मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
जानकारी

सर्पले डस्ने बित्तिकै के गर्ने ? कसरी हुन्छ उपचार ?

शनिबार, २७ जेठ २०८०, १३ : ५३
शनिबार, २७ जेठ २०८०

काठमाडौं । सर्पदंशबारे समाजमा मिथ्या धारणाले जरो गाडेको चिकित्सकहरू बताउँछन् । सर्पको टोकाइबारे अन्धविश्वासले प्राथमिकता पाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त ओझाको भनाइ छ ।

अहिले पनि सर्पले टोकेका मानिसलाई धामीझाँक्री फुकेर निको पार्न सक्छन् भन्ने धारणा समाजमा विद्यमान रहेको र यो गलत बुझाइ रहेको उनले बताए । झारफुकबाट सर्पको विष निष्तेज गर्न नसकिने भन्दै उनले लापरवाहीका कारण शरीरमा विष फैलिएमा मानिसको मृत्युसमेत हुन सक्ने प्रस्ट पारे ।

अन्धविश्वास चिर्न चुनौती

अझै पनि कतिपय गाउँघरमा धामीझाँक्रीले फुकेर सर्पको विष निष्तेज बनाउन सक्छन् र बिरामी निको हुन्छ भन्ने मानसिकताले जरो गाडेको छ ।

डा. ओझाका अनुसार सर्पदंशका कारण उपचारका लागि अस्पताल पुग्ने बिरामीमध्ये १० प्रतिशतको शरीरमा मात्र सर्पको विष पाइने गरेको छ । ९० प्रतिशतको शरीरमा विषको मात्रा नपाइनुका पनि विभिन्न कारण रहने उनको भनाइ छ । ‘उनीहरुलाई या त विषालु सर्पले टोकेको हुँदैन, या विषालु सर्प भए पनि उसले मानिसको शरीरमा विष छोड्न भ्याएको हुँदैन,’ डा. ओझाले भने, ‘त्यसैले ९० प्रतिशतमा विषको असर देखिएको हुँदैन ।’

सर्पले टोकेको भन्दै धामीझाँक्रीकहाँ जाने बिरामीमध्ये यिनै ९० प्रतिशत (शरीरमा सर्पको विषको मात्रा नभएकाहरु) आफू झारफुकबाटै निको भएर फर्किएको भ्रममा पर्ने गरेको उनको बुझाइ छ । ‘यसले गर्दा झारफुकबाट पनि सर्पदंशको उपचार हुन सक्ने रहेछ भन्ने अन्धविश्वास समाजमा व्याप्त हुन पुग्छ,’ उनले भने, ‘जबकि शरीरमा विष रहेको मानिसलाई झारफुकले निको पार्न सकिँदैन, उसलाई अस्पतालमै लगेर एन्टिभेनम औषधि दिनुपर्ने हुन्छ ।’

अन्धविश्वासका कारण सर्पदंशका कतिपय बिरामीको मृत्यु हुने गरेको डा. ओझा बताउँछन् । उनले भने, ‘धामीझाँक्रीकोमा गएका सबै जनालाई निको भयो, एक÷दुई जनाको ज्यान उसकै भाग्यका कारण गयो । अरुलाई त झारफुक गरेरै बचाएको हो नि भन्ने अन्धविश्वास समुदायमा छ,’ उनले भने, ‘तर वास्तविकता के हो भने बचाउनुपर्ने त्यही एक जना हो । तर पनि झारफुक गर्नेले उल्टै विश्वास कमाउँछ ।’

सर्पले टोकेका आंशका लागेमा तत्काल अस्पताल जान उनको सुझाव छ । समयमै उपचार गरेर सर्पले टोकेका बिरामीलाई बचाउन सकिने उनी बताउँछन् ।

नेपालमा सर्पको टोकाईबाट औसतमा वार्षिक २०० जनाले ज्यान गुमाउने गर्छन् । जसमध्ये  कतिपयको अङ्गभङ्ग हुने गर्छ । 

सर्पले टोकेपछि के गर्न हुँदैन ?

सर्पले टोकेपछि अस्पताल नपु¥याउँदै घरमै प्राथमिक उपचार भनेर गलत कार्य गरिँदै आएको डा. ओझाले बताए । उनका अनुसार सर्पले टोकेपछि वा टोकेको शंका लागेमा यस्ता कार्य गर्न हुँदैन–

–    सर्पले टोकेको ठाउँभन्दा माथि रगत सञ्चार नहुने गरी बाध्न हुँदैन ।

–    सर्पले टोक्दा सानो बच्चालाई कम र ठूलालाई बढी विष फाल्छ भन्ने हुँदैन । टोेकेपछि सबैमा बराबार विष फाल्छ ।

–    सर्पले टोक्दा मानिसको शरीरमा दुईवटा निशान हुन्छ भन्ने धारणा छ । तर, कहिलेकाहीँ एउटा मात्रै निशान हुनसक्छ । त्यसैले एउटामात्र निशान देखियो भन्दैमा सर्पले टोकेको होइन भनेर बस्न हुँदैन ।

–    टोकेको भाग नजिकै सुइले रगत तान्ने, विभिन्न झारपात लगाउने लगायतका कार्य गर्नु हुँदैन ।

–    सर्प टोकेपछि अस्पताल नपुगुन्जेल शरीर चलाउने वा हिँड्नु हुँदैन ।

–    घडी, औंठी, पेटी खोल्नुपर्छ ।

सर्पले टोकेर अस्पताल पुगेकालाई अस्पतालमा समेत केही समय अब्जर्भेसनमा राखेर लक्षणका आधारमा औषधि दिइने डा. ओझाले बताए ।

उनका अनुसार सर्पले टोक्दा विभिन्न किसिमका लक्षण देखिन्छन् । जस्तै–

–    सर्पको विषले गिजा, पिसाबबाट, नाक लगायतका ठाउँबाट रगत बग्छ ।

–    आँखा लठ्ठ हुने ।

–    जिब्रो बाहिर निकाल्न नसक्ने ।

–    घाँटी लत्रिने ।

–    बोली लरबराउने ।

–    टोकेको ठाउँमा दुख्ने ।

–    टोकेको भाग सुन्निने ।

नेपालमा पाइने सर्प

जलवायु परिवर्तनका कारण सबै प्राणीले झैं बाँच्नका लागि सर्प पनि संघर्षरत रहेको डा. ओझा बताउँछन् । विगतमा पहाडी जिल्लामा सर्पको प्रभाव कम रहने गरेकोमा अहिले पहाडी जिल्लामा समेत सर्प देखिने गरेको छ ।

नेपालमा भाइपर १, भाइपर २, करेत, कोब्राले बढी दुःख दिएको पाइन्छ । सर्पले टोकेको औषधि पनि प्रतिविष (एन्टीभेनम) बनाउँदा यी चार थरीका सर्पलाई लक्षित गरी बनाइन्छ ।

सर्पले टोक्दा दिइने एन्टीभेनम देशका ९० सरकारी अस्पतालमा उपलब्ध छ । प्रदेश र जिल्लामा रहेका निजी अस्पतालहरूले समेत एन्टीभेनम दिँदै आएको उनले बताए ।

सर्पले मानिसलाई किन आक्रमण गर्छ ?

जहाँ आगो बढी बालिन्छ, त्यहाँ सर्प धेरै हुने डा. ओझाले सुनाए । सर्पले कहिल्यै पनि मान्छेलाई आफै आक्रमण गर्न नआउने उनले बताए ।

‘धेरैजसो सर्प साह्रै लजालु प्रकृतिका हुन्छन् । सर्पहरू पनि मान्छेसँग डराउँछन् । जब सर्पमाथि आक्रमण गरिन्छ, तब उसले आफ्नो सुरक्षाका लागि टोक्ने गर्छ,’ उनले भने ।

करेत सर्प दिउँसोभन्दा रातमा सक्रिय हुने भएकाले राति बढी टोक्ने गरेको उनले बताए । गर्मी समयमा सिमेन्ट, माटो तात्ने भएकाले कतिपय मानिस राति बाहिर सुत्ने गर्दछन् ।

बाहिर झुल नटाँगिकन सुत्दा सर्पले टोक्न सक्ने डा. ओझा बताउँछन् ।

आहारको खोजीमा निस्किएको सर्पलाई मानिसको हलचलले असुरक्षाको महसुस हुँदा प्रतिकारस्वरुप टोक्नसक्ने उनको भनाइ छ । करेत सर्पले राति टोक्दा कतिपयले थाहासमेत नपाउने र सुतेकै अवस्थामा शरीरभरि विष फैलिएर मानिसको मृत्यु हुन सक्ने उनले बताए ।

डा. ओझाले भने, ‘करेत सर्पले टोकेमा कतिपय अवस्थामा कुनै निशान हुँदैन । सुतेकै अवस्थामा विष शरीरभरि फैलिएर ज्यान समेत जान सक्छ ।’

करेतबाहेक अन्य सर्पको टोकाइ मानिस र सर्पबीचको जम्काभेटमा हुने गरेको उनले बताए ।  

सर्पलाई नमारौँ

बालीनाली सुरक्षा गर्न सर्पको महत्त्वपूर्ण भूमिका हुने डा. ओझाले बताए । यसले बालीनाली खाने मुसालाई आहार बनाउने उनको भनाइ छ ।

नेपालमा सर्प देख्नासाथ मारिहाल्नुपर्छ भन्ने धारणा रहेको भन्दै उनले यस्तो धारणा गलत रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप