बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ऐतिहासिक सम्पदाको संरक्षणमा जुटे म्याग्दी स्थानीय तह

बिहीबार, ०७ असार २०८०, १२ : ४४
बिहीबार, ०७ असार २०८०

म्याग्दी । म्याग्दीमा रहेका तीन सयवर्ष भन्दा पुराना देवल, ऐतिहासिकस्थल र प्राचीन सम्पदाको संरक्षण गर्न थालिएको छ । यहाँका स्थानीय तहले धार्मिक तथा ऐतिहासिक महत्वका देवल, ऐतिहासिकस्थल र प्राचीन सम्पदाको मर्मतसम्हार गरेर संरक्षण गर्न थालेका हुन् ।

सदरमुकाम बेनीलगायत जिल्लाका छ वटै स्थानीय तहमा रहेका पुरातात्विक तथा शिखरशैलीका देवल र प्राचीन सम्पदा प्रचारप्रसार र संरक्षणको अभावमा नासिँदै जान थालेपछि स्थानीय तहले मर्मत गरी संरक्षण गर्न थालेका हुन् । लोप हुने अवस्थामा पुगेका र ओझेलमा परेका त्यस्ता सम्पदाको संरक्षण र पुनःनिर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।

जिल्लाका ताकमकोत, ज्यामरुककोट, घतान, पुलाचौर, राखु भगवतीलगायत स्थानमा रहेका कैयौँ प्राचीन देवल र सम्पदाको संरक्षण र प्रचारप्रसारमा स्थानीय निकायले काम गर्न थालेपछि स्थानीय खुसी भएका छन् । 

“बेनीबजारमा रहेका कोत मन्दिर, बेनी शिवालय मन्दिर र बालमुक्तेश्वर महादेवको देवल तीन सय वर्ष पुराना ऐतिहासिक विरासतका धरोहर हुन्”, स्थानीय नैनकुमार श्रेष्ठले भने । पुराना प्राचीन सम्पदाको बारेमा नयाँ पुस्ता अनभिज्ञ रहेकाले यीनको संरक्षण गरी नयाँ पुस्तालाई जानकारी दिनुपर्ने उनको भनाइ थियो ।

ऐतिहासिक धरोधरको संरक्षण र प्रचारप्रसारमा नगरपालिका र वडा कार्यालय सक्रिय रहेको बेनी नगरपालिका–७ का वडाअध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । उनका अनुसार विसं १७५४ मा तत्कालीन पर्वते राजा बलेबम मल्लले निर्माण गर्न लगाएका यी देवल पाञ्चायन शैलीमा निर्माण गरिएका छन् । पुराना इँटाबाट निर्मित यी मन्दिरमा शिवलिङ्ग, नारायण, गणेश र भगवतीका मूर्ति छन् । 

“बेनी बजारको सबैभन्दा पुरानो मानिएको बालमुक्तेश्वर मन्दिरको अस्तित्व नामेट हुँदै जान थालेको थियो । नगरपालिकाले प्राचीन सम्पदाको सूचीमा राखेपछि बल्ल यसको संरक्षण हुने भएको छ”, स्थानीय अविरकुमार श्रेष्ठले भने । बजार विस्तार हुने क्रम बढे्सँगै आधुनिक र ठूला घर निर्माण हुँदा बालमुक्तेश्वर मन्दिर छोपिएको उनले बताए । 

“यहाँको पुरानो सभ्यता बोकेको मन्दिरको बारेमा अहिले धेरैजसो अनभिज्ञ छन्”, श्रेष्ठले भने, “विसं २०३७ मा बालमुक्तेश्वर मन्दिरको अगाडि लक्ष्मीनारायण मन्दिर निर्माण गरिएपछि सो मन्दिरको महत्व पनि छोपिँदै गएको छ ।” उनका अनुसार विसं २०३४–३५ सालसम्म मन्दिरमा रहेको ताम्रपत्र अहिले हराएको छ । 

अन्नपूर्ण गाउँपालिका–६ मा कालीगण्डकी नदी र घारखोलाको दोभानमा रहेको जलेश्वर शिवालय मन्दिरको पनि मर्मत गरी संरक्षण गर्न थालिएको छ । पाञ्चायन शैलीमा निर्माण गरिएको उक्त मन्दिर २०६३र६४ सालमा बेनी–जोमसोम सडक निर्माणका क्रममा सेनाले सोही मन्दिरसँग जोडेर दुर्गा भगवतीको मन्दिर निर्माण गरिदिएपछि जलेश्वर शिवालय अस्तित्वविहीन बनेको थियो ।

“प्राचीन मन्दिरमा राखिएका ताम्रपत्र, घण्ट, भाला, हातहतियारलगायत ऐतिहासिक र पुरातात्विक महत्वका चिज हराउँदै गएका थिए, अहिले वडा कार्यालयले पुरातात्विक महत्वका सम्पदाको संरक्षणका लागि चासो दिन थालेपछि आशा जगाएको छ” ज्यामरुककोटका हरिप्रसाद शर्माले भने ।

पुरातात्विक महत्व बोकेका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा पुरातात्विक विभागले पनि ध्यान दिनुपर्ने बेनी नगरपालिका–२ का ७८ वर्षीय डिलबहादुर कार्कीले बताए । उनका अनुसार बडादसैँ, चैतेदसैँ, कृष्णजन्माष्टमी, श्रीपञ्चमी र तीजका बेला उक्त ठाउँमा पूजापाठका साथै मेला लाग्ने गर्दछ । 

ऐतिहासिक महत्व बोकेका स्थानमा रहेका ढुङ्गेधारा र कुवाको संरक्षण गर्न वडा कार्यालयबाट बजेट विनियोजन गरेर पहल थालिएको बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए । पुरातात्विक सम्पदालाई सूचीकरण गरी संरक्षण र संवर्द्धनका लागि पहल सुरु गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप