आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
कलाकार

सुयशा : कमेडीकी ‘जिरे खुर्सानी’

सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । ‘कमेडी च्याम्पियन सिजन ३’ मा १२ वर्षीय सुयशा खनालले उमेरले आफूभन्दा पाका कमेडियनलाई दर्बिलो प्रस्तुति मार्फत टक्कर दिँदै आएकी छन् । सानै उमेरमा उनले देखाएको प्रतिभालाई लिएर कतिपयले ‘जिरे खुर्सानी’ संज्ञा दिएका छन् । कतिपयले भने उनी अद्भुत प्रतिभाको धनी भनेर व्याख्या गरेका छन् ।

‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ सुयशा प्रतियोगितामा एकपछि अर्को प्रस्तुतिमार्फत दर्शकको मन जित्दै अगाडि बढ्न सफल छिन् । ‘फिल्म र परिवार’ नामक प्रस्तुतिमार्फत फिल्म क्षेत्रका विभिन्न विकृति, विसङ्गतिप्रति व्यङ्ग्य गर्दै अडिसन राउन्डबाट ‘टप ३०’ मा उनी छानिएकी थिइन् ।

‘टप ३०’ मा दिएको ‘स्कुले विद्यार्थी’को प्रस्तुति उनको पहिलो दमदार प्रस्तुति थियो । यो प्रस्तुति आधा नसकिँदै जज (निर्णायक मण्डलका सदस्य) सन्तोष पन्तले बर्जर बजाएर उनलाई अर्को राउण्डमा पुर्‍याएका थिए । यो प्रस्तुतिमा उनले स्कुलमा विद्यार्थीको समस्या, महँगो भर्ना शुल्क, धेरै किताब बोक्नुपर्ने विषय लगायतमा व्यङ्ग्य गरेकी थिइन् ।

त्यसपछि सडक बालबालिकाका विषयमा ‘सडकमा माग्ने बालिका’ प्रस्तुति दिएकी उनले यो प्रस्तुतिबाट ‘गोल्डेन बजार’ जित्दै अर्को फट्को मारिन् । प्रतियोगितामा तेस्रो प्रस्तुतिको रूपमा ‘नेताको छोरी’ बनेर नेता र नेताको छोरीको पीडा उठाएकी उनले यसमार्फत अर्को राउन्डमा जम्प गर्न सफल भइन् ।

suyasha khanal (6)

उनको बजार तताएको र अहिलेसम्म चर्चामा रहेको प्रस्तुति चौथो थियो । जसमा उनले ‘बुढी आमा’को भेषमा  बालविवाह र त्यसबाट भएका घटनाहरू केलाएर समाजप्रति प्रहार गरेकी थिइन् । यो प्रस्तुतिले उनलाई सर्वपरिचित बनाएको थियो ।

सुयशा अहिले प्रतियोगिताको ‘टप ७’ मा छिन् । टप ८ मा ‘ब्युटी पार्लर’को प्रस्तुति दिँदै उनी उत्कृष्ट ७ मा पुग्न सफल भएकी हुन् । यो प्रस्तुतिमा उनले ब्युटी पार्लरमा हुने मेकअप, त्यहाँको समस्याप्रति समाजमा चिनिएका पात्र  ऋषि धमालादेखि फिल्म निर्देशक प्रदीप भट्टराईसम्मलाई प्रयोग गर्दै व्यङ्ग्य हानेकी थिइन् ।

टप ७ मात्र होइन, प्रतियोगितामा अहिले उनलाई उपाधिको दाबेदारको रूपमा पनि हेर्ने गरिएको छ । उनी पनि उपाधि जित्ने उद्देश्य सहित आफूले मेहनत गरिरहेको बताउँछिन् ।

  • भेट्दा पत्याउँदैनन्

४ वर्षको उमेरदेखि नै अभिनयमा होमिएकी उनले हिमालयन टेलिभिजनको एक सिरियलका लागि पहिलो पटक अभिनय गरेकी थिइन्, जसमा उनी फुच्ची निर्देशकको भूमिकामा थिइन् ।

suyasha khanal (2)

त्यसपछि केही सिरियल र ‘नेपाली कमेडी शो’मा समेत कलाकारिता प्रस्तुत गरेकी उनी पछिल्लो समय प्राइम टिभीको ‘तीन पुस्ता’ भन्ने कार्यक्रमका देखिएकी थिइन् । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सँग एउटा सर्ट फिल्ममा समेत अभिनय गरेकी उनी सर्वपरिचित भने ‘कमेडी च्याम्पियन सिजन ३’मा प्रतियोगी भएर भित्रिएपछि भएकी हुन् ।

‘कमेडी च्याम्पियन सिजन ३’मा उपाधिको लागिभन्दा केही सिक्ने उद्देश्यले सहभागी भएको उनले बताइन् । ‘चर्चा कमाउँला, उपाधि जितौँला भनेर प्रतियोगितामा आएको होइन’, सुयशाले भनिन्, ‘हेरौँ न त भनेर छिरेको थिएँ । चर्चा र नाम दुवै पाउन सफल भएँ ।’

दर्शकको भोट र माया कायम रहे उपाधिसमेत जित्न सक्ने उनी सुनाउँछिन् । उनले भनिन्, ‘प्रतियोगितामा प्रतिभाको अलावा भोटको खेल पनि हुन्छ । सबैले भोट दिए मेरोलागि राम्रो हुन्छ ।’

उनका बुबा कलाकार भएकाले उनलाई मनग्य भोट दिलाउन खर्च गर्न सक्दैनन् । प्रतियोगिताका लागि उनलाई साथीभाइ, स्कुलका टिचरले समेत हौसला दिइरहेका छन् ।

suyasha khanal (4)

कमेडी च्याम्पियनमा राम्रो प्रस्तुतिका कारण सुयशा टप १० बाट ७ सम्म ‘बेस्ट पर्फमर’ भएर भोटिङ राउण्डमा प्रवेश नै नगरी पुग्न सफल भएकी हुन् । प्रस्तुति हेर्दा बाहिर भेट्ने जो कोहीले उनलाई चिन्न सक्दैनन् । उनको अनुभव पनि त्यस्तै छ । बाहिर हिँड्दा दर्शकले कमेडी च्याम्पियन प्रतियोगी आफू नै हो भन्दा नपत्याउने गरेको उनी सुनाउँछिन् ।

‘भेट्नेले कहाँ देखे–देखेजस्तो लाग्या छ भन्नुहुन्छ’, उनी थप्छिन्, ‘कमेडी च्याम्पियनमा बुढी आमा लगायतको कमेडी गर्ने त्यो सानो केटी मै हो भन्दा पत्याउनुहुन्न ।’

कमेडी च्याम्पियन प्रतियोगिताको तुलनामा सार्वजनिक रूपमा आफू केही फरक देखिने भएकाले मानिसहरूलाई पत्याउन गाह्रो भएको हुनसक्ने उनले अनुमान लगाइन् ।

कन्टेन्ट आफैँ तयार गर्छिन्

कमेडी मार्फत कलाकारितामा राम्रो उचाइ बनाएकी सुयशा ‘कमेडी च्याम्पियन’मा विजेता बने पनि नबने पनि  कलाकारितामा निरन्तर लाग्ने सोच राख्छिन् । भविष्यमा राम्रो कलाकार बन्ने लक्ष्य लिएकी उनले कलाकारिता विरासतबाट पाएकी हुन् ।

उनका बुबा सन्तोष खनाल पनि राम्रो कलाकार हुन् । कमेडी कलाकारितामा सन्तोषको राम्रो छाप छ । बुबालाई देखेर उनी कलाकारिताप्रति लोभिएकी हुन् । भविष्यमा सफल र भर्सटायल कलाकार बन्ने एकमात्र लक्ष्य छ सुयशाको ।

७ कक्षामा अध्ययनरत उनी कलाकारिताले अध्ययन बिग्रन्छ कि भन्नेतर्फ पनि निकै सचेत छिन् । त्यसैले अध्ययनबाट बचेको समयमात्र उनी कलाकारितामा दिन्छिन् ।

suyasha khanal (5)

‘मेरो पहिलो प्राथमिकता अध्ययन नै हो, त्यसपछि कलाकारिता’, उनले भनिन्, ‘यो समय मेरो लागि अध्ययन सबैभन्दा महत्त्वपूर्ण छ ।’ कलाकारिताले अध्ययनमा झनै सजिलो र राम्रो बनाएको उनको तर्क छ ।

‘कमेडी च्याम्पियन’को तीन सिजनको रेकर्ड ब्रेक गर्दै अगाडि बढिरहेकी सुयशाको भविष्यमा फिल्म अभिनय गर्ने इच्छासमेत छ । अभिनेता प्रदीप खड्का र विपिन कार्कीको फ्यान उनी कमेडी च्याम्पियनका लागि कन्टेन्ट आफैँले लेख्छिन् । त्यसलाई फिनिसिङ दिने काम उनका बुबाको हो ।

कन्टेन्टका लागि उनी पहिले विषय उठाउँछिन् । त्यसपछि उक्त विषयसँग को–को टच हुन्छन्, समाजका चिनिएका व्यक्ति, जसलाई व्यङ्ग्य गर्न मिल्छ, त्यो जोड्छिन् ।

त्यसका लागि केही रिसर्च गरेर कन्टेन्ट तयार गर्ने गरेको उनी सुनाउँछिन् । उनी क्यारिकेचर गर्न पनि माहिर नै छिन् । उनी पत्रकार ऋषि धमला, प्रधानमन्त्री प्रचण्ड र कमेडियन सुमन कोइरालाको क्यारिकेचर गर्छिन् । अभिनयको अलावा डान्स र चित्रकलाको पनि सौखिन उनी खानामा मःमः, पिज्जा मन पराउँछिन् । उनी घुमघाममा पनि रुचि राख्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया