सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
सेयर बजार

लगानीकर्तामा ‘कोभिड–१९’ को धङधङ्गी, कहाँ पुग्नुपर्ने हो नेप्सेको उचाई ?

राष्ट्र बैंकले सेयर बजारप्रति ‘इगो’ साध्यो !
बिहीबार, ११ साउन २०८०, १४ : ३२
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । सेयर लगानीकर्ताहरुले राष्ट्र बैंकसँग चित्त दुखाएका छन् । खास गरी आर्थिक वर्ष २०७८/७९ देखि सुरु भएको लगानीकर्ताहरुको चित्त दुखाई आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा समेत मत्थर हुन नसकेको हो । 

केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत् पहिलो पटक सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) मा थ्रेस होल्ड कायम गर्दै ४–१२ को नीति अघि सारेको थियो । 

अर्थात् सेयर धितो कर्जालाई कडाई गर्दै केन्द्रीय बैंकले एक व्यक्ति वा संस्थाले एउटा बैंक वा वित्त कम्पनीबाट सेयर धितो राखी ४ करोड रुपैयाँसम्म र सबै बैंक तथा वित्तीय संस्था गरी अधिकतम १२ करोड रुपैयाँसम्म ऋण झिक्न पाउने व्यवस्था गरिदिएको थियो । 

हो, यहीँ ४–१२ को थ्रेस होल्डको व्यवस्था नै हालसम्म पनि केन्द्रीय बैंक र आम लगानीकर्ताहरु बीचको मुख्य समस्याको जड बन्न पुग्यो । 

लगानीकर्ताहरुको तीब्र विरोधका बाबजुद् केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत् ४–१२ को तल्लो सीमा त खारेज गरिदियो तर माथिल्लो १२ करोडको सीमा भने हालसम्म पनि यथावतै छ । जुन आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत् समेत सम्बोधन नभएपछि लगानीकर्ताहरु केन्द्रीय बैंकको विरुद्धमा मैदानमै उत्रिएका हुन् । 

राष्ट्र बैंकले सेयर बजारप्रति इगो साधेर धितोपत्र बजारलाई निरुत्साहित गर्न लागि परेको लगानीकर्ताहरुले आरोप लगाएका छन् ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको बताएकी छिन् । 

मौद्रिक नीतिमा एकथरी भाषा प्रयोग गरिए पनि त्यसको दुई घण्टा पछिको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले फरक कुरा गरेर लगानीकर्तालाई कन्फ्युज बनाएको अध्यक्ष पोखरेलले आरोप लगाइन् । 

‘मौद्रिक नीतिले ४–१२ को व्यवस्था खारेज नगरे पनि जोखिमभार परिमार्जन गर्ने बताएको छ । यसले केही हदसम्म भएपनि लगानीकर्ताहरु उत्साहित नै भएका थियौं । तर, जब दुई घण्टाको फेरमा गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्दै सबैखाले अर्थात् सबै साइजका कर्जाको जोखिमभार नघट्ने उल्लेख गरे, तब प्यानिक बन्न पुग्यौं’ पोखरेलले भनिन् । 

यस अघिको ४–१२ को व्यवस्था माथिको २५ लाखको थ्रेस होल्ड नै कायम हुने हो भने फरक के भयो र ?’ उनले प्रतिप्रश्न गरिन् । 

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ४–१२ को तल्लो सीमा खारेज गर्दै यस्तो कर्जामा २५ लाखको जोखिम भारको थ्रेस होल्ड कायम गरिएको थियो । 

बैंकले मार्जिन प्रकृतिको कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाहरुले सुरुको २५ लाख रुपैयाँसम्म १०० प्रतिशत र २५ लाख रुपैयाँमाथि ( तोकिएको अन्तिम सीमा १२ करोड रुपैयाँसम्म) १५० प्रतिशत जोखिमभार कायम गर्नुपर्ने व्यवस्था गरिदिएको थियो । 

सोही व्यवस्था कार्यान्वयन हुने भएपछि लगानीकर्ताहरु राष्ट्र बैंकसँग रुष्ट हुन पुगेका हुन् ।

अध्यक्ष पोखरेलले राष्ट्र बैंकले घुमाउरो भाषा प्रयोग गरेर लगानीकर्तालाई कन्फ्युज बनाउने काम गर्दै धितोपत्र बजारलाई निरुत्साहित बनाउन खोजेको आरोप लगाइन् । 

यस्तै, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले पनि मौद्रिक नीतिले सेयर बजारको समस्या बुझ्न र मनन् गर्न नसकेको बताए । 

दुई वर्ष अघि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिकै कारण पुँजीबजार धरासायी बनाएको बताउँदै उनले ४–१२ को नीति र एकैपटक दोब्बरले वृद्धि गर्दै गर्दै कर्जाको भार औसत १५० प्रतिशत पु¥याइ दिनका कारण ३२ सय नजिक पुगिसकेको नेप्से इन्डेक्स १८ सयमा झर्न पुगेको बताए । 

लगानीकर्ताहरुमा ‘कोभिड–१९’ को धङधङ्गी

कोभिड–१९ ताका सन् २०२१/२२ मा सेयर बजार परिसूचक नेप्से हलटाइम हाई अर्थात् हालसम्मकै उच्च विन्दु ३१ सय ९९ अंकको विन्दुसम्म पुगेको थियो । जतिबेला धितोपत्र बजार पुँजीकरण (मार्केट क्यापिटलाइजेशन) नै ४५ खर्बमाथि पुगेको थियो । तर, त्यस यता नेप्से सूचक क्रमशः घट्दै १८ सय १८ को विन्दुसम्म झर्न पुग्यो ।

पछिल्लो पटक जेठ १ गते सोमबार (मे १५, २०२३) नेप्से सूचक १८ सय १८ को विन्दुमा झर्न पुगेको थियो । कुनैबेला ३२ सयको हाराहारी पुगेको नेप्से सूचक झण्डै आधा अंकले नै घट्दै १८ सयको विन्दुमा झरेपछि लगानीकर्ताहरुको होसहवास उड्न पुगेको छ । 

तपाथि केही दिन यता बढ्न थालेको नेप्से सूचक २२ सयको विन्दु छोएर पुन २१ सय ५६ अंकमा ओर्लिएको छ । 

कोभिड–१९ ताका उर्लिएको सेयर बजारको स्वाद चाखेका लगानीकर्ताहरुले लगातार नेप्से घट्न थालेपछि राष्ट्र बैंक र मौद्रिक नीति नै कारक रहेको आरोप लगाउँदै गभर्नर महाप्रसाद अधिकारीमाथि धारे हात लगाइरहेका छन् । 

गभर्नर अधिकारीलाई नै कारक मान्दै सेयर बजार विश्लेषक नवराज घिमिरेले भने, ‘महाप्रसाद अधिकारी गभर्नर हुँदासम्म पुँजी बजारमैत्री मौद्रिक नीति आउँदैन र सेयर बजारले निकास पनि पाउँदैन ।’

उनले गभर्नरको कार्यकाल सकिएपछि मात्रै नेपाली पुँजीबजारले छलाङ मार्ने जिकिर गरे ।

कहाँ पुग्नुपर्ने हो नेप्सेको उचाई ?

लगानीकर्ताहरुले मौद्रिक नीतिको विरोध गर्दै राष्ट्र बैंकमाथि निरन्तर धारे हात लगाइरहे पनि वास्तविक नेपालको पुँजी बजारको उचाई कति हो ? एकिन छैन । नेपालको पुँजी बजारको वास्तविक धरातल १७ सयदेखि २ हजारको बीचमै रहेको अर्थविद्हरुको भनाए छ । 

तर, आर्थिक वर्ष २०७७/७८ मा झण्डै ३२ सय अंकको विन्दुको स्वाद चाखेका लगानीकर्ताहरु सोही धङधङ्गीमा छन् । उनीहरुले सोही विन्दुमा नेप्से पुग्नुपर्ने रटान गरिरहेका छन् । यसका लागि सेयर बजारप्रतिको केन्द्रीय बैंकको नीति र दृष्टि दुबै फेरिनुपर्ने लगानीकर्ताहरुको माग छ । 

६० लाख माथिको लगानीकर्ताहरुको प्रत्यक्ष लगानी रहेको र ३० खर्ब रुपैयाँ बढी पुँजी परिचालन भएको सेयर बजारलाई आत्मसात गर्नुपर्ने लगानीकर्ता तथा सेयर बजार विश्लेषक छोटेलाल रौनियार बताउँछन् । 

गएको दुई वर्षमा राष्ट्र बैंकको गलत नीतिकै कारण सेयर बजारले झण्डै १७ खर्ब रुपैयाँ बराबरको लगानी गुमाउनु परेको रौनियारको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप