मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको हानथाप !

मुख्यमन्त्री कार्कीले भने–विश्वासको मत लिने प्रयास गर्छु
मङ्गलबार, २३ जेठ २०८०, १९ : २०
मङ्गलबार, २३ जेठ २०८०

विराटनगर । कोशी प्रदेशमा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । 

सरकार अल्पमतमा परेको कारण विश्वासको मत लिने मुख्यमन्त्री कार्कीले बताएका छन् । विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले आफ्नै नेतृत्वमा बजेट आउने र विश्वासको मत लिने प्रयास गर्ने बताएका हुन् । 

‘आगामी आर्थिक वर्षको बजेट पनि आउँछ,’ उनले अब के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा भने, ‘संवैधानिक र कानूनी हिसावले म अल्पमतमा पुगेको छु । विश्वासको मत लिने प्रयास गर्छु ।’

सरकारका प्रवक्ता एवं कृषिमन्त्री तथा राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले पनि विश्वासको मत लिन आफूहरुले प्रयास गर्ने बताएका छन् । उनले आफ्नो दलले अहिलेकै सरकारलाई विश्वासको मत दिने संकेत पनि गरे । मन्त्री सिटौलाले आफ्नो दलले मुख्यमन्त्री माग्ने बेला नभएको पनि बताए । 

उता, आगामी बन्ने नयाँ सरकारको नेतृत्व माओवादीका ईन्द्रबहादुर आङ्बोले गर्ने नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्रकुमार राईले बताएका छन् । भागबण्डाको हिसावले हेर्दा आफ्नो दलले मुख्यमन्त्री पाउने हक राख्ने भएपनि आफू दोहोरिएर मुख्यमन्त्री बन्ने पक्षमा नभएको उनले बताए ।  

उनले नयाँ बन्ने सरकारलाई बहुमत पुर्याउन ४७ भन्दा बढी सांसदको समर्थन रहने सम्भावना रहेको दाबी गरे । साथै, उनले अहिलेको सरकारले अध्यादेशबाट ल्याएपनि वा संसदबाटै ल्याएपनि बजेट पास नहुने र नयाँ सरकार बनेपछि बजेटलाई पूर्णता दिने पनि बताए । 

उता, काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले भने काँग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने आफ्नो दलको निर्णय भएको बताए । संसद् सचिवालयमा आजै बसेको बैठकले उक्त निर्णय गरेको कार्कीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप