बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बन्ने भयो जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देशीय रंगशाला

डीपीआर अनुसार भारतले लगानी गर्ने
सोमबार, ०८ साउन २०८०, १४ : १७
सोमबार, ०८ साउन २०८०

जनकपुरधाम । जनकपुरमा आठ वर्षदेखि अलपत्र रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देशीय रंगशालामा बन्ने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १४, रजौलमा सुविधासम्पन्न रंगशाला बनाउन जग्गाको व्यवस्थापन भए पनि काम अगाडि बढ्न सकेको थिएन ।

मधेस प्रदेश सरकारको विशेष पहलमा उक्त रंगशाला निर्माण हुने भएको छ । जनकपुरधाम भ्रमणको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेअनुसार एक सय करोड भारतीय रुपैयाँको लागतमा रंगशाला निर्माण हुने भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले २०७५ वैशाख २७ गते जनकपुर भ्रमणको बेला बाह्र बिगाहा मैदानमा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दैै जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक रुपमा विकास गर्न एक सय करोड रुपैयाँ स्वेच्छिक रुपमा अनुदान दिने घोषणा गरेका थिए ।

जनकपुरधाम उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्बीच तालमेल नमिल्दा मोदीले घोषणा गरेको उक्त रकम आउन सकेको थिएन । तर, मधेस प्रदेश सरकारको विशेष सक्रियतामा उक्त अनुदान रकमबाट अब रंगशाला निर्माण हुने भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विगत केही दिन अघि रंगशाला निर्माणस्थलको निरीक्षण गर्दै मोदीले घोषणा गरेको अनुदान रकमले रंगशाला निर्माण गर्ने घोषणा गरेका थिए । सोही अनुरुप उनले गत शनिबार भारतीय राजदुत नवीन श्रीवास्तवसँग भेट गरी रामजानकी रंगशाला निर्माणका लागि छलफल गरेका छन् ।

मुख्यमन्त्री यादवले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच मधेस प्रदेश सरकारको सक्रियतामा रंगशाला निर्माण गर्ने सम्झौता भइसकेको बताएका छन् । उनले भने, ‘बीच बीचमा मोदीजीले घोषणा गरेको रकमले धर्मशाला निर्माण गर्ने कुरा पनि राजदुत समक्ष पुगेको छ । तर, मैले त्यस्तो हुँदैन भनिदिएको छु ।’

मधेस प्रदेशको क्याबिनेट बैठकको निर्णयपछि जनकपुरधाम उपमहानगरपालिकासँग छलफल गरेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम पनि यथाशीघ्र सुरु हुने मुख्यमन्त्री यादवले बताए ।

उनले डीपीआर तयार गरेर भारतीय दुतावास मार्फत भारत सरकारलाई पेस गरेपछि प्रतिवेदन अनुसार आवश्यक भए थप लगानी पनि भारत सरकारले गर्ने प्रतिवद्धता राजदूत श्रीवास्तवले जनाएको पनि खुलासा गरे ।

स्थानीय राजनीतिकर्मीले गुठी संस्थानको १७ बिगाहा जग्गामा रंगशाला निर्माण गर्ने निर्णय गरेका थिए । सोही अनुसार उनीहरुले २०७२ वैशाख १२ गते सर्वपक्षीय, सर्वदलीय बैठकबाट रंगशाला निर्माणका लागि भाडामा जग्गा लिन गुठी संस्थान प्रधान कार्यालय काठमाडौंलाई अनुरोध गरे ।

गुठी संस्थान प्रधान कार्यालयका कार्यकारी प्रशासकीय अधिकृत नारायण चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टबीच गुठी संस्थानको उक्त जग्गा लिजमा दिने तथा भोगाधिकार गर्न दिने सम्झौता भएको थियो ।

रंगशाला निर्माणका लागि २०७४ मंसिर ३ गतेमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तीन वर्षभित्र निर्माण सम्पन्न गर्न जनकपुरधामस्थित लक्ष्मण मन्दिरको १७ बिगाहा जग्गा ३० वर्षका लागि लिजमा लिएको थियो ।

लिजमा लिएको गुठी संस्थानलाई बर्सेनि नौ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता भएको थियो । दुई÷दुई वर्षमा १० प्रतिशत भू–बहालको रकम बढाउने गरी सम्झौतामा उल्लेख छ ।

राखेपले उक्त जग्गामा फुटबल स्टेडियम, क्रिकेट स्टेडियम र हक्की स्टेडियम निर्माण गर्ने गरी लिजमा लिएको थियो । यद्यपि विभिन्न कारणबस हालसम्म स्टेडियम निर्माण हुन सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप