शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

मङ्गलबार, १२ असार २०८०, ०७ : ०७
मङ्गलबार, १२ असार २०८०

हेटौँडा । बजेटमाथि छलफल गर्न बागमती प्रदेश सभाको बैठक आज मंगलबार बस्ने भएको छ । बैठक प्रदेश सभा सचिवालय हेटौँडाले असार १२ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको जनाएको हो ।

बैठकमा प्रदेश सरकारले गर असार १ मा सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, प्रदेश सभा सचिवालयमा सोमबार बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले बजेटमाथिको छलफल र प्रक्रियाको कार्यसूची तयार पारेको हो ।

प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले गत असार १ गतेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका थिए भने सोही दिन बसेको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक प्रस्तावहरू टेबुल गरिएको थियो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि कुल ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख रुपैयाँ, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले बजेटमा पुराना योजनालाई बढी प्राथमिकतामा राखेको छ । सरकारले गत आर्थिक वर्षदेखि नै सञ्चालनमा रहेका योजना कार्यान्वयनका लागि बजेट व्यवस्था गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्राथमिकतामा राखेको वडा समाजवादी कार्यक्रम सञ्चालन, अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा, किसान परिचय पत्र वितरण, दुधजोन घोषणा, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, कृषि उपजहरूको न्यूनतम समर्थन मूल्य तोक्ने लगायतका योजना बजेटमा समावेश गरेको छ ।

त्यस्तै प्रदेश विकास बैंक स्थापना, प्रदेश सूचना बैंक स्थापनाका लागि एक करोड रुपैयाँ, १३ जिल्लाका सदरमुकाममा एक एक सार्वजनिक नागरिक प्रदर्शन स्थल निर्माण, काभ्रेको नमो बुद्ध चैत्य परिसरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने, एक प्रदेश निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल कारखाना स्थापना गर्ने, खाद्य स्वच्छताका लागि प्रदेशस्तरीय गुणस्तर परीक्षण प्रयोगशाला स्थापना, प्रदेशमै सवारी चालक अनुमति पत्रको स्मार्ट कार्ड छपाई गर्न मेसिन खरिद गर्ने, प्रदेश विश्वविद्यालय स्थापना गर्ने तथा सम्भाव्यताका आधारमा मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि बजेट व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप