सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

केरा खाँदा स्वास्थ्यमा पर्ने प्रभावहरू

मङ्गलबार, ३० जेठ २०८०, १० : ३५
मङ्गलबार, ३० जेठ २०८०

केरा संसारभर निकै लोकप्रिय फलफूलभित्र पर्छ । यो खानका लागि स्वादिलो हुनुका साथै यसमा पाइने विभिन्न पौष्टिक तत्त्वहरूका कारण पनि बढी लोकप्रिय भएको हो । केराको सेवनले हाम्रो स्वास्थ्यमा विभिन्न प्रभाव पार्ने गर्छ र तीमध्ये उच्च रक्तचाप तथा क्यान्सरको जोखिम कम गराउनु यसको महत्त्वपूर्ण बिर्सनै नहुने काम हो । संसारभर लगभग सबै मौसममा, धेरै स्थानमा र विभिन्न वातावरणमा पनि केराको उत्पादन हुन्छ । केरालाई बिहान खाजाका रूपमा, सलादका रूपमा, दिउँसो खाजाका रूपमा समेत प्रयोग गर्न सकिन्छ । वास्तवमा केरा सेवन किन गर्ने र यसको सेवनले स्वास्थ्यमा गर्ने फाइदाहरू र असरहरू केके हुन सक्छन् भन्ने सन्दर्भमा यो आलेख केन्द्रित रहेको छ ।

केरा किन लाभदायक छ र यसको सेवन गर्नुपर्ने कारणका बारेमा प्रसङ्ग कोट्याउनु अघि केराका निम्न विशेषताका बारेमा बुझ्नु आवश्यक छ–

१. केरा खानमा अत्यन्तै स्वस्थकर र स्वादिलो हुन्छ ।

२. केरा संसारका सबै स्थानमा सर्वसुलभ तरिकाले प्राप्त गर्न सकिन्छ ।

३. केरा स्वस्थकर र पौष्टिक तत्त्वले भरिपूर्ण भए पनि बढी खाएमा यो हानिकारक पनि हुन्छ ।

४. केरामा बढी मात्रामा अत्यावश्यक पौष्टिक तत्त्व पाइने जसले पाचन प्रणाली, मुटुलाई राम्रो बनाउने र तौल घटाउने समेत काम गर्छ ।

५. केरा पोटासियमको निकै महत्त्वपूर्ण स्रोत हो ।

६. दिनहुँ एक वा दुईवटा केरा खानु स्वस्थ रहन चाहने व्यक्तिका लागि सुनमा सुगन्ध हुन्छ ।

७. केरा शरीरका लागि अत्यावश्यक सन्तुलित आहारको दृष्टिकोणले पनि राम्रो पौष्टिक तत्त्व हो भनेर प्रमाणित भएको छ ।

केरामा पाइने विभिन्न तत्त्वहरू र तिनले स्वास्थ्यमा पार्ने प्रभाव

१. केरा भिटामिन बि सिक्सको प्रमुख स्रोत हो । जुन भिटामिनले राता रक्तकण उत्पादन गर्ने, कार्बोहाइड्रेट र चिल्लो पदार्थलाई मेटाबोलिज्म गराएर शक्ति प्रदान गर्ने, एमिनो एसिडको मेटाबोलिज्म गराउने, कलेजो र मिर्गौलाबाट अनावश्यक रसायन हटाउने काम गर्छ ।

२. केरामा आवश्यक मात्रामा पाइने पोटासियमका कारण मिर्गौलामा पत्थर बन्ने जोखिम कम गर्ने, स्नायु प्रणालीलाई स्वस्थ राख्ने, गर्भको बच्चाको विकास गराउने जस्ता आदि कार्य गर्छ ।

३. केरा भिटामिन सीको पनि राम्रो स्रोत हो । जुन भिटामिनले कोष तथा तन्तु खराब हुनबाट बचाउने, आइरन तत्त्व अवशोषण गर्न सहयोग गर्ने, कोलाजेन तत्त्वको उत्पादन गर्ने जसले छाला, हाड आदिलाई स्वस्थ राख्ने, सेरोटोनिन हर्मोन उत्पादन गरी मस्तिष्कको स्वास्थ्य राम्रो बनाउने, निद्रा लगाउने, मुड राम्रो बनाउने र तनाव हटाउने जस्ता आदि कार्य गर्छ ।

४. केरामा पाइने म्याग्निज तत्त्वले छालालाई स्वस्थ र राम्रो बनाउँछ ।

५. केरामा अधिकतम पाइने फाइबर, फोलेट, एन्टिअक्सिडेन्ट, भिटामिन सी र पोटासियमले मुटुका रोगबाट बचाउने, रक्तनली र रक्तचाप समेत नियन्त्रणमा राख्छ । 

६. केराको सेवनले राम्रो निद्रा लगाउँछ । किनकि यसको सेवन गर्दा यसमा पाइने अनेकौँ भिटामिन तथा खनिज तत्त्वले गुणस्तरीय सुताइलाई सुधार गर्छन्, तनाव र चिन्ता घटाउने, मांसपेशीको सक्रियता गराउने र नियमित सुताइमा समेत सकारात्मक प्रभाव पार्छ ।

७. मुटु पोल्ने र आमाशयमा घाउ (पेप्टिक अल्सर) भएमा पनि यसलाई औषधीका रूपमा प्रयोग गरी निको बनाउन सकिन्छ । केराले आमाशयको पिएचको मात्रालाई सन्तुलन गराई म्युकस तहको उत्पादन बढाउँछ, पेट दुखाइसमेत निको बनाउँछ । यसमा पाइने फाइबरका कारण आमाशयको खानालाई छिटो अघि बढाई अम्लपित्तको समस्यासमेत निको बनाउँछ ।

८. पाचन प्रणालीको स्वास्थ्य संवर्धन गर्दछ र झाडापखालाको समस्यामा यसले औषधीकै काम गर्छ । झाडापखाला हुँदा अत्यधिक मात्रामा खेर जाने पोटासियमको मात्रा केराले तुरुन्तै आपूर्ति गर्दछ जसले गर्दा पखाला लाग्दा समेत कमजोरी महसुस् हुँदैन ।

९. केराको सेवनले हाम्रो स्मृति र मुड राम्रो बनाउँछ । यसमा पाइने ट्रिप्टोफेनले मुड राम्रो बनाउने र सेरोटोनिन हर्मोन वृद्धि गर्दछ, जुन हर्मोनले मुड परिवर्तन गराउनुका साथै स्मृति क्षमतासमेत बढाउँछ ।

१०. केरामा पाइने घुलनशील फाइबरले कब्जियत हुन नदिने, कोलेस्टेरोल र रक्तचाप नियन्त्रण राख्ने, रगतमा सुगरको तह मिलाउने र अघाएको अनुभूतिसमेत दिलाउँछ ।

११. दिनहुँ केराको सेवन गरेमा आँखाको दृश्य क्षमतासमेत राम्रो हुन्छ ।

१२. केरामा पाइने लेक्टिन नामक प्रोटिन तत्त्व वा अन्य एन्टिअक्सिडेन्टका कारणले क्यान्सरका कोष वृद्धि हुनबाट बचाई क्यान्सरको जोखिम कम गराउँछ ।

१३. केरामा पाइने फाइबरले रगतमा सुगरको तह कम गराई मधुमेहको जोखिम पनि घटाउँछ तर मधुमेह भइसकेका व्यक्तिले अलि कम मात्रामा केरा सेवन गर्नुपर्छ । मधुमेहका रोगीले बढी मात्रामा केरा सेवन गरेमा सुगरको तह बढ्न पनि सक्छ ।

यीबाहेक केरा सेवन गर्नाले स्वास्थ्यमा निम्न फाइदाहरू पनि हुन्छन्–

१. पाचनमा सहयोग हुने - केरामा पाइने नपच्ने खालको स्टार्चलाई ब्याक्टेरियाले प्रशोधन गरी बुटाइरेट बनाइदिन्छन्, जसले आन्द्राको कार्यक्षमता बढाउने, कब्जियत नहुने, आन्द्रामा सुजन हुन नदिने र राम्रो पाचन प्रक्रिया सम्पन्न हुन्छ ।

२. अघाएको महसुस् गराउने - केरामा पाइने पेक्टिन एउटा घुलनशील फाइबर हो, जसले पेट पूरा भएको वा अघाएको अनुभव गराउँछ र आमाशय छिटो खाली हुने प्रक्रियासमेत घटाउँछ । त्यस कारण बेलुका केरा खाएर सुत्दा भोकको अनुभव नहुने हुँदा राम्रो निद्रा पर्छ ।

३. निद्रा लगाउने -सुत्नुभन्दा अघि केरा खाएमा निद्रा नपर्न सक्छ तर सुत्नुभन्दा केही घण्टाअघि नै केराको सेवन गरेमा राम्रो निद्रा पर्छ । केरामा पाइने निम्न तत्त्वहरूले गर्दा प्रभावकारी सुताइ हुनसक्छ–

- म्याग्नेसियम - म्याग्नेसियमले मेलाटोनिन हर्मोनको उत्पादन गर्छ । यस हर्मोनले कोर्टिसोलको तह कम गराउँछ । यसले  तनाव नियन्त्रण गर्ने प्रक्रियामा पनि महत्त्वपूर्ण हुन्छ र मेलाटोनिन हर्मोनको उत्पादन हुँदा निद्रा लाग्छ । यसका साथै मेलाटोनिनले कम निद्रा पर्नेलाई बढी समय सुत्न सक्नेसमेत बनाइदिन्छ । यसरी बेलुकाको खानामा केरा, एभोकाडो, नट्स, गेडागुडी र होल ग्रेन सेवन गरेमा समेत म्याग्नेसियम प्राप्त हुने कारणले सुताइ प्रभावकारी हुन्छ ।

- ट्रिप्टोफेन - केरामा पाइने ट्रिप्टोफेनले मस्तिष्कबाट सेरोटोनिन हर्मोन उत्पादन गराउँछ जुन हर्मोनले मेलाटोनिनको पूर्वरूप बनाउँछ र निद्राको गुणस्तरमा सुधार ल्याउँछ ।

- कार्बस् -केरामा पाइने उच्च मात्राको कार्ब सेवन गर्नाले ट्रिप्टोफेनको उत्पादन बढ्छ र सेरोटोनिन तथा मेलाटोनिन हर्मोनमा परिवर्तन भई राम्रो निद्रा पर्छ ।

- पोटासियम ः कम पोटासियमको तहले निद्रामा असर गर्नुका साथै उच्च रक्तचाप र रातमा मांसपेशी बाउँडिने पनि हुन सक्छ । यदि केराको सेवन गरेमा यसमा पाइने पोटासियमले सुताइको गुणस्तरमा वृद्धि हुन्छ ।

यसरी केराको सेवन गर्दैमा निद्रा पर्छ भन्ने पनि होइन । राम्रो र प्रभावकारी निद्राका लागि सुत्ने र उठ्ने समय निश्चित बनाउने, सुत्ने कोठामा आवाज आउनु हुँदैन । तापक्रम मिलेको हुनपर्छ । सुत्ने कोठा अँध्यारो, सफा र प्रदूषणरहित हुनुपर्छ । यसका साथै सुत्नुअघि सामान्य गहिरो श्वासप्रश्वास गर्ने, केही समय ध्यान गर्ने र निद्रा लागेपछि मात्र बेडमा जाने गर्नुपर्छ । अर्को महत्त्वपूर्ण कुरा मेलाटोनिन हर्मोन कम गराउने र निद्रा प्रभावित गर्ने जाँडरक्सी तथा क्याफिनयुक्त चियाकफिलगायत कुनै पनि पदार्थ सुत्नुअघि सेवन नगर्ने, बेलुकाको खाना सूर्यास्त नहुँदै खाने र कमभन्दा कम सेवन गर्ने, बिहान नियमित रूपमा योग अभ्यास गर्ने जस्ता आदि उपायहरू अपनाएमा राम्रो निद्रा लाग्ने गर्छ ।

केरा सेवन गर्दा देखापर्ने केही असरहरू 

केराको सेवन गर्नु स्वास्थ्यका लागि धेरै राम्रो हुन्छ तर केराको सेवन जहिले पनि र जसका लागि पनि लाभदायक नहुन सक्छ । केरा सेवन गर्दैमा पूर्ण स्वस्थ हुन सकिन्छ भन्ने पनि होइन । केरा सेवन गर्दा कसैलाई बेफाइदा पनि हुनसक्छ । कतिपय व्यक्तिलाई कतिपय रोगमा केरा हानिकारक पनि हुनसक्ने देखिन्छ । केरा सेवन गर्दा बुझ्नुपर्ने मुख्य कुरा के हो भने केरा एकै पटक धेरै खानु हुँदैन किनकि जति पनि केराका प्रतिअसर देखिन्छन् ती सबै बढी मात्रामा सेवन गर्ने कारणले देखिएका हुन् । अतः केरा सेवन गर्दा कहिलेकाहीँ कसैकसैलाई स्वास्थ्यमा पर्नसक्ने सम्भावित केही असरहरू यस प्रकार छन्–

१. केराको सेवन गर्दा कसैकसैलाई कहिलेकाहीँ कब्जियत पनि बनाउँछ, त्यस कारण पखाला चल्दा केरा खान सल्लाह दिइन्छ ।

२. दिनहुँ धेरै मात्रामा केरा सेवन गर्दा र दूधसँग केरा खाएमा तौल बढ्न सक्छ ।

३. केरामा पाइने स्टार्च पाचन हुन समय लाग्ने, बढी वायु चल्ने, पेट ढुस्स हुने र कसैलाई खाली पेटमा केरा खाएमा पेट दुख्न पनि सक्छ ।

४. राम्रोसँग नपाकेको केरा खाएमा बान्ता हुने र पेट दुख्ने समस्या हुन्छ ।

५. मधुमेह भइसकेका र हुनै लागेका बिरामीका लागि धेरै केराको सेवन हानिकारक छ किनकि यसमा पाइने प्राकृतिक गुलियोले रगतमा चिनीको मात्रा बढ्न सक्छ ।

६. धेरै केरा सेवन गर्दा केरामा पाइने चिनी तथा स्टार्चको अधिक मात्राका कारण निद्रामा समस्या आउने, दाँतमा अड्किँदा दाँत दुख्ने, सड्ने र टाउको दुख्ने पनि हुनसक्छ ।

७. केरामा पाइने टाइरोसिन नामक एमिनो एसिड शरीरमा पुगेपछि टाइरामिनमा परिणत हुन्छ जसले माइग्रेन (दीर्घकालीन टाउको दुख्ने) को समस्या पनि ल्याउन सक्छ ।

८. दम रोग हुनेले सकभर केरा सेवन गर्नुहुँदैन । केराको सेवनले कसैलाई एलर्जी बनाउने र शरीर सुन्निने हुन सक्छ तर केरामा पाइने एन्टिअक्सिडेन्ट र पोटासियमका कारण दम जस्ता रोगको रोकथाममा समेत केराले काम गर्छ ।

अन्त्यमा

केरा सबैका लागि निकै स्वादिलो र पौष्टिकताले भरिपूर्ण फलफूल हो । केराको सेवनले बेफाइदाभन्दा बढी नै फाइदा हुन्छन् । फाइदा पाउने उद्देश्यले बढी मात्रामा सेवन गर्नु पनि राम्रो होइन । केराको सेवन गरेमा मुख्यतया पेटको स्वास्थ्य राम्रो हुने, मुटुका समस्या समाधान हुने वा मुटु रोगका जोखिम कम हुने, छालालाई फाइदा पुग्ने तथा रगतको समेत शुद्धीकरण हुन्छ । मधुमेह तथा क्यान्सरको जोखिम पनि न्यूनीकरण हुन्छ तर मधुमेह भैसकेका बिरामीले केरा सेवन गर्नुहुँदैन । केरामा उच्च मात्रामा सुगर पाइने हुँदा मधुमेहका रोगीले निकै कम मात्रामा सेवन गर्दा हुन्छ । अतः हाम्रो दैनिक खानामा बिहान वा दिउँसोको खाजामा केरा समावेश गरेमा स्वास्थ्यसम्बन्धी अनेक फाइदाहरू प्राप्त गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरनाथ पाण्डे
नरनाथ पाण्डे
लेखकबाट थप