषयमा आशंका गर्नुपर्ने कुनै कारण छैन ।

तर, तपाईले महाकालीको विषय उठाउनुभयो । महाकाली बहुउद्देश्यीय आयोजना टनकपुरसमेत समेटिएको छ । हामीले असाध्यै ठूलो सपना बोकेर साढे ६ हजार मेगावाट बिजुली उत्पादन गर्न २७ वर्षअघि प्रक्रिया बढाएका थियौं । त्यसैगरी सिँचाइको प्रबन्ध, पानी आधा–आधा बाँड्ने कुरा गरेका थियौं । त्यो बेला शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो ।

देउवा प्रधानमन्त्रीबाट हटेपछि लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बन्यो । त्यसपछि भारतको निमन्त्रणमा देउवा भारत जानु भएको थियो । सौभाग्यले त्यो निमन्त्रणामा म जान पाएको थिएँ । भारतीय प्रधानमन्त्री इन्द्रकुमार गुजरालसँग भेटवार्ता भयो । उहाँसँगको भेटमा भारतका लागि नेपाली राजदूत भेषबहादुर थापा हुनुहुन्थ्यो । कुराकानी गर्दै जाँदा गुजरालले   भारत र नेपालले विगत ५० वर्षदेखि खासै केही गर्न सकेका छैनन्, अब केही गर्ने ठाउँमा पुग्नुपर्छ भन्नु भएको थियो । महाकालीका बारेमा त्यही धारणा हो भन्नुभयो ।

पूर्व प्रधानमन्त्री देउवाले तल्लो शारदाको पानी भारतले परम्परागत रुपमा प्रयोग गरेको आधाआधी हो वा कति पाउने हो भन्नुभयो ? भारतले सहमति भएको भन्दा बढी पानी प्रयोग गरी राखेको छ भन्ने हाम्रो धारणा थियो ।

त्यो बेला भारतीय प्रधानमन्त्रीले दुई देशका जलस्रोतमन्त्रीहरुबीच छलफल गरी यो विषय तुरुन्त समाधान गर्नुपर्नेमा जोड दिएको २७ वर्ष भयो तर आजसम्म त्यसको डीपीआर समेत बन्न सकेको छैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो कार्यकाल संसदमा भाषण गर्दा र नेपाली जनताले गरेको स्वागत गरेको हेर्दा सहमति भइहाल्छ भन्ने जस्तो देखियो । दुई देशबीच भएको सहमति कार्यान्वयन भइहाल्छ भनिन्छ । यति धेरै सद्भावका साथ घोषणा भएका आयोजनाहरु व्यवहारमा ढिला भएका छन् ।

जस्तै हुलाकी सडक निर्माणको काम वर्षौंसम्म अड्कियो । पछि नेपालले नै बनाउने सहमति ग¥यांैं । दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पु¥याउनुपर्छ भन्ने उद्देश्यले सहमति हुन्छ । तर, कार्यान्वयन गर्ने चरणमा केही न केही कारणले अलमल भइराखेको हुन्छ ।

भारतीय प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध सुपरहिट हुने भन्नुभयो । तर, त्यो खालको सम्बन्ध किन हुन सकेको छैन ? मैले सार्वजनिक रुपमा बहस गर्नुपर्छ भन्न खोजेको होइन । तर, कहीँ न कहीँ त्यसको खोजी गर्नुपर्छ ।

minendra-rijal2

प्रधानमन्त्री तहमा भएका सम्झौताहरु किन कार्यान्वयन हुँदैनन् ?  

त्यसमा केही चिज नहिँड्ने छ कि जस्तो लाग्छ । नेपाल–भारत सम्बन्धमा भारतले केही बिगार गर्छ कि भन्ने हाम्रो पनि शंकालु दृष्टिकोण छ । भारतको मनमा एक खालको संशय छ कि जस्तो लाग्छ । त्यस कारणले रोकेर राखेको हो कि जस्तो लाग्छ । हामी पनि त्यति धेरै अगाडि बढ्न सक्दैनौं । भारत पनि अगाडि बढ्दैन ।

प्रधानमन्त्रीको भारत भ्रमणले अरु केही नभए पनि यो सरकारले निरन्तरता पाउँछ भन्ने सवालमा भ्रमण सफल भएको भन्न मिल्छ ?

सरकारको निरन्तरता उहाँहरुले दिने होइन । हामीले दिने हो । अहिले हामी प्रचण्डजीलाई धोका दिने पक्षमा छैनौं । उहाँलाई धोका दिनु हुँदैन भन्ने छ ।

हामीले जुन सम्झौता गरेका छौं, त्यसमा इमानदार हुनुपर्छ भन्ने छ ।

भारतको आशीर्वादबिना यो सरकार जाँदैन भन्नेमा सहमत हुनुहुन्छ नि ?

प्रचण्डजीले भारतसँगको सम्बन्धमा बलियो आधारशीला खडा गर्नुभयो भने मेरो पार्टीको राजनीतिलाई मद्दत हुन्छ । नेपालका लागि केही गर्न सक्छु भन्ने प्रधानमन्त्रीलाई शंकाको सुविधा दिनुपर्छ ।

प्रचण्डजीको पार्टी सुरुङ युद्धबाट नेपाललाई अस्तित्वमा राख्न चाहने, भारतसँग भएका असमान सन्धिसम्झौता खारेज गर्ने भनेर हतियार उठाएको पार्टी हो । उहाँले प्रस्ट रुपमा कहीँ न कहीँ नेपाली जनताको बीचमा भारतसँगको सम्बन्धमा यसरी परिवर्तन भएको बुझ्नुस् भनेर भन्नुपर्छ ।

त्यसो भए प्रचण्डले हिजो जे जे गरे, त्यो गलत थियो भनेर स्वीकार गर्नु पर्ने हो ?

गलत भन्नु परेन । समय जहिलै सापेक्षित हुन्छ । सबै परिस्थिति परिवर्तन हुन्छन् । हामीले सिक्दै बुझ्दै जान्छौं । हामीले इतिहास र विगतबाट नसिक्ने हो भने भोलिको काम गर्न सकिँदैन । उहाँमा यति राम्रो बोल्न सक्ने शैली र क्षमता छ ।

उहाँहरुले २०५२ साल फागुन १ गतेदेखि सुरु भएको माओवादी विद्रोहदेखि अहिलेको गठबन्धनको सरकार हुँदासम्म सोचमा परिवर्तन भएका विषय नेपाली जनतालाई बुझाउनुपर्छ होला नि ? यो विषयले भारतसँगको सम्बन्धमा राम्रोसँग बुझ्ने अवसर प्रदान हुनेछ ।

प्रायः धेरै प्रधानमन्त्रीले भ्रमण सफल भएको दाबी गर्नुहुन्छ । भारतीय प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्ध सुपरहिट हुने भन्नुको कुनै अर्थ छ ?

प्रायः सबै बोली क्यामेराका लागि गरिन्छ । दर्शक र टेलिभिजनमा खिच्नका लागि गरिन्छ । सामाजिक सञ्जालमा मज्जाले भाइरल बनाउन गरिन्छ । सामान्य भाषामा भन्दा कसैको ध्यानाकर्षित हुँदैन । मोदीजीले ‘सुपरहिट’ भनेपछि सबैको ध्यानाकर्षित भयो । सुपरहिट बनाउने काम भइदिए हुन्थ्यो भन्ने हामी सबैलाई लागेको छ ।

चीन र भारतको महत्त्व धेरै छ । दुई देशको महत्त्व दुनियाँमा बढेको छ । विश्वका शक्तिशाली देश भनिनेसँग बराबर उभिने हैसियत बनेको छ । ती दुई देशको बीचमा उभिएर नेपालले दुवै देशसँग र पश्चिमा देशसँग कस्तो सम्बन्ध बनाउने भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने छ ।

प्रधानमन्त्रीले २०५२ सालदेखि २०८० साल वा त्योभन्दा अघिको अवस्थामा नेपाल र भारतको सम्बन्ध हेर्दा के कसरी परिवर्तन भए भन्ने विषयमा व्याख्या गरिदिएमा जनतालाई विश्लेषण गर्न सजिलो हुनेछ ।

भारतीय संसदमा नेपालको कपिलवस्तु र लुम्बिनी राखेको विषयलाई लिएर प्रधानमन्त्रीले ‘भारत भ्रमणमा जान्नँ’ भन्नुपर्ने थियो । त्यसमा कांग्रेसले समेत सहयोग गर्नुपर्ने थियो भन्ने कुरालाई कसरी टिप्पणी गर्नुहुन्छ ?

भारत नेपालप्रति असमवेदनशील भएको देखिन्छ । त्यो भावना जताततै प्रदर्शित भएको छ । इपीजीको प्रतिवेदन नबुझ्ने कुरा, लिपुलेक, लिम्पियाधुरा र कालापानीमा विवादै छैन भन्ने कुरा हुन सक्छन् । भारतले नेपालसँग परामर्श नगरेर चीनसँग बाटो निर्माणको कुरा हुन सक्छ ।

प्रधानमन्त्रीको भारत भ्रमण रोक्ने कुरा उचित हुने थिएन । प्रधानमन्त्रीले यी विषयमा कुरा भएन भन्ने कुरा आएको छ । बाहिर कुरा भएन भन्दा पनि भित्री रुपमा कुरा हुनुपर्ने थियो । औपचारिक कुरा नभए पनि ठट्टा गर्नेबेला भएको हुन सक्छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नाकाबन्दी नखोले भारत भ्रमणमा जान्न भन्नुभयो । राष्ट्रका लागि यति धेरै अडान लिनुभयो । संसदबाट नक्सा नहटाए जान्न भनेर प्रचण्डले किन भन्न सक्नुभएन भन्ने टिप्पणी पनि सुनिन्छ नि ?

प्रश्न हुनु एउटा कुरा भयो । ओलीजीले के गर्नुभयो ? सामन्त गोयललाई कहीँ कसैलाई थाहा नपाउनेगरी बालुवाटार बोलाएर छलफल गर्नुभयो । ओलीजीको दुवै कुरा ठीक लाग्दैन । हामीले प्रचण्डजीको भ्रमण रोक्नुपर्छ भनेर सार्वजनिक रुपमा भन्नुपर्छ भन्ने लाग्दैन । नेपाल भारतबीचको सम्बन्ध ‘सुपरहिट’ बनाउने भन्नासाथ त्यो नक्सा नेपालीको मानसपटलमा आइराख्छ । महाभारतलाई प्रतिनिधित्व गर्ने अहिलेको संसद होइन । त्यसले भारतको सीमालाई प्रतिनिधित्व गर्ने हो । त्यो नक्सा देख्दा भारत नेपालप्रति असमवेदनशील छ भन्ने देखाउँछ । अर्को रुपमा भन्दा भारतीय विस्तारवाद मुर्दावाद भन्नेलाई मलजल हुने भयो । भारतले हाम्रा समवेदनशीलतालाई हे¥यो भने ‘सुपरहिट’ बनाउन कति सजिलो हुने थियो भन्ने हो ।

भारतीय विमानस्थलमा प्रधानमन्त्रीलाई कसले स्वागत ग¥यो भन्ने कुराले केही अर्थ राख्छ ?

केही पनि छैन । यो फजुल कुरा हो । यसलाई ठुलो कुरा बनाउन उचित हुँदैन । गिरिजाप्रसाद कोइराला जुनबेला भारत भ्रमणमा जानुभयो । त्यो बेला नेपालमा असाध्यै ठुलो परिवर्तन भएको थियो । नेपाल यो व्यवस्थामा लामो समय जान्छ भनेर संसारले हेरेको अवस्था थियो ।

संविधानसभाबाट संविधान बन्ने अवस्थामा थियो । गिरिजाप्रसाद कोइराला त्यो पुस्ताको नेता, जसको स्वागतमा भारतका प्रधानमन्त्री एयरपोर्टमा आउनु स्वाभाविक थियो । विपी कोइरालालाई नेहरुले स्वागत गर्नु अस्वाभाविक थिएन । तर कुटनीतिक रुपमा यसको कुनै अर्थ छैन । नेपाली जनताको मनमा यो भाष्य निर्माण गर्नु ठीक भएन । एयरपोर्टमा स्वागत गर्ने कुरालाई अपवादको रुपमा लिनुपर्छ ।  

भ्रमणमा निश्चित मान्छे बाहेकको कामै हुँदैन । उनीहरु घुमेर, चिया खाएर हिँडेका देखिन्छन् । व्यापारीको त कुरा छोडिदिउँ, असम्बन्धित मन्त्रीको पनि भ्रमणमा खासै काम देखिएन नि ?

भ्रमणमा अर्को पक्षले उठाएको कुरामा प्रधानमन्त्री आफैले जवाफ दिनुहुन्छ । त्यहाँ मन्त्रीको काम खासै हुँदैन । प्रधानमन्त्रीले बोल्नुहोस् नभनेसम्म उनीहरुले बोल्न मिल्ने अवस्था हुँदैन ।

समकक्षी सँगै हिँडिदिनुपर्छ भन्ने भावना राख्छन् । त्यो सम्भव नै छ । भारतको मन्त्री आज हामीसँग हिडिदिए हुन्थ्यो भन्ने ठान्ने कुरा मुर्खता हुन्छ ।

त्यसो भए यत्रो ठूलो टोली जान आवश्यक छैन ?

राष्ट्रपति रामवरण यादवको सवारी मन्त्रीका रुपमा म जाँदा मेरा लागि गजबको अवसर भयो । राष्ट्रपतिले र सरकारले उठाएका कुराको जवाफ दिन पाएको थिएँ मैले । राष्ट्रपतिलाई मनमोहनसिंहको ५/६ जना मन्त्रीले कुरा उठाउनु भयो ।

सबै मन्त्रीले उठाएको कुराको जवाफ दिने जिम्मेवारी मन्त्रीको हैसियतले मलाई थियो । मर्यादा र शिष्टाचारका कारण राष्ट्रपतिले बोल्ने कुरा हुँदैन थियो । पछि राष्ट्रपतिलाई भेट्न आएकाहरुले मलाई राखेर भेटघाट गर्नु भयो ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई राजकीय किन बनाउन सकिएन ?

यस्ता प्राविधिक कुरामा म जान्न । भ्रमणमा कसले स्वागत ग¥यो, कसले अगाडि नमस्कार ग¥यो भन्ने कुरा पनि चर्चा गरिन्छ । पुस्तिकामा हाम्रो प्रधानमन्त्रीले हस्ताक्षर गर्दा त्यहाँको प्रधानमन्त्री उभिएको तस्बिर आयो । त्यो राख्न उपयुक्त थिएन । हाम्रो प्रधानमन्त्रीले हस्ताक्षर गर्दा उहाँको प्रधानमन्त्री उभिने कुरा स्वाभाविक थियो । भारत र चीनका अगाडि हामी निकै सानो देश छौं । भूगोलले मात्र होइन, आर्थिक अवस्थामा पनि निकै सानो छौं ।

इपीजी प्रतिवेदन भारत र नेपालका प्रधानमन्त्री दुवैले बुझ्नु भएको छैन । प्रधानमन्त्रीले नबुझे सचिवले बुझे पनि हुन्थ्यो भन्ने सुनिन्छ । यो बुझ्नुपर्छ कि पर्दैन ?

प्रधानमन्त्रीले नबुझे सचिवले बुझे पनि हुन्छ भन्ने कुराको अर्थ छैन । आजका दिनमा हामीले भारतसँगको सम्बन्ध हिजोका हाम्रा सबै अनुभवका आधारबाट अगाडि बढ्नुपर्छ । साथै हामी भारत र चीनको बीचमा भएकाले आकर्षणको केन्द्रमा छौं ।

चीनको अर्थतन्त्र बढेको छ । भारत पछ्याउँदै छ । आउने २०–२५ वर्षमा दुनियाँकै ठूला अर्थतन्त्र भएका मुलुक चीन र भारत होला भन्ने प्रक्षेपण छ । त्यो पूरा होला नहोला । त्यसैले हामी इपीजी प्रतिवेदनको टुंगो कसरी लगाउने भनेर सोच्नुपर्छ । नभए हामीले यो विषय नै बिर्सिदिने होकि ? हिजो थियो भन्ने हो कि ?

इपीजी प्रतिवेदन नबुझ्दा नेपाल र भारतलाई के फरक पर्छ ?

नेपाल र भारतको सम्बन्धन नयाँ ठाउँमा पु¥याउन वर्तमानमा टिकेर, विगतबाट सिकेर, आजका सम्भावनालाई ध्यान दिएर, नेपालको घरेलु राजनीतिको सापक्षेतामा हेर्नुपर्छ ।

को विमानस्थलमा आयो ? को आएन ? यो प्रतिवेदन बुझ्यो/बुझेन ? सीमाको विषयमा कुरा भयो÷भएन ? यी सबै कुरा ठूलो छाताभित्र पर्ने कुरा हो । हामीले ठूलो छाताको खोजी गरेका छैनौं । ठूलो छाता खोज्ने काममा लागौं । अहिले पनि यहाँबाट भ्रमणमा निस्किने नेताको मनमा भारत पुगेर फर्किँदा नेपालमा मेरो हैसियत बढ्छ कि, नेपालमा मेरो राजनीतिक भविष्य बलियो आधारभूमिमा उभिन्छ कि उभिँदैन भन्ने आफ्नो चिन्ता, आफ्नो सुरक्षाको भाव, आफ्नो महत्त्वाकांक्षा वरिपरि घुमिरहेको हुन्छ । त्यसलाई झिक्नुपर्छ । भारतमा जाँदा मेरो के हुन्छ भन्दा पनि नेपालको के हुन्छ ? भारत र नेपालको सम्बन्ध नयाँ रुपमा कसरी विकसित गर्न सकिन्छ भन्नेबारे मानसिक रुपमा सोच्न सकेनौं । बोलीमा भनियो होला, तर मानसिक रुपमा हामी त्यसरी तयार भएर अहिलेसम्म जान सकेका छैनौं । त्यो वातावरण निर्माण गर्नु हाम्रो राजनीतिका लागि आवश्यक छ ।

minendra-rijal1

इपीजी प्रतिवेदन दुई देशको सहमतिमा बनेको कार्यदलले तयार पारेको छ । त्यही कार्यान्वयन हुँदैन भने बाँकी के आशा गर्ने ?

नेपाल र भारतको सम्बन्धमा पहिलेदेखि नेपालले कहीँ मलाई भारतले थिचिरहेको छ कि जस्तो अनुभव गर्ने, अनि भारतले हेर्दा नेपालले हामीसँग आँखा जुधाएर कुरा गर्न थाल्यो भन्ने भाव राख्ने गरेको विगतदेखिनै देखिन्छ । यसमा सुधार गर्नुपर्छ ।

अब कांग्रेसको कुरा गरौं, कांग्रेस सभापतिले त बोलेको सुनिएको छैन । महामन्त्रीहरुको कुरा सुन्दा कि महामन्त्री रहँदैन कांग्रेसमा, कि कांग्रेस एक रहँदैन भन्ने जस्तो गरी आइरहेको छ । कांग्रेस चाँडै फुट्छ ?

दुवैमा गल्ती छ । कांग्रेस यत्तिकै चलिहाल्छ भन्ने भाव पनि गल्ती छ । अहिले सबै भत्किहाल्यो । सबै चिजलाई बदल्नुपर्छ भन्ने भाव पनि गलत हो । दोस्रो कुरा पार्टी विखण्डन हुने ठाउँमा पुगेको छैन, पुग्दैन । कहीँ न कहीँ महामन्त्री लगायतका नेताहरु हुनुहुन्छ । उहाँहरुलाई पनि सभापतिका अगाडि उभिँदा, कडा बोल्दा त्यति त पचाइ हाल्नुहुन्छ भन्ने होला । सभापतिजीलाई पनि ठीकै छ त । अलिअलि कुराए पनि के भएको छ र भन्ने भाव होला । तर त्यसको कहीँ न कहीँ बाटोको खोजी गर्नुपर्छ ।

बाहिर जति कुरा गरेपछि भोलि पार्टीको केन्द्रीय समिति बैठक होला । कार्यसम्पादनको बैठक होला, पदाधिकारीको बैठक होला । पदाधिकारीमा पनि सभापति, दुई उपसभापति र दुई महामन्त्री बसेर छलफल गर्ने चलन छ ।

यी कुरा बाहिरको सट्टा त्यहीँ भए त हुन्थ्यो पनि भन्ने लाग्छ । पार्टीमा विखण्डन आउँदैन भन्नेमा म विश्वस्त छु । तर, २१ वर्षअघि पार्टी विभाजन भएको थियो । त्यतिबेला मलाई पार्टीलाई एक ठाउँमा उभ्याउनुपर्छ भन्ने लाग्थ्यो । पार्टी दुई वटा हुँदा पनि धेरै आतुरीको भाव थिएन । अहिले अवस्था हेर्दा कहीँ न कहीँ समन्वयको अभाव भएको छ ।

अहिले सभापति र महामन्त्री दुवैबाट भएका गतिविधिले कांग्रेसलाई क्षति गरिरहेको छ भन्ने हो ?

मैले त्यसरुपमा भन्ने भन्दा पनि छुचो किन बन्नु, सभापतिसँग अनुभव छ । अनुभवले केही गर्दै नगर्ने भावबाट कांग्रेसका आजका समस्या समाधान हुँदैनन् ।

महामन्त्रीजीको जुनसूकै प्रयोग गर्ने मन छ । जुनसूकै जोखिम उठाएर भए पनि केही गर्नुप¥यो भन्ने भावना पनि गलत छ । अनुभव र नयाँ प्रयोगको भावबाट कांग्रेस अगाडि जानुपर्छ ।

शेरबहादुर देउवालाई अब सभापतिबाट नहटाई हुँदैन भनेर महामन्त्रीले भनिसक्नु भयो नि ?

म यतातिर जाँदै जान्नँ । उहाँहरु (गगन थापा र विश्वप्रकाश शर्मा)ले गम्भीरतापूर्वक सोच्नु होला, समीक्षा गर्नु होला । शेरबहादुर देउवाका वयका र त्यसपछिको वयका नेताको अनुभवलाई पनि उपयोग गर्न सकुन् । सँगसँगै महामन्त्रीजीहरुको वयका नयाँनयाँ प्रयोग गर्ने चाहनालाई पनि उपयोग गर्न सकियोस् ।

वर्तमान सरकार कहिलेसम्म जान्छ । कांग्रेसले कहिलेसम्म समर्थन दिइराख्छ ?

सरकारबारे पार्टीको एउटा प्रतिबद्धता छ । त्यो प्रतिबद्धतामा मैले उभिएर हुँदैन भनेर भएन । म त हिजो गठबन्धन बनाएर चुनाव लड्नु हुँदैन भन्दै थिएँ । गठबन्धन बनाएर चुनाव लडिसकेपछि कांग्रेस बाहेकको सरकार भन्दा पार्टी निर्माण गर्ने अवसर आयो भनेर त्यो बेला बोलेको छु । अहिलेको सरकारसँग म उत्साहित हुनुपर्ने छैन । तर मेरो पार्टीले गठबन्धनमा यो सरकारलाई यति समय भनेर गरेको सहमतिमा इमानदार हुनुपर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया