मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सतर्कता जरुरी

सावधानी नअपनाए डेंगु ‘ब्रेक आउट’ हुने खतरा

६५ जिल्लामा डेंगु देखिदा ११ सय ९२ जनामा सङ्क्रमण पुष्टि
मङ्गलबार, २६ असार २०८०, १३ : ५९
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । बर्खायाम लागेसँगै डेंगु सङ्क्रमित थपिन थालेका छन् । यस वर्ष ६५ जिल्लामा डेंगुका बिरामी पुष्टि भएको छ ।  डेंगु पुष्टि भएका जिल्लामध्ये सबैभन्दा धेरै दार्चुला जिल्लामा १८८ जनामा सङ्क्रमण भएको छ । दोस्रोमा धादिङमा १७५ र सुनसरीमा १३४ जनामा पुष्टि भएको छ । 

यसरी हालसम्म देशभर ११ सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अन्तर्गत किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए । डेंगु संक्रमणबाट १ जनाको मृत्यु भएको छ । 

यस्तै, ईडीसीडीका निर्देशक डा. रुद्र मरासिनीले डेंगु संक्रमितको आँकडा अस्पताल भर्ना भएका मात्रै भएको बताए । सङ्क्रमित भई घरमै बसेर लक्षण अनुसारको उपचार गर्ने धेरै हुन सक्ने उनको अनुमान छ । 

यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट डा. विमल चालिसेले डेंगु संक्रमितमध्ये २० प्रतिशतलाई लक्षण देखिने र ८० प्रतिशत लक्षणमा कुनै कुनै लक्षण देखिने वा नदेखिने बताए । 

लक्षण देखिएका २० प्रतिशतले अस्पतालमै पुगेर उपचार गराउनुपर्ने उनको भनाइ छ । लक्षण एउटा दुइटा वा नदेखिने सङ्क्रमित आफै निको हुने उनको जिकिर छ ।  

डेंगुको उपचार छैन भन्ने भ्रमका कारण सङ्क्रमित स्वास्थ्यमा गम्भीर समस्या आउन्जेल घरमा बस्ने प्रवृत्तिका कारण पछि झन् समस्या हुने डा. चालिसेले बताए ।

उनले भने, ‘डेंगु रोग विरुद्धको औषधि छैन तर लक्षणका आधारमा उपचार सम्भव छ ।’

डेंगु संक्रमितलाई दुखाइ तथा लक्षणहरूको व्यवस्थापन गर्न स्वास्थ्यकर्मी तथा चिकित्सकको सल्लाहबिना आइब्रुफेन र एस्पिरिन जस्ता औषधिहरूको प्रयोगसमेत नगर्न डा.चालिसेको आग्रह छ । 

डेंगुबाट सङ्क्रमित एक जना बिरामी हुँदा सोही बिरामीलाई हेरचार गर्ने वरिपरि बस्ने ४ जनासम्म सङ्क्रमित भएको पाइएको टेकु अस्पतालका डा. चालिसेले सुनाए । 

डेंगु संक्रमणको जोखिम

बर्खा याम लागेसँगै डेंगु संक्रमणको जोखिम कायम रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । डेंगु सार्ने लामखुट्टेबाट सावधानी नअपनाएमा सन् २०२२ मा आउट ब्रेक भएका स्थानमा भन्दा अन्य ठाउँमा आउट ब्रेक हुन सक्ने वरिष्ठ कन्सल्ट्यान्ट डा. चालिसे बताउँछन् ।

‘आजको दिनसम्म तीव्र गतिमा सङ्क्रमित बढेका छैनन्,’ उनले भने, ‘यदि सावधानी अपनाइएन भने कुनै कुनै ठाउँमा डेंगुका सङ्क्रमण दर बढ्न सक्छ ।’

काठमाडौँ उपत्यकामा हाल डेंगुका ९५ केश पुष्टि भएको छ । जसमा काठमाडौँ जिल्लामा ४६, भक्तपुरमा ३६ र ललितपुरमा १३  जनामा सङ्क्रमण पुष्टि भएको हो । 

देशभर डेंगु सार्ने ‘लामखुट्टेको अण्डा र लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन भइरहेको छ । अघिल्लो वर्षको तुलनामा कम सङ्क्रमित देखिएका छन् । तर, सङ्क्रमित एउटा लामखुट्टेले एक पटकमा  १० दश जनालाई डेंगु सार्न सक्ने भएकाले खोज र नष्ट गर अभियानलाई तीव्रता दिनु पर्ने महाशाखाका निर्देशक डा. मरासिनीको भनाइ छ ।  

उता लामखुट्टेको अण्डा पानी बिना महिनौँसम्म जीवित रहन सक्ने  भएकाले ‘लामखुट्टेको अण्डा र लार्भा खोज र नष्ट गर’ अभियानमा चनाखो हुनुपर्ने महाशाखाका निर्देशक डा. मरासिनीले बताए । डेंगु सार्ने लामखुट्टेले सामान्यता उज्यालोमा, विशेष गरी बिहान र साँझको समयमा सक्रिय भई टोक्ने गर्छन् । 

डेंगु बढ्न नदिन के गर्दै छ सरकार ? 

ईडीसीडीका निर्देशक डा.मरासिनीले एकीकृत भेक्टर सर्भिलेन्स औलो, कालाजार, हात्तीपाइले, डेंगी जेई एकीकृत भेक्टर सर्भिलेन्सको एसओपी कार्यान्वयनको चरणमा रहेको बताए । 

यस्तै, उनले सातै प्रदेशमा इन्टोमोलोजिकल ल्याबको स्थापना सर्भिलेन्स टोली गठन  गरिएको सुनाए । यस्तै, प्रत्येक प्रदेशमा कम्तिमा एक वटा सेन्टिनेल साइडको छनोट गरिएको बताए । प्रत्येक सेन्टिनेल साइडमा वर्षमा चार पटक मौसमअनुसार सर्भिलेन्स गरिनेछ ।   

सङ्क्रमण उच्च रहेका जिल्लाहरूमा डेंगी रोग सार्ने बाहक  भेक्टरको आनीबानीको अध्ययन, निगरानी गरी रोकथाम तथा नियन्त्रणको रणनीति परिमार्जन गरिएको ईडीसीडीमा निर्देशक डा. मरासिनीले बताए । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहले डेंग नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सबै सरोकारवालासँग सहकार्य भएको बताए । 

हाल जहाँ डेंगुको सङ्क्रमण अलि बढी देखिएको छ, त्यहाँका स्थानीय तहसँग समन्वय महाशाखाहरूले समन्वय गरेको उनको जिकिर छ । डेंगु सङ्क्रमण बढ्न नदिन अन्तर मन्त्रालयबिच समन्वयको खाँचो रहेको उनको भनाई छ ।

नेपालमा डेंगुको अवस्था 

नेपालमा २०६१ सालमा पहिलो पटक डेंगु सङ्क्रमण देखा परेको हो ।  त्यस यता क्रमशः बढ्दै गई बेला बेलामा महामारीको रूपमा देखा परेको छ । 

सन् २०२२ मा ५४ हजार ७८४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । आ.ब  २०७९÷८० काठमाडौँमा १४ हजार ३८८, भक्तपुरमा ६ हजार १५४ र ललितपुरमा ९ हजार ६२१ जनामा डेंगु पुष्टि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप