बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

साताको सेयर बजार : ९५ अंकले नेप्से बढ्दा २३ अर्बको कारोबार

मार्केट क्यापिटलाइजेशन १ खर्ब ३९ अर्बले बढ्यो
शुक्रबार, १५ असार २०८०, १६ : २२
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । यो साता सेयर बजारका लागि निकै उत्साहपूर्ण बन्यो । चार दिन कारोबार भएको यस साता नेप्से सूचक ९५.४६ अङ्कले बढ्दै २१ सय ५०.९९ अङ्कको विन्दुमा उक्लिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् असार ७ गते ४.७५ अङ्कले बढ्दै २ हजार ५०.७८ अङ्कको बिन्दुमा रोकिएको सेयर बजार परिसूचक नेप्से यस साताको पहिलो कारोबार दिन नै ६२.२१ अङ्कले बढ्न पुगेको थियो । 

यस्तै दोस्रो दिन ११.६९ अङ्कले बढेको नेप्से सूचक तेस्रो दिन अर्थात् असार १२ गते पुनः ५६.९४ अङ्कले बढ्दै २१ सय ८६.३६ अङ्कको बिन्दुमा उक्लियो । तर, साताको अन्तिम कारोबार दिन बुधवार भने नेप्से सूचक ३५.३७ अङ्कले घट्दै २१ सय ५०.९९ अङ्कको विन्दुमा ओर्लियो ।  आइतबारदेखि बिहीबारसम्म सातामा कूल ५ दिन सेयर कारोबार हुने भए पनि यस साता बिहीबार सार्वजनिक बिदा परेकाले चार दिन मात्र कारोबार भएको हो । 

२३ अर्बमाथिको कारोबार

उसो त ९५ अङ्क माथिले नेप्से बढ्दै गर्दा यस साता कारोबार रकम समेत बढेको छ । अघिल्लो हप्ता सवा २० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार हुँदा यससाता २३ अर्ब २ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।  अघिल्लो साता जम्मा १३ अङ्कले मात्र नेप्से सूचक बढ्दै गर्दा कूल २० अर्ब १४ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

१ खर्ब ३९ अर्बले मार्केट क्यापिटलाइजेशन बढ्यो

यो साता नेप्से सूचकसँगै कारोबारमा समेत बढेसँगै यता मार्केट क्यापिटलाइजेशन (धितोपत्र बजारको पुँजीकरण) समेत बढेको छ । यो साता कूल १ खर्ब ३९ अर्ब ७० करोड २० लाख रुपैयाँले मार्केट क्यापिटलाइजेशन बढ्दै ३१ खर्ब ५० अर्ब १३ करोड ४० लाख रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।  अघिल्लो साता यस्तो मार्केट क्यापिटलाइजेशन २४ अर्ब २३ करोड १० लाख रुपैयाँले बढ्दै ३० खर्ब १० अर्ब ४३ करोड १० लाख रुपैयाँ कायम भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप