सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए जापानको चुनावी माहोल तात्यो

शुक्रबार, ०५ साउन २०८०, २० : ३९
शुक्रबार, ०५ साउन २०८०

जापान । एनआरएनए जापानको निर्वाचन समितिले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएसँगै यहाँको चुनावी माहोल एकाएक तातिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी जुलाई ३० मा हुने कार्यतालिका तय भएसँगै नेतृत्वका आकाङ्क्षीहरूले उम्मेदवारी घोषणाका साथमा दौडधुप सुरु गरेका छन् । 

अधिवेशनका लागि सार्वजनिक कार्यतालिका प्रकाशन अघि नै नयाँ नेतृत्वको लागि चर्चा सुरु भएको हो ।

नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष नवीन निउरे, उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, राजकुमार अधिकारी र महिला उपाध्यक्ष संगीता सुवेदी अधिकारी दौडमा रहेका छन् । 

मंगलबार अन्तिम पन्जिकृत सदस्यको नामावली सार्वजनिक गरिएसँगै करिब १ लाख ४० हजार नेपाली भएको जापानमा ७ हजार १ सय ६८ जना नेपालीले मात्र मतदान गर्न एनआरएनको पञ्जीकृत सदस्यता प्रमाणीकरण गरिएको छ ।  निर्वाचन समितिको कार्यतालिका रहेको अनुरूप उनीहरूले अष्ट्रेलियाली कम्पनीद्वारा विकसित भेरोभोटिङ प्रणालीमार्फत विद्युतीय मतदान गरेर नयाँ कार्यसमिति चुन्ने पाउनेछन् ।

“निर्वाचन समितिले विद्युतीय मतदानमार्फत निर्वाचन हुने बताउँदै यसका लागि आवश्यक तयारी थालिएको छ,”निर्वाचन समितिका सदस्य आनन्द कोइरालाले भने- “अनलाइन भोटिङका लागि पहिलो पटक आईसीसीले तोकेबमोजिम भेरोभोटिङ प्रणालीबाट निर्वाचन गर्ने गरि तयारी अगाडि बढाए बढाएका छौ।”

प्रारम्भिक रूपमा उम्मेदवारी घोषणाको क्रम हेर्दा यसपाली अधिकांश पदमा मतदान मार्फत पदाधिकारी र कार्यसमिति चयन हुनेछन् । विभिन्न योजनाहरु अघि सारेर अध्यक्षका प्रत्यासीहरूले पत्रकार सम्मेलनमार्फत र अन्य पदका आकांक्षीहरूले सामाजिक संजालमार्फत मत मागी रहेका छन् । प्रायः सबै पदमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । उम्मेदवारहरू आ-आफ्नो पक्षमा मत जुटाउन मतदाता फकाउने अभियानमा जुटेका छन् ।

निर्वाचनको मिति आउन ९ दिन बाँकी रहँदासम्म अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसि ) सदस्यमा कोही पनि चुनावी प्रतिस्पर्धामा उत्रिएको देखिएको छैन । त्यस्तै अर्को शक्तिशाली पद महासचिवमा पनि कसैले मुख खोल्न सकेका छैनन् । तर वर्तमान सचिवहरू नै प्रमुख दाबेदारी रहेको चर्चा परिचर्चा गरिएको छ । उपाध्यक्षमा भने ९ जना र कोषाध्यक्षमा ४ जना भिडेका छन् । 

सचिवमा ५ जना र सह कोषाध्यक्षमा २ जना, युवा संयोजकमा २ जनाले उम्मेदवारीको घोषणा गरेका छन ।

यसपाली गतवर्ष भन्दा केहि कमी मतदाता भएको पाइएपनि उम्मेदवारहरूको संख्यामा भने कमी नआएकाले पनि मैदानमा होमिएकाहरू बीचमा कडा प्रतिस्पर्धा हुने धेरैको बुझाई छ ।

के-के एजेण्डा प्रस्तुत गरेका छन् त अध्यक्षका दाबेदारहरूले ? 

एनआरएनए जापान हाँक्ने मुख्य अध्यक्ष पदमा नवीन निउरे, रामकृष्ण श्रेष्ठ, संगीता अधिकारी सुवेदी र राजकुमार अधिकारी जित आआफ्नो पक्षमा पार्न जोडका साथ लागेका छन् ।

एनआरएनए जापानका वर्तमान वरिष्ठ उपाध्यक्ष रहेका निउरे  सबैसँग राम्रो व्यवहार गर्ने जापानका एक सफल युवा व्यवसायीको साथमा उनी सक्रिय समाजसेवी समेत हुन् । सबैको साथ र सहयोगमा नेपालीहरूको साझा संस्था बनाउन लागि पर्ने उनले बताएका छन् ।

संघको पुनर्संरचना, स्मार्ट एनआरएनए, संस्थागत विकास, आर्थिक पारदर्शिता लगायतका कार्यको जग स्थापना भइसकेको अवस्थामा जापान सरकारसँग आवश्यक पहल र नेपालीहरूको योगदानमा आधारित रहेर धार्मिक स्थलसहितको प्रविधि युक्त बहुउद्देश्यीय नेपाली हाउसको स्थापना र सञ्चालनमा ल्याउने निउरेको मुख्य योजना रहेको छ ।

आकस्मिक दुर्घटनामा परी ज्यान गुमाउने नेपालीहरूको पार्थिव शरीर नेपालमा पठाउन लाग्ने आर्थिक खर्च नेपाल सरकारले व्यहोर्नुपर्ने नीतिगत व्यवस्था गर्न र यसका लागि ठोस नीति बनाएर कार्यान्वयन गराउन नेपाल सरकारका सम्बन्धित निकायसँग पहल गर्ने योजना बनाएका निउरेले दुर्घटना तथा विभिन्न आपत्कालीन समस्यामा परेका नेपालीहरूलाई सहयोग हुने गरी संचालित एनआरएनए आपत्कालीन राहत कोष’ को प्रभावकारी कार्यान्वयन गर्ने उनीद्वारा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

अध्यक्षका अर्का दाबेदार श्रेष्ठ जापानी कम्पनीमा कम्पनीमा कार्यरत छन् । उनी एनआरएनए जापानका वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत हुन् ।

सरल स्वभाव भएका उनले जापानको फुकुओकामा रहेका त्यहाँ स्थापित र संचालित नेपाली सामाजिक संस्थाहरूमा सफल रुपमा नेतृत्व गरिसकेका छन् । आफू अध्यक्ष बनेमा एनआरएनए जापानलाई नयाँ उचाइमा पुर्‍याउने उनले बताए ।

‘काँधमा जिम्मेवारी काममा इमानदारी, सम्बन्धमा समझदारी त्यसका लागि मेरो उम्मेदवारी’ भन्ने मान्यताका साथ अध्यक्ष पदका आफ्नो दाबी प्रस्तुत गरेका उनले जापानवासी नेपालीहरु र जापानिजहरु बीच आवश्यक सहकार्य तथा समन्वयका लागि जापानमा भएका सबै सघसंस्थालाई एकीकृत गरी एनआरएनए जापानले अभिभावकीय जिम्मेवारी निर्वाह गर्न आफू सक्षम रहेको बताए ।  

वर्तमान महिला उपाध्यक्ष रहेकी अर्का अध्यक्ष पदकी प्रत्यासी  सुवेदीले पहिलो पटक एनआरएनए जापानमा महिलाले नेतृत्व गरेर इतिहास रच्ने अभियानमा छिन् । लामो समयदेखि जापानमा व्यवसाय गर्दै आएकी उनी नेपाल वर्तमान कार्यकालको उपाध्यक्ष पदमा रही  एनआरएनएको छविलाई संलाउन आफूले महत्त्वपूर्ण योगदान गरेकोले आगामी कार्यकालमा अध्यक्ष पदमा रहेर सबैको साथ लिई राम्रो काम गर्ने योजना सुनाइन् ।

‘म उपाध्यक्ष रहेको वर्तमान कार्यकालमा भएका आधा काम मेरै नेतृत्वमा भएका छन् । त्यसैले म आफूलाई सफल उपाध्यक्ष पनि भन्न रुचाउँछु । मैले कहिले पनि व्यक्तिगत स्वार्थका लागि काम गरेको छैन संस्थाको हितमा निरन्तर लागेका हिसाबले पनि म एक सक्षम उम्मेदवारको रुपमा रहेको छु,’ उनले भनिन् । 

वर्तमान कार्यसमिति कै अर्का उपाध्यक्ष नागोयालाई आफ्नो व्यावसायिक कार्यक्षेत्र बनाएर एनआरएनएमार्फत सामाजिक कार्यमा सक्रिय अध्यक्ष पदका प्रत्यासी राजकुमार अधिकारीले धेरै बोल्न भन्दा सधै ईमान्दारितापूर्वक समाजिक गर्नका लागि अध्यक्ष पदमा आउन लागेको बताए ।

“ठूला कुरा गरेर मात्रै हुँदैन, यति ठूलो संख्यामा नेपाली भएको जापानका हरेक नेपालीलाई समस्या पर्दा अभिभावकको भूमिका र्निभाह त गर्नु नै छ, त्यस बाहेक पनि एनआरएनए सबै नेपालीले आफ्नै संस्था हो भन्ने महशुस हुने गरी काम गर्ने छु,” उनले भने।

वर्तमान कार्यसमितिका चार जना उपाध्यक्षहरू नै आगामी कार्यकालको अध्यक्ष पदमा भिडेकोले यसपटकको चुनावी माहोल रोचक रहेको छ । क्षेत्रदेखि केन्द्रको वरिष्ठ उपाध्यक्ष भएका निउरेदेखि वर्तमान कार्यसमितिमा आफ्नो वर्चस्व कायम गरेकाहरूको भिडन्तमा कसको पल्ला भारी हुन्छ अझै आकलन गर्न नसकिने जानकारहरुको भनाइ छ । अन्तिम नतिजाको लागि जुलाई ३० तारिक राती ९ बजेसम्म पर्खनुको विकल्प छैन । विद्युतीय मतदान सकिएको केही समयमा नतिजा आउने छ ।

एनआरएनए जापानको ११ औँ अधिवेशन २९ जुलाई २९ तारिक र निर्वाचनमा मतदान जुलाई ३० तारिक हुने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगराज गौतम
लेखकबाट थप