शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
एसिया कप

एसिया कप क्रिकेटका चर्चित विवाद

धोनीको काटिएको टाउकोदेखि खेलमा राजनीतिको छायासम्म
बिहीबार, २८ असार २०८०, ०९ : २१
बिहीबार, २८ असार २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६ औँ संस्करण यसै वर्ष पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदै छ । भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्धको छाया क्रिकेटमा परेपछि एसियाकपको भविष्य नै अन्योलमा परेको थियो ।

तर पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अगाडि सारेको ‘हाइब्रिड मोडेल’ ले करिब करिब समस्या समाधान हुने स्थितिमा पुगेको छ । पीसीबीको उक्त प्रस्तावमा भारतसँगै सहभागी सबै राष्ट्र सहमत देखिएका छन् ।

अप्रत्यासित रूपमा परिस्थितिले कोल्टे नफेरे प्रतियोगिता आगामी अगस्ट ३१ देखि सेप्टेम्बर १७ तारिखसम्म आयोजना हुने छ । यस पटक भारत र पाकिस्तानका कारण एसिया कप आयोजनाको विषय निकै विवादित बन्न पुग्यो ।

तर एसिया कपको इतिहासमा यस्तो विवाद पहिलो पटक भएको भने होइन । यसअघि एसिया कपको १५ वटा संस्करण आयोजना भइसकेका छन् । यसअघि पनि एसिया कपमा थुप्रै पटक विवाद भएका छन् । यस्ता अधिकांश विवाद भारत र पाकिस्तानकै खेलाडीबीच हुने गरेको छ । विवादको विषयलाई लिएर सन् २०१० मा आयोजना भएको एसिया कप सबैभन्दा बढी चर्चित छ ।

(१) गौतम गम्भीर र कमरान अकमल

संयोगले एसिया कपको १० औँ संस्करण पनि श्रीलङ्कामा आयोजना भएको थियो । उक्त संस्करणको समूहगत चरणको चौथो खेल चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच भएको थियो । डम्बुलामा भएको उक्त खेलका क्रममा भारतका ओपनर ब्याट्सम्यान गौतम गम्भीर र पाकिस्तानका विकेटकिपर कमरान अकमलबीच ठुलै चर्काचर्की भएको थियो ।

Gautam Gambhir vs Kamran Akmal

८३ रन बनाएर खेलिरहेका गम्भीर साइद अजमलको बलमा आउट भएका थिए । त्यसपछि आक्रोशित भएका गम्भीर मैदानबाट बाहिरिँदै थिए । त्यस क्रममा मैदानमै गम्भीर र कमरान अकमलबीच जम्का भेट भयो ।

त्यसपछि एकअर्काका चिर प्रतिद्वन्द्वी टोलीका यी दुई खेलाडीबीच झगडा सुरु भयो । चर्काचर्की निकै बढेपछि अन्ततः भारतीय टोलीका कप्तान महेन्द्रसिंह धोनीले हस्तक्षेप गरेर दुवै खेलाडीलाई शान्त बनाएका थिए ।

(२) हरभजन सिंह र सोएब अख्तर

खास गरी क्रिकेट खेलका क्रममा भारत र पाकिस्तानका खेलाडी मौका पाउने बित्तिकै एकअर्कालाई खिसी गर्न चुक्दैनन् । एसिया कपको १० औँ संस्करणमै भारतका चर्चित अफस्पिनर हरभजन सिंह र पाकिस्तानका तीव्र गतिका बलर सोएब अख्तरबीच पनि चर्काचर्की परेको थियो ।

खेलका क्रममा हरभजन र सोएब अख्तरबीच अचानक चर्काचर्की सुरु भयो । मैदानमा रहेका अन्य खेलाडी र दर्शकहरू स्तब्ध थिए । उनीहरूलाई झगडाको कारण थाहा थिएन । पछि बुझ्दै जाँदा मैदानमा अख्तरले हरभजनलाई गाली गरेका रहेछन् ।

Harbhajan Singh vs Shoaib Akhtar

त्यसको पछाडि पनि रमाइलो कारण छ । वास्तवमा दुई सय ६८ रनको लक्ष्य पछ्याएको भारतले सात विकेट गुमाइसकेको थियो । भारतका लागि हरभजन र प्रवीण कुमार ब्याटिङ क्रिजमा थिए । अन्तिम ओभरका रूपमा पाकिस्तानका मोहमद आमिर बलिङ गर्न आएका थिए ।

त्यसपछि अन्तिम ओभरको पाँचौँ बलमा हरभजनले विजयी रन प्रहार गर्दै हरभजनले भारतलाई विजयी बनाएका थिए । त्यसपछि अख्तरलाई हेरेर हरभजनले ब्यङ्ग्यात्मक हाँसो हासेका थिए । अख्तरले त्यसलाई पचाउन सकेनन् र उनीले हरभजनमाथि गालीको वर्षा सुरु गरेका थिए । त्यसपछि अन्य खेलाडीहरूले हरभजन र अख्तरलाई शान्त पार्नु परेको थियो ।

(३) सकिब अल हसनको चर्तिकला

सन् २०१६ को एसिया कप क्रिकेट बङ्गलादेशमा आयोजना भएको थियो । एसिया कपको त्यो १३ औँ संस्करण थियो । उक्त संस्करणको सबैभन्दा स्मरणीय घटना भनेको घरेलु टोली बङ्गलादेशका खेलाडी सकिब अल हसनसँग जोडिएको छ ।

Shakib al Hasan reprimanded by ICC

समूहगत चरणको आठौँ खेल पाकिस्तान र बङ्गलादेशबीच भएको थियो । उक्त खेलमा बङ्गलादेशका अलराउन्डर सकिब अल हसनको विकेट पाकिस्तानी बलर मोहम्मद आमिरले लिएका थिए । आठ रन बनाएका सकिब अल हसन आमिरको बलमा बोल्ड भएका थिए ।

त्यसपछि आक्रोशित बनेका सकिब अल हसनले स्टम्प नै भाँचिदिएका थिए । स्टम्प भाँचेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सकिब अल हसनलाई गम्भीर चेतावनी दिएको थियो । उक्त खेलमा बङ्गलादेश पाँच विकेटले विजयी भएको थियो ।

(४) आसिफ अली र फरिद अहमद

सन् २०२२ को एसिया कप संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना भएको थियो । एसिया कपको यो १५ औँ संस्करण थियो । एसिया कपको यो संस्करण पाकिस्तान र अफगानिस्तनका खेलाडीको झगडालाई लिएर निकै चर्चित बनेको थियो ।

प्रारम्भिक चरणमा पाकिस्तान र अफगानिस्तान छुट्टाछुट्टै समूहमा परेका थिए । त्यसैले समूहगत चरणमा यी दुई टोलीबीच खेल भएन । तर प्रतियोगिताको सुपर सिक्स चरणमा भने यी दुई टोलीबीच भेट भएको थियो ।

Asif Ali vs Fareed Ahmed

यो घटना पनि त्यही खेलको हो । पाकिस्तानका ब्याट्सम्यान आसिफ अली र अफगानिस्ताका बलर फरिद अहमदबीच हात हालाहालको स्थितिसम्म पुगेको थियो । पाकिस्तानका आसिफ अलीले फरिद अहमदलाई ठटाउन आफ्नो ब्याट पनि उठाइसकेका थिए ।

एसिया कपको यो संस्करण टी–ट्वान्टी ढाँचामा खेलाइएको थियो । अफगानिस्तानले दिएको १३० रनको लक्ष्य पछ्याउँदै पाकिस्तान जवाफी ब्याटिङमा ओर्लिएको थियो । सातौँ नम्बरमा ब्याटिङ गर्न आएका आसिफ अली १६ रन बनाएर खेल्दै थिए ।

त्यतिबेला पाकिस्तानको कुल स्कोर एक सय १८ रन थियो अर्थात् खेल जित्न पाकिस्तानी टोली निकै ठुलो दबाबमा थियो । यस्तो स्थितिमा अफगानिस्तानका बलर फरिद अहमदले आसिफ अलीलाई करिम जन्नतद्वारा क्याच गराएका थिए ।

टोली अप्ठ्यारो स्थितिमा हँदा फरिदले आफ्नो विकेट लिएपछि आसिफ अली आक्रोसित भए । त्यसमाथि उनको विकेट लिएपछि फरिदले उनकै अगाडि खुसियाली मनाएका थिए । यस्तो स्थितिमा दुवै खेलाडीबीच भनाभन सुरु भयो ।

झगडा बढ्दै गएर हात हालाहालको स्थितिसम्म पुग्यो । अनि पाकिस्तानका आसिफ अलीले फरिदलाई हिर्काउन ब्याटलाई हावामा उठाए । तर अन्य खेलाडीको हस्तक्षेपका कारण आसिफले फरिदलाई हिर्काउन भने पाएनन् । 

मैदानमा त स्थिति साम्य भयो । तर त्यसपछि रङ्गशालामा खेल हेरिरहेका पाकिस्तान र अफगानिस्तानका समर्थकहरू एकआपसमा भिड्न पुगे । दुवै टोलीका समर्थकबीच निकै ठुलो झगडा भयो । केही समर्थक घाइते पनि भए । उक्त रोमाञ्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई अन्तिम चार बल बाँकी रहँदा एक विकेटले हराएको थियो ।

(५) महेन्द्रसिंह धोनी र तासकिन अहमद

यो घटना सन् २०१६ को एसिया कपको हो । सन् २०१६ को १३ औँ एसिया कप बङ्गलादेशमा आयोजना भएको थियो । तर यो अशोभनीय घटना खेल मैदानमा भन्दा पनि प्रतियोगिताको फाइनल खेल सुरु हुनुभन्दा अगाडि भएको थियो ।

फाइनल खेल भारत र घरेलु टोली बङ्गलादेशबीच खेलिने पक्का भइसकेको थियो । फाइनल खेलअघि सामाजिक सञ्जालहरूमा एउटा तस्बिर निकै भाइरल बन्यो । उक्त तस्बिरमा बङ्गलादेशका तीव्र गतिका बलर तासकिन अहमद र भारतीय टोलीका कप्तान महेन्द्रसिंह धोनीको थियो ।

MS Dhoni vs Taskin Ahmed

खासमा उक्त तस्बिरमा तासकिन अहमदले भारतीय टोलीका कप्तान धोनीको काटिएको टाउको हातमा बोकेको देखाइएको थियो । तस्बिरमा धोनीको काटिएको टाउको हातमा बोकेका तासकिन अहमद खेलमा विकेट लिँदा खुसी भए झैँ देखिएका छन् ।

एसिया कपको फाइनलअघि उक्त तस्बिरले निकै विवाद सिर्जना गरेको थियो । उक्त तस्बिरको ब्यापक आलोचना पनि भएको थियो । तर त्यो तस्बिर बङ्गलादेशका कुनै समर्थकले बनाएर सामाजिक सञ्जालमा राखेका थिए । उक्त संस्करणको फाइनलमा भारतले बङ्गलादेशलाई आठ विकेटले हराएको थियो ।

(६) अर्सदीप सिंहलाई ‘खालिस्तानी’ भनिएपछि

सन् २०२२ मा एसिया कपको १५ औँ संस्करण संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना गरिएको थियो । एसिया कपको उक्त संस्करण खेल्ने भारतीय टोलीमा तीव्र गतिका बलर अर्सदीप सिंहलाई पनि समावेश गरिएको थियो ।

तर उक्त एसिया कपमा भारतका समर्थकहरूले नै अर्सदीप सिंहलाई ‘खालिस्तानी’ को उपनाम दिएर मजाकको पात्र बनाएका थिए । खास गरी सामाजिक सञ्जालहरूमा उनलाई ‘खालिस्तानी’ भनेर निकै उडाइएको थियो ।

खासमा ‘सुपर फोर’ चरणको पाकिस्तानविरुद्धको खेलमा अर्सदीपले पाकिस्तानी ब्याट्सम्यान आसिफ अलीको क्याच छोडेका थिए । त्यो एसिया कप टी–ट्वान्टी ढाँचामा खेलाइएको थियो । महत्त्वपूर्ण क्षणमा आसिफ अलीको क्याच छोडेपछि भारतीय समर्थक निकै आक्रोशित बनेका थिए ।

त्यसै पनि क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई दुवै देशका समर्थकले सानोतिनो ‘युद्ध’ कै रूपमा लिने गरेका छन् । उक्त खेलमा आसिफ अलीले १६ रन बनाएका थिए । यद्यपि पछि आसिफ अलीलाई अर्सदीप सिंहले नै एलबीडब्लू आउट गराएका थिए ।

तर त्यतिबेला निकै ढिलो भइसकेको थियो । भारतले पहिले ब्याटिङ गर्दै सात विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले १९.५ ओभरमा पाँच विकेट गुमाएर विजयलक्ष्य पार गरेको थियो ।

उक्त खेलमा पाकिस्तानसँग हारेपछि भारत फाइनलमा पुग्न असफल भयो । त्यसैले पनि भारतीय समर्थक अर्सदीप सिंहसँग निकै क्रुद्ध बनेका थिए । एसिया कपको उक्त संस्करणमा श्रीलङ्का र पाकिस्तान फाइनलमा पुगेका थिए । फाइनलमा श्रीलङ्काले पाकिस्तानलाई हराएको थियो ।

(७) बीसीसीआईविरुद्ध पीसीबी

एसिया कप क्रिकेटको १६ औँ संस्करण यसै वर्ष (सन् २०२३) पाकिस्तानमा आयोजना हुने भनिएको थियो । प्रतियोगितामा सहभागी हुने छ वटै टोलीको टुङ्गो पनि लागिसकेको थियो । समूह विभाजन पनि भइसकेको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा पाकिस्तान, भारत र नेपाल परेका थिए । समूह ‘बी’ मा श्रीलङ्का, अफगानिस्तान र बङ्गलादेश परेका थिए । तर अन्तिम समयमा आएर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सुरक्षाको कारण देखाउँदै आफ्नो टोली पाकिस्तान नपठाउने निर्णय लियो ।

एकातिर पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) कुनै पनि हालतमा एसिया कप आफ्नै देशमा गराउने अडानमा थियो भने बीसीसीआई कुनै पनि हालतमा पाकिस्तानमा नखेल्ने अडानमा । यस्तो स्थितिमा प्रतियोगिताको मुख्य आयोजक एसियाली क्रिकेट काउन्सिल (एसीसी) पनि निरीह बनेको थियो ।

BCCI vs PCB for Asia Cup 2023

विवाद निकै लामो समयसम्म चल्यो । भारत र पाकिस्तानका अतिरिक्त अन्य सहभागी टोली पनि यो विवादमा जोडिन पुगे । नेपालका लागि पहिलो पटक एसिया कप खेल्ने अवसर थियो । तर त्यो अवसर पनि खेर जाला भन्ने डर कायमै थियो ।

त्यसपछि पाकिस्तानले पनि भारतले आफ्नो भूमिमा एसिया कप नखेले आफ्नो टोलीले पनि भारतमा विश्वकप नखेल्ने अडान लियो । आईसीसी एकदिवसीय विश्वकप यसै वर्ष भारतमा आयोजना हुँदै छ । त्यसपछि बीसीसीआई पनि केही नरम देखियो ।

अन्ततः पीसीबीले एसिया कप खेलाउने ‘हाइब्रिड मोडेल’ अगाडि सा¥यो । उक्त मोडेल अनुसार, भारतबाहेक सहभागी अन्य टोलीले आफ्नो एक–एक खेल पाकिस्तानमा खेल्ने प्रस्ताव गरिएको थियो । त्यसपछि सहभागी टोलीसँग भारतले आफ्नो खेल ‘न्युट्रल भेन्यु’ मा खेल्ने प्रस्ताव अघि सारिएको थियो । फाइनल खेल पनि ‘न्युट्रल भेन्यु’ मै खेलाइने प्रस्ताव गरिएको थियो ।

यसको अर्थ नेपालसहित सहभागी अन्य टोलीले (भारतबाहेक) एक खेल पाकिस्तान र एक खेल ‘न्युट्रल भेन्यु’ मा खेल्नुपर्ने भयो । ‘न्युट्रल भेन्यु’ को रूपमा श्रीलङ्कालाई चयन गरियो । प्रतियोगिता अगस्ट ३१ देखि सेप्टेम्बर १७ तारिखसम्म आयोजना हुने भयो । यसरी एसिया कपमाथि छाएको एउटा सङ्कटले निकास पायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप