शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

२९ हजार पर्यटकले  घुमे म्याग्दी

मङ्गलबार, ०९ साउन २०८०, २० : १७
मङ्गलबार, ०९ साउन २०८०

म्याग्दी । एक वर्षको अवधिमा २९ हजार जनाभन्दा बढी पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । अघिल्लो वर्ष २०७८/७९ मा सात हजार नौ सय २६ जना विदेशी पर्यटकले भ्रमण गरेको म्याग्दीमा गत आर्थिक वर्ष २०७९/८० मा २९ हजार तीन सय २८ जना पर्यटकले भ्रमण गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा म्याग्दी भित्रने पर्यटकको सङ्ख्या २२ हजार २१ र बाहिरिनेको सात हजार तीन सय सात जना रहेको छ । घोडेपानीको पर्यटक प्रहरीचौकीका साथै बेनी, भुरुङ तातोपानी र दरवाङस्थित प्रहरीचौकीले जिल्ला भित्रने र बाहिरिने पर्यटकको विस्तृत विवरणसहितको तथ्याङ्क राख्ने गर्छन् । 

म्याग्दीमा आउने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा घोडेपानी, पुनहिल क्षेत्र पर्ने गरेको छ ।  धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोपारा, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रीय, धौलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् ।

छिमेकी पर्यटकीय जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने गर्छन् । अमेरिका, फ्रान्स, इटली, जर्मनी, कोरिया, चीन, भारत, पोर्चुगल, अस्टे«लिया, नेदरल्याडका साथै भारतीय पर्यटक धेरै आउने पर्यटकीयस्थल घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताइन् । 

“अघिल्लो वर्षको तुलनामा गत वर्ष पर्यटक आगमन बढे पनि अपेक्षाकृत होइन”, उनले भनिन्, “पथप्रर्दशक बिना पदयात्रामा जान नपाउने नियमका कारण कम आयस्रोत भएका र एक्ले घुम्न चाहने पर्यटक आएनन् ।” कोभिडपछि २०७६ यता यसपालि धेरै पर्यटक आएका हुन् । 

सबैभन्दा बढी २०७९ कात्तिकमा पाँच हजार छ सय २०, वैशाखमा पाँच हजार दुई सय २२, चैतमा चार हजार सात सय ९४, मङ्सिरमा तीन हजार २९, असोजमा दुई हजार चार सय ८५ जना पर्यटकले भ्रमण गरेका छन् । साउनमा छ सय ५२, भदौमा नौ सय ८९, पुसमा एक हजार सात सय १४, माघमा नौ सय ६१, फागुनमा एक हजार सात सय २३, जेठमा एक हजार छ सय ४९ र असारमा चार सय ९० पर्यटकले म्याग्दी भ्रमण गरेका प्रहरी कार्यालयको तथ्याङ्क छ । 

आव २०७६/७७ मा ५० हजार, आव २०७५/७६ मा ७५ हजार एक सय ९१, २०७४/७५ मा ७४ हजार सात सय ३३, २०७३/७४ मा ६९ हजार आठ सय ३७ जना विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । आव २०७२/७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ४३ हजार छ सय ३२ जना र २०७७/७८ मा शून्य थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप