आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थल पूर्ण रूपमा सञ्चालनमा नआउँदा ८० अर्ब लगानी डुब्ने जोखिममा, निजी क्षेत्र चिन्तित

शनिबार, ०२ असार २०८०, ११ : ५८
शनिबार, ०२ असार २०८०

रुपन्देही । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा ८० अर्ब बराबरको लगानी जोखिममा परेको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भई सञ्चालनमा आउँदा निकै खुशी र आशावादी देखिएको निजी क्षेत्र विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन नसकेपछि चिन्तित बनेको हो । 

विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्म पनि कुनै अन्तर्राष्ट्रिय उडान अहिलेसम्म नियमित हुन नसकेको भन्दै निजी क्षेत्र निराश बनेको हो । यतिबेला विमानस्थललाई लक्षित गरी निजी क्षेत्रले विभिन्न क्षेत्रमा गरेको ८० अर्ब भन्दा बढी लगानी डुब्ने चिन्ता यस क्षेत्रका उद्योगी व्यवसायीहरूले व्यक्त गरेका छन् । विमानस्थल पूर्ण क्षमतामा नचल्दा निजी क्षेत्रको ८० अर्बको लगानी खेर जान लागेको भन्दै तत्काल विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण सरकारले बनाउन निजी क्षेत्रले माग गरेका छन् । 

विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि सरकारबाट नै पहल नभएको आरोप निजी क्षेत्रको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थललाई आधार बनाएर निजी क्षेत्रले लुम्बिनीमा होटेल,पर्यटन क्षेत्रमा अर्बौँ लगानी गरेको बताए । उनले निजी क्षेत्रले अर्बौँको लगानी गरे पनि विमानस्थल राम्रोसँग सञ्चालनमा आउन नसक्दा निराशा छाएको बताए । 

उनले  ठुला तारे होटेलदेखि साना किराना पसल, सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री बिक्रेता, साजसज्जाका सामान बिक्री गर्ने ठुला व्यावसायिक प्रतिष्ठानमा लगानी भएको दाबी गरे । विमानस्थल सञ्चालनमा आएसँगै २० हजार मानिसहरूको आवतजावत लुम्बिनीमा हुने अपेक्षाले व्यवसायीहरूले लगानी वृद्धि गरे पनि लगानी अलपत्र परेको शर्माले बताए ।  अध्यक्ष शर्माले प्रधानमन्त्रीको भारत भ्रमणबाट राम्रो सङ्केत प्राप्त गरेको भन्दै यसलाई सरकारले कार्यान्वयनमा ल्याएर निजी क्षेत्रको लगानी संरक्षण गर्न आवश्यक रहेको बताए । विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन सके देशले चाहे   अनुसार अर्थतन्त्र चलायमान हुनसक्ने बताए । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीको भारत भ्रमणमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा भारत सरकारसँग पहल गरेकाले आशाको सङ्केत देखिएको बताए । उनले विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रमा उद्योगी व्यवसायीहरूले धेरै ठुलो लगानी भएकाले तत्कालको लागि जोखिम देखिएको बताए । उनले सरकारले विमानस्थल पूर्णपुरमा सञ्चालनमा ल्याएर निजी क्षेत्रको अर्बौँको लगानी सुरक्षित बनाउन आवश्यक रहेको बताए । 

त्यस्तै, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको माग गर्दै पटक–पटक मन्त्री, प्रधानमन्त्री, सचिव, ठुला राजनीतिक दलका नेता आउँदा निजी क्षेत्रले ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म पहल नभएको बताए उनले उद्योगी व्यवसायीहरूले विभिन्न समयमा धर्ना समेत दिएर दबाबमूलक कार्यक्रम सञ्चालन गरे पनि सुनुवाइ नभएको गुनासो गरे । 

केही समय पहिला अलजजिराले अन्तर्राष्ट्रिय उडान भरेपनि अहिले उडान भर्न छाडेको छ । गत मंगलवार नेपाल वायुसेवा निगमको मलेसियाबाट आएको एउटा जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । अब निगमले एउटा उडान उक्त विमानस्थलबाट गर्ने तयारी गरिरहेको छ । विमानस्थल निर्माणसँगै भैरहवा आसपासका क्षेत्रमा तारे होटेल र साना–ठुला गरी एक सय ४६ वटा होटेल सञ्चालनमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप