बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एसिया कप क्रिकेट : नेपाल र पाकिस्तानबीच उद्घाटन खेल मुल्तानमा

बुधबार, ०३ साउन २०८०, १० : २३
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । एसिया कपको १६औं संस्करण आगामी अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदै छ । 

प्रतियोगिताको उद्घाटन खेल आयोजक पाकिस्तान र नेपालबीच हुने भएको छ । उक्त खेल अगस्त ३० तारिखमा पाकिस्तानको मुल्तानमा खेलिने छ । प्रतियोगितामा वहुप्रतिक्षीत भारत र पाकिस्तानबीचको खेल भने सेप्टेम्बर २ तारिखमा श्रीलङ्काको क्यान्डीमा खेलिने छ । 

यसअघि प्रतियोगिता अगस्त ३१ तारिखमा सुरु हुने भनिएको थियो । तर, आयोजक एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले एक दिन पहिले नै प्रतियोगिता सुरु गर्न लागेको हो । प्रतियोगिताको फाइनल खेल भने सेप्टेम्बर १७ तारिखमा श्रीलङ्कामा खेलिने छ । 

प्रतियोगिताको समूह ‘ए’ मा पाकिस्तान, भारत र नेपाल रहेका छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । भारतबाहेक सबै राष्ट्रले समूहगत चरणको आफ्नो पहिलो खेल पाकिस्तानमा खेल्नेछन् । भारतले भने आफ्नो सबै खेल श्रीलङ्कामा खेल्नेछ । फाइनल खेल पनि श्रीलङ्कामै आयोजना हुनेछ । 

प्रतियोगिता अवधिभर कुल १३ खेल खेलिने छ । पाकिस्तानमा हुने सबै खेल स्थानीय समय अनुसार, दिउँसो १ बजे सुरु हुनेछ । श्रीलङ्कामा हुने खेल भने स्थानीय समय अनुसार, दिउँसो १ बजेर ३० मिनेटमा सुरु हुनेछ । 

समूहगत चरणको समाप्तिपछि दुवै समूहका माथिल्ला दुई टोली सुपर फोर चरणमा प्रवेश गर्नेछन् । एसिया कप ५० ओभरको खेल हुनेछ । प्रतियोगितामा बङ्गलादेशले आफ्नो पहिलो खेल सेप्टेम्बर ३ तारिखमा लाहोरमा अफगानिस्तानसँग खेल्नेछ । त्यसपछि श्रीलङ्का र अफगानिस्तानबीचको खेल सेप्टेम्बर ५ तारिखमा गद्दाफी रङ्गशालामा खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप