आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कान्तिपुर हिसान एडुफेयर सकियो, सवा लाखले गरे अवलोकन

आइतबार, १० असार २०८०, १९ : ३४
आइतबार, १० असार २०८०

काठमाडौँ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ नारासहित हिसान शैक्षिक मेला सम्पन्न भएको छ । असार ८ गतेबाट पुनः सुरु भएको मेलामा १ लाख २५ हजार विद्यार्थी तथा अभिभावकहरूले अवलोकन गरेको आयोजकले जनाएको छ । 

मेलाको अन्तिम दिन आइतबार मात्रै ५० हजार विद्यार्थी र अभिभावकले अवलोकन गरेको आयोजकको दाबी छ ।  काठमाडौँको भृकुटीमण्डपमा चार दिने मेलामा विभिन्न कलेज तथा विश्वविद्यालयका ७५ भन्दा बढी स्टल राखिएका थिए । 

हिसानले कक्षा ११ र स्नातक तहमा भर्ना हुने विद्यार्थीलाई लक्षित गरेर शैक्षिक मेलाको आयोजना गरेको थियो ।  यो पटकको मेलामा सूचना र प्रविधितर्फ विद्यार्थीहरूको चासो बढी रहेको पाइएको छ । कलेज तथा शिक्षालयहरूमा बुझ्न आउने विद्यार्थी तथा अभिभावकहरूले विभिन्न विषयमा जिज्ञासा राखेका थिए । 

IMG20230625162355

हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले मेलामा डिजिटल टेक्नोलोजी तर्फ विद्यार्थीहरूको बढ्दो आकर्षण देखिएको बताए । कलेजहरूले समेत विगतको तुलनामा बढी प्रतिस्पर्धी तथा स्रोतसाधनयुक्त भएको पाइएको उनको भनाई छ । 

विद्यार्थीहरूको बढ्दो विदेश यात्रालाई निरुत्साहित गर्न मेलाले धेरै सहयोग पुगेको उनको भनाई छ । ‘विद्यार्थी तथा अभिभावकहरूमा नेपालमा खासै राम्रो कलेज तथा आफूले चाहेको विषय पढ्न पाउने शिक्षालयहरूको छैनन् भन्ने लाग्दो रहेछ । मेलामा आएपछि सबै भ्रममुक्त भएर जानुभयो,’ शर्माले भने । 

IMG20230625162426

स्वदेशी शिक्षालाई प्रवर्द्धन गर्न शिक्षामा आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यताका साथ मेला आयोजना गरिएको र सफल पनि भएको उनको भनाई छ । 

चार दिनको मेलामा कक्षा ११ को पढाइका विषयमा बुझ्न धेरै विद्यार्थी आएको देखियो । तर, उच्च शिक्षाबारे बुझ्ने विद्यार्थीको सङ्ख्या भने निकै कम देखिएको वरिष्ठ उपाध्यक्ष शर्माले बताए । 

विगतमा जम्मा आउनेमध्ये ३० प्रतिशत विद्यार्थी उच्च शिक्षाबारे बुझ्न आउने गरेका थिए भने ७० प्रतिशत कक्षा ११ को लागि बुझ्न आउने गरेका थिए । तर, यो पटक भने जम्मा विद्यार्थीको १० प्रतिशत मात्रै उच्च शिक्षाबारे बुझ्न आएको उनको भनाई छ । जुन नेपालको लागि निकै दुःख र चिन्ताको विषय भएको उनले बताए । 

‘कक्षा १२ को परीक्षा दिएर यही उच्च शिक्षा पढ्नुपर्छ भन्ने मान्यता विद्यार्थीहरूमा निकै कम देखियो । कक्षा १२ पास भएपछि सिधै विदेश जाने भन्ने मान्यतामा विद्यार्थीहरू छन्,’ शर्माले भने ।  

IMG20230625162445

नेपालमा विद्यार्थीहरूलाई गलत काउन्सिलिङ गराउने काम भइरहेको उनको भनाई छ । ‘नेपालमा पढाई राम्रो छैन, यता पढेर के गर्ने ? पढेपछि बेरोजगार भइन्छ भनेर काउन्सिलिङ गरिन्छ । पढ्ने विद्यार्थीका लागि नेपालमा धेरै सम्भावना छ भनेर सिकाइँदैन । जसरी पनि विद्यार्थीलाई विदेश नै धपाउने काम भइरहेको छ ।’ उनले भने । 

गत जेठ ३२ गते सभामुख देवराज घिमिरेले मेलाको उद्घाटन गरेका थिए । तर त्यही दिन काठमाडौँ महानगरपालिकाले मेलामा हस्तक्षेप गरेपछि रोकिएको थियो । महानगरले मेला रोकेपछि आयोजक उच्च अदालत पाटन गएको थियो ।  

अदालतले मेला नरोक्न अन्तरिम आदेश दिएपछि असार ८ गतेबाट पुनः सञ्चालन गरिएको थियो । महानगरले मेलामा अवैध तरिकाबाट रोक लगाएर प्रभावित पार्न खोजे पनि विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता रहेको उनको भनाई छ । 

IMG20230625162409

विद्यार्थीहरूलाई आफूतिर आकर्षित गर्न मेलामा काठमाडौँ विश्वविद्यालयसमेत स्टलसहित सहभागी भएको हो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति भोला थापा आफैँले मेला अवलोकन गरेका थिए । स्वदेशमा शिक्षण संस्थाको प्रचार प्रसारका लागि यस्ता मेलाको आवश्यकता रहेको उनको भनाई थियो । 

नेपालमा सञ्चालित शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्यतथ्य र यथार्थ जानकारी गराउन मेला आयोजना गरिएको आयोजकको दावी छ ।  

मेलामा १ हजार भन्दा बढी विद्यार्थीका लागि छात्रवृत्तिबारे जानकारीसमेत दिइएको थियो । सीटीईभीटी, त्रिभुवन, पोखरा, पूर्वाञ्चल लगायत विश्वविद्यालयबाट सम्बन्धन पाएका कलेजहरू मेलामा सहभागी थिए । 

मेलामा आउने विद्यार्थी तथा अभिभावकलाई कलेजहरूले आफ्नो कलेजमा पढाई हुने विषय, लाग्ने खर्च, उक्त विषय पढेपछि पाइने सम्भावित रोजगारी लगायतका विषयमा जानकारी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप