आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बैठकमा देश र जनताको मुद्दामा पनि छलफल गरौं : रमेश लेखक

शुक्रबार, ०५ साउन २०८०, १३ : ५७
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको गठबन्धनको स्थायित्वका लागि केन्द्रीय समिति बैठकले दृष्टिकोण बनाउनुपर्ने बताएका छन् ।  शुक्रबारको बैठकमा बोल्दै उनले राजनीतिक विषयसँग वर्तमान गठबन्धनको विषय जोडिएर आउने भन्दै गठबन्धनको स्थिरताका लागि केन्द्रीय समितिले दृष्टिकोण बनाउनुपर्ने बताए ।

‘सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस तीनै तहको सरकारमा छ, संसदमा छ । यो ठूलो उपलब्धि हो,’ उनले भने,  ‘सभापतिको नेतृत्वमा गठबन्धन र ठूलो पार्टी बनेको छ। यो गठबन्धन र सरकारलाई कसरी जनतासँग जोड्ने दृष्टिकोण बनाउनुपर्छ ।’ 

यस्तै मुलुक आर्थिक अवस्थाबारे बैठकमा छलफल हुनुपर्ने नेता लेखकको भनाइ थियो । ‘बैंकमा ८ खर्ब रुपैयाँ त्यतिकै बसिरहेका बेला राज्यसँग पैसा छैन भन्दैछौं । हामी त्यसको उपयोग गर्छौँ कसरी ?,’ उनको प्रश्न छ, ‘धनी र गरिबको फरक बढ्दो छ । भूगोलको झन बढ्दो छ । बागमती र कोशी प्रदेशको कर्णाली र सुदूरपश्चिम प्रदेशको तुलना गर्दा ज्यादा फरक देखिएको छ ।’ 

सुशासन, स्रोतको उचित परिचालन, रोजगारी सिर्जना, पूर्वाधारमा निजी क्षेत्रको लगानी बढाउन, सरकारी खर्च, विपन्नको संख्या घटाउन र मूल्यवृद्धि घटाउने सवालमा ठोस ढंगले छलफल गरेर जानुपर्ने लेखकले बताए ।

पार्टी देश र जनताका लागि निर्माण गरिने भन्दै देश र जनताको मुद्दामा पनि छलफल हुनुपर्ने लेखकले बताए । ‘त्यसका लागि केही राजनीतिक, आर्थिक र समसामयिक विषयहरु प्रतिवेदनकै रुपमा आए राम्रो हुन्थ्यो । प्रस्ताव नआए पनि निर्णयका ठोस रुपमा आओस् भन्ने निवेदन गर्न चाहन्छु,’ उनले भने । 
केन्द्रीय समिति बैठक पार्टीको आन्तरिक जीवनमा मात्र केन्द्रित भएको भन्दै नागरिकका मुद्दामाथि पनि छलफल हुनुपर्ने उनले बताए ।

‘पार्टीको जीवनमा छलफल हुने कुरा आवश्यक छ । ठीक छ । तर हाम्रो बैठकले लाइभ गरेपछि संसारभरीका मान्छेले उत्सुक्ताका साथ हेरिरहेका छन् । विदेशमा विभिन्न काम गरिरहेका नागरिकले बैठकको छलफलमा म कहाँनिर छु भनेर खोजिराखेको होला ?,’ लेखकले भने । बैठकमा पेस भएका प्रतिवेदनहरुलाई कार्यान्वयन गर्न सके कांग्रेस निकै रुपान्तरण हुने पनि उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप