शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवलाई हराउनेलाई कारबाही कहिले ?

बिहीबार, २५ जेठ २०८०, २३ : १०
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । मङ्सिर ४ गते सम्पन्न आम चुनावमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव पराजित भएपछि त्यसको अध्ययन तथा छानबिनका लागि कार्यदल गठन गरेको थियो । 

पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन भएको सो कार्यदलले पार्टीलाई प्रतिवेदन बुझाइसकेको छ । तर, दोषीलाई हालसम्म कारबाही गरिएको छैन । 

जिल्ला–जिल्लाबाट आएको रिपोर्टअनुसार सो कार्यदलले २५ जिल्लामा गएर ३०० जना भन्दा बढी व्यक्तिसँग बयान लिएको थियो । ती बयानका आधारमा चुनावमा अन्तर्घात गरेको ठहर गरेको छ ।

बयान लिएकामध्ये ३८ जना जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट चुनावमा पराजित भएका क्षेत्रका हुन् । उनी आफू पराजित भएपछि छानबिन गराएका थिए । सो छानबिनबाट जिल्लाका शीर्ष नेताहरू दोषी देखिएको कार्यदलमा रहेका एक सदस्यले रातोपाटीलाई बताए । 

जसपाका अध्यक्ष उपेन्द्र यादवको निष्कर्ष पनि सो क्षेत्रमा पार्टीका नेताहरूबाट पनि असहयोग भएको कारण चुनाव हारेको रहेको छ । 

उनले पार्टीको बैठकलगायत अन्य ठाउँहरूमा पटक पटक यसबारे अभिव्यक्ति दिएका छन् । बाराको एउटा कार्यक्रममा उनले चुनावमा आफ्नो पार्टीका उम्मेदवारलाई हराउने नेता तथा कार्यकर्तालाई पार्टीमा रहने कुनै अधिकार नभएको, तिनलाई तुरुन्त पार्टीबाट निकाल्नुपर्ने आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।

उनले भनेका थिए, ‘युद्धमा पिठ्यूँ देखाएर भाग्ने सेना र चुनावमा पार्टीलाई धोका दिने नेता उस्तै उस्तै हुन् ।’

सप्तरी–२ अध्यक्ष यादवलाई हराउनमा भूमिका खेलेको भनी कार्यकारिणी सदस्य एवं राष्ट्रियसभाका सदस्य मृगेन्द्रकुमार सिंह यादव, केन्द्रीय सदस्य शैलेन्द्र साह, शुम्भु झा, निरज झा, भिमराज यादव, सत्यनारायण यादव, महेश यादव, बबीसिंह यादवलगायत ४० जना भन्दा बढीको नाम आएको स्रोतले जनाएको छ । 

उनीहरूसँग बयान लिँदा थप छ जनाको नाम आएको छ । त्यसमा मनिष सुमन, केदार यादव, दिनेश यादव, नारायण यादव, श्याम यादवलगायतको नाम रहेको जसपा स्रोतले जनाएको छ । 

बयान लिएकामध्ये अधिकांश दोषी देखिएका छन् । प्रतिवेदनमा दोषी देखिएकालाई कहिले कारबाही गर्ने आवाज पार्टीमा उठ्न थालेको छ । जसपाका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले कार्यदल गठन राजनीतिक समितिको बैठकबाट भएकाले यसबारे निर्णय सोही समितिले गर्ने बताए । 

उपनिर्वाचनमा भने यादव बारा २ बाट निर्वाचित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप