मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनमा बाढीमा परी ३५ जना बेपत्ता

आइतबार, २८ जेठ २०८०, २१ : ३१
आइतबार, २८ जेठ २०८०

कीएभ । दक्षिणी युक्रेनमा आइतबार आएको विनाशकारी बाढीका कारण सात बालबालिकासहित ३५ जना बेपत्ता भएका छन् । खेर्सन क्षेत्रको अग्रपङ्क्तिमा रहेको रुसी नियन्त्रित काखोभका जुन ६ मा बाँध ध्वस्त भएपछि हजारौँ मानिस भाग्न बाध्य भएका थिए ।

युक्रेनले निप्रो नदीमा रहेको बाँध रुसले भत्काएको आरोप लगाएको छ भने मस्कोले कीएभले उक्त संरचनामा विष्फोट गराएको आरोप लगाएको छ । युक्रेनका आन्तरिक मामिलामन्त्री इगोर क्लाइमेन्कोले दक्षिणी क्षेत्र खेर्सन र माइकोलाइभका ७७ वटा सहर र गाउँ डुबानमा परेको बताए ।

क्लाइमेन्कोका अनुसार खेरसन क्षेत्रमा सात बालबालिकासहित ३५ जना हराइरहेका छन् ।  बाढीका कारण खेर्सन क्षेत्रमा पाँच जनाको मृत्यु भएको थियो भने माइकोलाइभ क्षेत्रमा एक जनाको मृत्यु भएको थियो ।

ती दुई क्षेत्रमा रहेका तीन हजार ७०० जनालाई सुरक्षितस्थलमा सारिएको उनले बताए । युक्रेनका अभियोजक जनरल एन्ड्री कोस्टिन र अन्तर्राष्ट्रिय फौजदारी अदालतका प्रतिनिधिले पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गरेको उनको कार्यालयले जनाएको छ ।

“चेर्नोबिलपछिको यो सबैभन्दा खराब वातावरणीय विपत्ति हो, त्यसैले हामी युद्ध अपराधमात्र होइन, पर्यावरणीयस्थलको पनि अनुसन्धान गरिरहेका छौं,” कोस्टिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । “अवस्था निकै जटिल छ,” उनले भने ।  उनले कम्तीमा तीन वटा चिहान, तेल भण्डारण टर्मिनल र फोहोरको थुप्रोलगायत धेरै ‘खतरनाक’ सुविधाहरू जलमग्न भएको उल्लेख गरे ।

उनका अनुसार कूल ४५० टन टर्बाइन तेल निप्रो र काला सागरको पानीमा खसेको छ । बाँधमा विस्फोटपछि १७० भन्दा बढी अभियोजकहरूले बाँधमा भएको हस्तक्षेपको अनुसन्धान गरिरहेका छन् । “अनुसन्धानका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतका हाम्रा सहकर्मीहरू पनि हामीसँगै छन्,” उनले भने ।-(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप