शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राम्रो जीपीएले मात्र जिन्दगीका परीक्षामा सफल होइँदैन

मङ्गलबार, २६ असार २०८०, १० : २४
मङ्गलबार, २६ असार २०८०

एसईई परीक्षाको नतिजा भर्खरै प्रकाशित भएको छ । कतिपय विद्यार्थीले निकै राम्रो ग्रेडमा उत्तीर्ण गरेका छन् । तर धेरैले राम्रो ग्रेड ल्याउन नसकेकोमा हिस्स पनि देखिएका छन् । राम्रो ग्रेड ल्याउने खुसी हुने र सामान्य ग्रेड ल्याउने हिस्स परिरहनु आवश्यक छैन । किनभने एसईईको ग्रडले मात्र जीवन सफल हुँदैन । त्यसका लागि समाजका सफल व्यक्तिको ग्रेड हेरे पुग्छ । 

विद्यार्थीको भविष्यको एउटा पाटोलाई मात्रै केन्द्र विन्दु बनाएर र मूल्याङ्कन गरेर अभिभावक, शिक्षक र विद्यालय सञ्चालकहरूको सामाजिक सञ्जालभरी अस्वस्थ होडबाजी गरिरहेका छन् । राम्रो जीपीए ल्याउनेहरू मात्रै परिवार, समाज र देशका आशा र भरोसाका केन्द्र हुन त ? परीक्षाभन्दा ठुला परीक्षार्थीहरू हुन्, यो कुरालाई हामीले किन भुलेका छौँ ।

एसईईको जीपीए ग्रेडमा पछाडि पर्नेहरू पनि जिन्दगीमा अगाडि पुग्न सक्छन् । परीक्षामा फेल भएकाहरू पनि त जिन्दगीमा पास भएका छन् । नम्बर नबुझ्नेहरूले पनि त जिन्दगीको अर्थ बुझेका छन् ।

स्कुलमा सामाजिक नबुझ्नेहरूले पनि त कालान्तरमा गएर समाजलाई नेतृत्व गरेर निकास दिइरहेका छन् । गणित र एकाउन्ट नबुझ्नेहरूले पनि आज धेरैको घरको चुलो बालेर उनीहरूको जिन्दगीको हिसाब मिलाइदिइरहेका छन् । कक्षामा रोल नम्बर अन्तिम हुनेहरू पनि सफल व्यक्तिमा गनिन सकेका छन् । 

कक्षामा पछाडि बसेर अनुहार नदेखाउनेहरू पनि आज मिडिया र समाचारको अग्रपङ्क्तिमा छन् । स्वास्थ्य पढाउनेहरूले, ए प्लस ल्याउनेहरूले पनि आज मार्कसिटभन्दा लामो औषधीको बिल बोकेर हिँडिरहेका छन् ।

के सिक्यौँ, के पढ्यौँ भन्दा पनि त्यसलाई कति व्यवहारमा उतार्‍यौँ र त्यो हाम्रो जीवनमा कति उपयोगी सिद्ध भयो, यो चाहिँ महत्त्वपूर्ण कुरा हो ।

नेपालीमा कमजोर र व्याकरण अनि ह्रस्व दीर्घ नजानेकाहरूले नै अक्सर धेरैजसो यो माटोलाई मलिलो र सुगन्धित बनाइरहेका छन् साथी ।

गाउँका बुवा आमालाई बोल्नबाहेक नेपाली पढ्न र लेख्न आउँदैन अनि छोरोछोरी जसले एप्लस जीपीए ल्याएर कोरिया र जापानमा चौकीदारी गर्न भाषाको निम्ति घुँढा धसिरहेका छन्, देशको निम्ति को कुन महत्त्वपूर्ण हो ?

जिन्दगीको प्लस माइनस हिसाबलाई स्वीकार्न नसक्दा गतिलो अङ्क ल्याउनेहरूले पनि गिलास घोप्ट्याइरहेको छन् । धुलोपिठो चाटिरहेको उदाहरण खोज्न टाढा जानुपदैन ।

गणितमा उच्च ग्रेट ल्याउने पनि जिन्दगीको सूत्र प्रयोग गर्न नजानेर जिन्दगी केरमेट छ । तर जीपीए फोर ल्याउँदा भविष्यमा इन्जिनियर बन भनेर बधाई दिइरहेका छन् ।

इन्जिनियर बनेर हजार वटा बिल्डिङ, पुल जोड्नेहरूले वृद्धाश्रममा भएका बुवा आमासँग वर्षौँ पहिले तोडेका सम्बन्ध आजसम्म जोड्न सकेका छैनन् । राम्रो उत्तर लेखेर पनि आफूलाई मनमा लागेको कुरा सही तरिकाले व्यक्त गर्न सक्दैन, राम्रो ग्रेडमा उभिएर एक दुई सय जनाका अगाडि उभिन सक्दैन भने के अर्थ रहन्छ र ? जिन्दगीभरका अनुभव, अनुभूतिहरू, कथा व्यथा, दुःखसुख कोर्न तीस पैँतीस वर्षको शिक्षाले पनि हात बसाउन सकेन भने ए प्लस ग्रेडको के अर्थ ? आफूले हात समाएर डोर्‍याउने वा आफ्नो हात समाएर डोरिने आफूभन्दा साना हुन् । आफू सँगसँगै हात मिलाएर हिँड्नेहरू हुन् । आफूलाई नमस्ते गर्नेहरू हुन्, आफूले नमस्ते गर्नेहरू हुन् । सहीलाई सहीलाई गलतलाई गलत भन्ने उसमा साहस छैन भने कोही मन पर्‍यो भने मन पर्‍यो भन्ने, परेन भने परेन भन्न, राम्रो लाग्यो राम्रो नराम्रो लागेमा नराम्रो भन्न सक्दैन भने योभन्दा ठुलो अशिक्षा के होला जिन्दगीमा ?

त्यसैले कसैको योजनाबद्ध यो २, ३ घण्टाको कुनै एउटा परीक्षाका आधारमा मात्रै विद्यार्थीलाई काँधमा बोक्नु र हतोत्साहित गर्नु अनि गाली गर्नु र मक्ख पर्नुको कुनै आधार र औचित्यै छैन । लेखाइको एउटा माध्यम मात्रै परीक्षा होइन, जिउँदै गरेको ‘जिन्दगी’ वास्तविक परीक्षा हो । 

डियर शिक्षक र अभिभावकज्यूहरू, जो कम्ती ग्रेडमा छन् उनीहरू कमजोर होइनन् । एउटा क्षेत्रमा उनीहरूको सपना, रुचि नमिलेका कारणले पछि परेका हुन् । जिन्दगीका अरू धेरै क्षेत्र र आयाममा तपाईँ हाम्रो बधाई र शुभकामनाको काँधमा बोकेका अरूहरू भन्दा उनीहरू उत्कृष्ट छन् ।

जिन्दगीको यात्रा र गन्तव्य कस्तो छ ? लक्ष्य उद्देश्य कस्तो छ । अझ त्योभन्दा पनि टाढाको कुरा लक्ष्य उद्देश्य यात्रा पछाडिको उनीहरूको नियत र उद्देश्य कस्तो छ ? सिकाइको लय कति गहिरो छ ? भोगाइ को अनुभूति कति रङ्गिन छ ?

आशा, हौसला, सपना उत्साह, उमङ्ग, विश्वास, मानसिक अनि सोच र विचार चाहिँ कस्तो छ त ? उनीहरूको भविष्य परिवार समाज देशप्रतिको नजर कस्तो छ ? ऊर्जा कस्तो छ ? विद्यार्थीमा संस्कार कतिको छ ? अनुशासन कतिको छ ? धैर्यता कतिको छ ? परिपक्वता कविको छ ? चेतना जागरूक कतिको छ ? समाजदारी कतिको छ ? देखाइ हेराइ भोगाइ सिकाइ कस्तो छ ?

आफ्नो जिन्दगीको यात्रामा आफ्नै खुट्टाले दौडन उनीहरू सक्षम भए या भएनन् ? श्रमको मूल्य थाहा पाए या पाएनन् ? भोकको अर्थ बुझेका छन् या छैनन् ? समस्या आउँदा त्यसलाई आफै फेस गर्न सक्ने, जुध्न सक्ने, ट्याकल गर्न सक्ने व्यक्तित्वमा रूपान्तरण भए या भएनन् ? अक्षर मात्रै चिने या अक्षर सँगसँगै अक्षरभित्रका अर्थहरूलाई बुझ्न र त्यसको महत्त्वलाई केलाउन सक्ने भए या भएनन् ? एसईई सकेर निस्किँदै गर्दा उसले सर्टिफिकेट सँगसँगै के लिएर निस्किरहेको छ ? औचित्य र महत्त्व यसले राख्छ ।

स्कुलमा बिताएका दिनहरूले नै बाँकी उसको भविष्य तय गर्ने भएकाले स्कुलमा दस पन्ध्र वर्षमा कति घोकेको छ भन्दा पनि कस्तो विश्वास, मनस्थिति, रूपरेखा र लक्ष्य स्थापित भएको छ, त्यो महत्त्वपूर्ण हो । उच्च शिक्षा हासिल गर्दै गर्दा उसको दृष्टिकोण विचार र मानसिकता कत्तिको सृजनशील ऊर्वरशील बन्यो, त्यसले जीवनमा धेरै ठुलो भूमिका खेल्छ । 

त्यसका उदाहरण विश्वका उत्कृष्ट लेखक, कलाकार, व्यवसायी र राजनीतिज्ञ र आआफ्नो क्षेत्रका दिग्गज र स्थापित व्यक्तिहरूको पृष्ठभूमि र जीवनी खोजेर हेरौँ ।

तसर्थ जिन्दगीको उचाइ र गहिराइ नाप्ने विचारको थर्माेमिटरले हो । सोचले हो, सङ्गतले हो, विश्वासले हो, लक्ष्य र उद्देश्यले हो यात्रा र गन्तव्यले हो, जीपीए र प्रतिशतले मात्रै होइन ।

हरेक व्यक्तिका आआफ्ना क्षमता, चाहना र रुचि हुन्छन् । मिजास, शैली हुन्छ । एउटा शिक्षक र प्रधानाध्यापक वा सामाजिक अगुवाले सामाजिक सञ्जालमा कोरेको आशा र मूल्याङ्कनकै मापदण्ड अन्तिम होइन । 

चराको उड्न सक्ने क्षमता माछामा खोज्नु हुँदैन । त्यस्तै माछाको पौडन सक्ने क्षमता चरामा खोज्नु हुँदैन । त्यसैले हरेक व्यक्तिका फरक फरक क्षमतालाई एउटै तराजुमा जोख्नु हुँदैन । उनीहरूको स्वभाव र प्रकृति अनुसार अगाडि बढ्ने हौसला प्रदान गर्नुपर्छ । 

परीक्षामा दुई तीन घण्टा लेखेर उसको क्षमताको सम्पूर्ण मापन हुन सक्दैन । जिन्दगीका परीक्षाहरूमा यसले त्यति ठुलो महत्त्व राख्दैन ।

समय, समाज, देश, काल, परिस्थितिले लिने परीक्षामा हामी कति सकारात्मक एवं दर्बिलो भएर उभिन सक्छौँ, त्यो महत्त्वपूर्ण हुन्छ । त्यसैले यी कुराहरूलाई बधाई दिन सिकौँ, मूल्याङ्कन गर्न खोजौँ ।

एसईई उत्तीर्ण सबै भाइबहिनीहरूको जीवन सफल बनोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मन्दिप बाँस्कोटा
मन्दिप बाँस्कोटा
लेखकबाट थप