आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भ : बीपी स्मृति दिवस

कांग्रेस केन्द्रीय समिति बैठक : सच्चिनेभन्दा पनि गुटकै लफडा

शुक्रबार, ०५ साउन २०८०, १२ : ३६
शुक्रबार, ०५ साउन २०८०

बिर्सिएका बीपी:  विश्व राजनीतिक रङ्गमञ्चमा उज्ज्वल छवि बनाउन सफल बीपी कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा हुन् । २०३९ साउन ६ गते दिवङ्गत तिनै अथक योद्धा बीपीको स्मृति दिवसको सेरोफेरोमा यहाँ केही शब्द कोर्दै गर्दा उनले स्थापना गरेको पार्टी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । 

आफ्नो जीवनकालमा लामो समय प्रवास तथा राजा महेन्द्रको ‘कु’पश्चात् आठ वर्ष सुन्दरीजल जेलमा राखिएका बीपीले खुला राजनीतिमा भने जम्माजम्मी १६ वर्ष मात्र बिताए । एकतन्त्रीय राणाशासनविरुद्ध संघर्ष गर्न बीपीकै अगुवाइमा २००६ सालमा नेपाली कांग्रेसको एकतासहितको पार्टी स्थापना भएको थियो । राजनीतिक रूपले सङ्गीन घडीमा पार्टी स्थापना गरी बीपीले नेपाली कांग्रेसलाई मूलतः ‘आर्थिक र सामाजिक’ धरातलसँग जोडेका थिए । आज कांग्रेस शेरबहादुर देउवाको तहसम्म आइपुग्दा ‘पद, पैसा र प्रतिष्ठा’ आर्जनका लागि कांग्रेस पार्टीलाई नै यति दाउमा राखियो कि यो पार्टी ‘राष्ट्रिय आवश्यकता’का बारे बोल्नै नसक्ने अवस्थामा पुग्यो !

शक्ति र सत्ताका निम्ति आफ्नो ऐतिहासिक विरासतसहितको धरातल मात्र नभई ‘विचार र सिद्धान्त’ समेत भुल्न पुगेको कांग्रेस यतिबेला विभाग तथा भ्रातृ एवं शुभेच्छुक संगठनलाई पूर्णता दिन समेत नसक्ने अवस्थामा पुगेको छ । मञ्च पायो कि बीपी कोइरालाकै भनाइ दोहो¥याउन पुग्ने कांग्रेसजनको बोली र आजको कांग्रेस नेतृत्वको व्यवहारमा पटक्कै ‘तादात्म्यता’ देखिन्न । पार्टीलाई परिवर्तनको धारमा लैजान खोज्ने गगनकुमार थापा र विश्वप्रकाश शर्मा नै पार्टी संस्थापन पक्षधरहरूको चौतर्फी आक्रमणको सिकार बनाइँदै छन् । 

हुन त पार्टीमा ‘पुराना र नयाँ’ पुस्ताबीच सङ्घर्ष स्वाभाविक प्रक्रिया हो । वैचारिक रूपमा समेत प्रौढ भएका पार्टीका नेताहरू आफूलाई ‘परिवर्तन’को धारमा उभ्याउन तयार हुन्नन् भने नयाँ पुस्ताका प्रतिनिधिमूलक नेताहरूले आफूसँगै पार्टीलाई ‘परिवर्तन’को धारमा नउभ्याई सुखै छैन । यही दोहोरो ‘रस्साकस्सी’का बीच चल्दै छ, कांग्रेस केन्द्रीय समितिको बैठक ।

हिजो बीपीले मौलिक, सुन्दर तथा सिर्जनात्मक समाजको चित्र पेस गरेका थिए । बीपीमा समाजको चेत बुझ्न सक्ने अद्भुत क्षमता थियो । आजको कांग्रेस नेतृत्वमा पार्टीलाई ‘कोमिङताङ’ बनाउने लक्ष्यबाहेक केही भेटिन्न । कांग्रेस नेतृत्व भेटिन्छ त केवल वाइड बडी, नक्कली शरणार्थी प्रकरण तथा सडकको ठेक्का र स्टक एक्सचेन्जका लाइसेन्स जारी प्रकरणमा । प्रत्यक्ष प्रसारणसहितको कांग्रेस केन्द्रीय समिति बैठकमा कांग्रेस जनताका पक्षमा भेटिने अपेक्षा थियो, तर त्यहाँ पनि पार्टीको वडा समितिको बैठकमा झैँ ‘खुद्रे’ कुरा गरेर समय व्यतीत गर्ने कांग्रेस मात्र भेटियो !

परिवर्तनकारीमाथि उल्टै कटाक्ष 

नेपाली कांग्रेस नेपालकै ऐतिहासिक तथा लोकतान्त्रिक पार्टी भए पनि उसको केन्द्रीय समिति बैठकबारे जनतालाई त उति साह्रो चासो छैन तर चुनावी समीक्षा, सरकारको काम–कारबाहीको समीक्षा, भ्रष्टाचार तथा नक्कली शरणार्थी प्रकरण र पार्टीको भावी योजनाबारे भने सो पार्टीका कार्यकर्ता चनाखो भएर पार्टीले लिने नीतिको प्रतीक्षामा थिए । त्यस बहुप्रतीक्षित बैठकमा पार्टीलाई रूपान्तरण गर्नका निम्ति कार्य योजनासहित महामन्त्रीद्वय प्रस्तुत  भए तर ‘गगन–विश्व लक्षित कटाक्ष’बाहेक यतिबेलासम्म पार्टीलाई सच्याउने समीक्षाकेन्द्रित अभिव्यक्ति प्रस्तुत भएको पाइन्न । सभापति निर्देशित धार यतिबेला महामन्त्रीमाथि कटाक्ष गर्दा नै आफू विजयी हुने भावमा प्रस्तुत छ भने डा. शेखर कोइराला धार बीचमा उभिएर ‘रमाइलो’ मानिरहेको छ । उता, महामन्त्री धार भने पार्टीलाई रूपान्तरणमा लैजान नसकिँदा पार्टी ‘प्रजापरिषद्’ बन्ने खतरा देखेरै रूपान्तरणका निम्ति कार्य योजनासहित प्रस्तुत भएको छ । 

वैचारिक रूपमा समेत प्रौढ भएका पार्टीका नेताहरू आफूलाई ‘परिवर्तन’को धारमा उभ्याउन तयार हुन्नन् भने नयाँ पुस्ताका प्रतिनिधिमूलक नेताहरूले आफूसँगै पार्टीलाई ‘परिवर्तन’को धारमा नउभ्याई सुखै छैन । यही दोहोरो ‘रस्साकस्सी’का बीच चल्दै छ, कांग्रेस केन्द्रीय समितिको बैठक ।

कटाक्षको तयारी !

सानेपा हाइटमा रहेको सुविधा सम्पन्न होटलमा गुटको बैठक नै राखी परिवर्तनकारी धारमाथि ‘कटाक्ष’ गर्नका निम्ति रचिएको रचना र विवेकसम्म बन्धकी राखी भएको प्रस्तुतिले कांग्रेस ‘मिसन २०८४’मा कहाँ पुग्ला ? 

एउटा जीवन्त राजनीतिक दलले दशकौँको बारे सोच्नुपर्ने बेला बैठकमै सामेल एउटा परिवर्तनकारी धारमाथि कटाक्ष गरिँदा र सो बैठकको प्रत्यक्ष प्रसारण छ भन्ने हेक्का समेत नहुँदा जनतामा के सन्देश गएको होला ? 

सँगै, डा. शेखर कोइरालादेखि गोपालमान श्रेष्ठसम्मलाई एकाध केन्द्रीय सदस्यले ‘वरिष्ठ नेता’ बनाउनुपर्ने तर्कले त्यो वरिष्ठ नेताको पगरीले ‘हाइट र वेट’ गिराउने काम भयो कि भएन होला ? योबारे केन्द्रीय समिति बैठकमा जुटेका कांग्रेसजनलाई कतिको हेक्का होला ? 

पार्टी रूपान्तरणदेखि पुस्तान्तरणको खाकासहित वरिष्ठ नेता बनाउनेसम्मका कार्ययोजना स्वयं सभापतिबाटै प्रस्तुत गरेको भए सान्दर्भिक ठहथ्र्यो । 

भावी कांग्रेस

ईशा मसिहको उपदेश क्रिस्चियन र लेनिनको शिक्षा स्टालिनले बिर्सिएझैँ जनताका आवश्यकताका बारे बीपीले प्रस्तुत गरेको विचार देउवा नेतृत्वको कांग्रेसले भुल्दै गएको छ । बीपी कोइरालाको समाजवादी विचारलाई ‘कांग्रेसको सम्भ्रान्त साइनो’ले छपक्कै छोपेको छ । तसर्थ, भावी दिनको कांग्रेस यही सोच र शैलीले चल्नै सक्दैन । 

महाधिवेशनको समय नेतृत्व हत्याउन केन्द्रित हुने र बाँकी समय सत्ताका निम्ति उत्कर्षमै पुग्ने कांग्रेस नेतृत्वको ‘चरित्र’ नै बन्न पुगेको छ । कांग्रेसमा समीक्षा आवश्यक छ भन्ने कुरामा ‘एक मत’ केन्द्रीय समिति स्वयं जिम्मेवारीमा भने आरोप–प्रत्यारोपमा उत्रेको छ । पार्टीभित्र वा पार्टीले लिएको नीति, चुनावमा गरिएको गठबन्धनदेखि पार्टीकै नेता जोडिएका ठूला–ठूला भ्रष्टाचारका प्रकरणमा छानबिनको मागबेगर आरोप–प्रत्यारोप गरेर उम्कने सुविधा कांग्रेस नेतृत्वलाई छैन । मन्त्री मण्डलमा नाम पठाउँदा होस् वा हिजो टिकट वितरण गरिँदा समेत एकलौटी गर्ने देउवाले ‘भ्रष्टाचार वा अनियमितता’का प्रकरणमा आफूलाई निरपेक्ष राख्न मिल्छ ? 

राष्ट्रिय राजनीति र पार्टी जीवनका बारे दर्जनौँ मुद्दा अगाडि सारेर राजनीतिलाई नै दिशानिर्देश गर्नुपर्ने कांग्रेस यतिबेला बेतुकको ‘बैठक लाइभ’ गरेर जगहसाइँ गर्दै छ । इतरपक्ष ‘गगन–विश्व’माथि कटाक्ष गर्न बैठक लाइभको पक्षमा पुगेको संस्थापन पक्षले त्यतिबेला मात्र महामन्त्रीद्वयको पार्टी रूपान्तरणको तयारी भेउ पायो, जतिबेला उनीहरूले लामो कार्यपत्र पेस गर्दै रूपान्तरणको मुद्दासहित देउवालाई दबाबमा राख्न सफल भए । पार्टीभित्र पार्टी रूपान्तरणसहित पुस्तान्तरणका लागि ‘क्यालेन्डर’ सार्वजनिक गरेको हेक्का नै नराखी केही केन्द्रीय सदस्य पार्टीका नेतालाई ‘भ्रष्टाचारको मुद्दा लाग्दा’ बाँकी नेता किन मौन ? भनेर बेइज्जतपूर्ण ‘बालहठ’ प्रस्तुत गर्दै थिए । 

वडा तहमा निर्वाचन हुँदा वडाबाट ‘बुथ प्रतिनिधि’ समेत निर्वाचित भएर आउने हैसियत प्रस्तुत गर्न नसक्ने तर ‘गुट’कै कारण केन्द्रीय समितिमा ‘हुक’ लगाएर भित्र्याइएकाहरूकै भरमा भावी कांग्रेस सञ्चालित हुँदा कस्तो कांग्रेस निर्माण होला भन्ने प्रश्न कांग्रेसजन सामु पहाड भएर उभिएको छ । 

समयको वेग बुझ्न सकेन भने कांग्रेस ‘प्रजापरिषद्’मा रूपान्तरण हुन समय लाग्ने छैन । बीपी स्मृति दिवसमा बीपीलाई सम्झने भनेको पनि केवल उनको तस्बिरमा माला लगाइने मात्र होइन । २०१२ सालमा समाजवादी अर्थ–राजनीति कार्यक्रमलाई संस्थागत गरेर २०१५ सालमा दुईतिहाइ ल्याएको कांग्रेसको आजको कार्यक्रम के भन्ने प्रश्नका माझ महामन्त्रीले कांग्रेस रूपान्तरणको ‘चित्र’ सार्वजनिक गरेको देखिन्छ, तर कांग्रेस केन्द्रीय समिति ‘रूपान्तरण’को मुद्दामा भन्दा एक–अर्काप्रतिको आरोप–प्रत्यारोपमै रमाउन पुगेको छ । पार्टी रूपान्तरणका बाटो भोलि पनि समाउन नसक्ने हो भने ‘वामपन्थी र स्वतन्त्र’ले आफ्नो ‘जनमत’ बढाउनेमा शंका नगरे हुन्छ । 

२०४६, २०६२–०६३ र २०७२ मा वामपन्थीसँग एकता आवश्यक रहे पनि निर्वाचनमा जाँदा समेत ‘गठबन्धन’ गरिएकै कारण कांग्रेसजन ‘डिप्रेसन’मा पुगे । हिजो कांग्रेस बचाउन बीपीले जेलमा रहेका टंकप्रसाद आचार्यदेखि सुवर्णशमशेर र कृष्णप्रसाद भट्टराईलाई आफैँले नेतृत्व हस्तान्तरण गरेर सभापति बनाए । त्यसैगरी आज देउवाले पनि नेतृत्व हस्तान्तरण गरेर पुस्तान्तरणको सन्देश दिनका लागि ‘पदत्याग’ गर्न सक्दा मात्र पुनः कांग्रेस जनतामा स्थापित हुन सम्भव छ ।

आफू जीवित रहेसम्म अर्काेलाई नेतृत्वमा जानै नदिने प्रवृत्तिले भने कांग्रेस फस्टाउन सम्भव छैन । तसर्थ, सानेपाको बीपी स्मृति भवन नामक ‘थियटर’मा मञ्चन हुँदै गरेको ‘केन्द्रीय समितिको बैठक र लाइभ’ नामक ‘नाटक’को पर्दा खस्नुअघि कम्तीमा पार्टी रूपान्तरणको दशवर्षे ‘मागचित्र’सहित भ्रष्टाचारको एजेन्डामा निर्मम रूपमा कांग्रेस प्रस्तुत हुन सक्नुपर्छ । योसँगै राजनीतिक स्थिरताका सवालमा समेत एजेन्डासहित प्रस्तुत हुन सक्यो भने मात्र पार्टी जीवन्त रहन सम्भव छ । अन्यथा, बूढानीलकण्ठको भीमकाय पर्खालभित्र रहेर सम्भ्रान्त साइनो जोडेको कांग्रेसले जनताको मुद्दा उठाउँदै आफूलाई जनतासँग जोड्न सम्भव छैन । 

यो कुराको हेक्का गुट–उपगुटमा विभाजित नभई ‘थियटर’मा जम्मा भएका कांग्रेस नेतृत्वले बुझ्न सक्यो भने बीपी स्मृति दिवसका दिन गरिएको उनको सम्झनाको सार्थकता रहला । अन्यथा, सम्झना ‘बीपी’को गर्ने तर सपना ‘बिबी’को पूरा गर्ने कांग्रेस नेतृत्व आज देशभरका कार्यकर्ताले खोजेका होइनन् । यो कुराको हेक्काले मात्र कांग्रेस ‘जनताको कांग्रेस’ बन्न सम्भव छ । 

(लेखक आचार्य प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सदस्य हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप