बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

यी राष्ट्राध्यक्ष र मुख्य नेताहरू, जसले विमान दुर्घटनामा ज्यान गुमाए

सोमबार, ०७ जेठ २०८१, १७ : २२
सोमबार, ०७ जेठ २०८१

काठमाडौँ । आइतबार राति भएको एक हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रईसीको मृत्यु भयो । उक्त दुर्घटनामा विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको पनि मृत्यु भएको छ । 

यस अघि हवाई दुर्घटनामा विश्वका कयौँ राष्ट्राध्यक्षको मृत्यु भइसकेको छ । आजको लेखमा हामी यस्तै केही राजनेताबारे कुराकानी गर्नेछौँ ।

स्विडेनका प्रधानमन्त्री अरविद ल्यान्डम्यान

सन् १९३६ मा स्विडेनका प्रधानमन्त्री सालोमन अरविद अचेट्स लिन्डेमन स्विडेनका प्रभावशाली नेता थिए । उनी रियर एड्माइरल र दुई पटक प्रधानमन्त्री थिए । तर सन् १९३६ को डिसेम्बर ९ मा विमान दुर्घटनामा उनको ज्यान गयो । डगलस डीसी–२ मा यात्रा गरिरहेको बेलामा बाक्लो कुहिरोका कारण बेलायतको क्रोइडन एयरपोर्ट नजिकैको घरहरूमा ठोक्किएर विमान दुर्घटनाग्रस्त बनेपछि उनको मृत्यु भएको थियो ।

फिलिपिन्सका राष्ट्रपति रामोन म्यागसेसे

फिलिपिन्सका सातौँ राष्ट्रपति रामोन म्याग्सेसेले सन् १९५७ मा विमान दुर्घटनामा ज्यान गुमाए । रामोन म्यागसेसे आफ्नो भ्रष्टाचार विरोधी र पपुलिस्ट नीतिका कारण जनतामाझ बढी लोकप्रिय थिए । उक्त वर्ष मार्च १७ मा उनी सी–४७ विमानमा यात्रा गरिरहेका थिए । सेबु शहरको माउन्ट मानुङ्गलमा विमान दुर्घटना भएको हो । जहाजमा सवार २५ यात्रुमध्ये एक जना मात्रै बाँचेका थिए ।

ब्राजिलका राष्ट्रपति नेरु रामोस

सन् १९५८ को जुन १६ मा ब्राजिलको अन्तरिम राष्ट्रपतिको रूपमा कार्यरत नेरु रामोसको पनि विमान दुर्घटनामा मृत्यु भएको थियो । रामोस क्रुजेइरो डो सुल एयरलाइनरमा यात्रा गर्दै थिए । पराना राज्यको कुरिटिबा अफोन्सो पेना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विमान दुर्घटनाग्रस्त हुँदा रामोसको मृत्यु भयो ।

इराकका राष्ट्रपति अब्दुल सलाम आरिफ

इराकका दोस्रो राष्ट्रपति अब्दुल सलाम आरिफको पनि विमान दुर्घटनामा मृत्यु भएको थियो । अब्दुल सलाम आरिफले १९५८ को क्रान्तिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनीहरूले राजतन्त्रलाई उखेलेर फ्याके । बसरा नजिकै  इराकी वायुसेनाको विमान डे ह्याभिल्याण्ड डएिच–१०४ डोभ दुर्घटनाग्रस्त भयो । सो दुर्घटनामा आरिफको निधन भयो । त्यसपछि उनको भाइ अब्दुल रहमान आरिफ राष्ट्रपति बने ।

ब्राजिलका राष्ट्रपति हम्बर्टाे डि अलेन्कार कास्टेलो ब्रान्को

सन् १९६७ को जुलाई १८ मा ब्राजिलका २६ औँ राष्ट्रपति हम्बर्टो डे अलेंकार कास्टेलो ब्रान्कोको मृत्यु भयो । उनी ब्राजिलको पूर्व शैन्य तानाशाहमा मुख्य व्यक्ति थिए । तर राष्ट्रपतिको कार्यकाल सकिएलगत्तै आकाशमा उडिरहेको समयमा पाइपर पीए–२३ अज्टेक ब्राजिलियन वायुसेनाको विमान लकहीड टी३३ सँग ठोक्किएर दुर्घटनाग्रस्त भयो । यस दुर्घटनामा ब्रान्कोको मृत्यु भयो । उनको मृत्युको घटना विवादास्पद रह्यो । उनको मृत्युको षडयन्त्र गरिएको अफवाहहरू पनि बाहिरिएका थिए ।  

भारतीय राजनीतिज्ञ र कांग्रेस नेता सञ्जय गान्धी

भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीका कान्छा छोरा सञ्जय गान्धीको पनि विमान दुर्घटनामा मृत्यु भएको थियो । २३ जुन १९८० मा दिल्लीको सफदरजंग एयरपोर्टमा सञ्जयले विमानको नियन्त्रण गुमाउँदा विमान दुर्घटना भयो । यस क्रममा उनको ज्यान गयो ।

लेबनानका प्रधानमन्त्री राशिद करामी

लेबनानमा सबैभन्दा धेरै पटक निर्वाचित प्रधानमन्त्री बनेका व्यक्ति हुन् राशिद करामी । लेबनानी गृहयुद्धमा उनले मुख्य भूमिका खेलेका थिए । सन् १९८७ को जुन १ मा एक विमान दुर्घटनामा उनले ज्यान गुमाए । बेरुत जाने क्रममा उनको हेलिकप्टरमा बम विस्फोट भएको थियो । यस घटनामा राशिद करामीको मृत्यु भएको थियो भने विमानमा सवार अन्य कयौँ यात्रु घाइते भएका थिए । 

पाकिस्तानका राष्ट्रपति मुहम्मद जिया–उल–हक

पाकिस्तानका छैटौं राष्ट्रपति जनरल मोहम्मद जिया उल हकको विमान बहावलपुरबाट उडेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो । यो घटना सन् १९८८ को अगस्ट १७ मा भएको हो । विमान दुर्घटनामा उल हकको मृत्यु भयो । विमान दुर्घटनाको कारण अहिलेसम्म रहस्यमय नै रहेको छ ।

भारतीय राजनीतिज्ञ र कांग्रेस नेता माधवराव सिन्धिया

भारतका प्रख्यात राजनीतिज्ञ तथा कंग्रेसका सदस्य माधवराज सिन्धियाको पनि विमान दुर्घटनामा मृत्यु भएको थियो । सन् २००१ को सेप्टेम्बर ३० मा विमान दुर्घटनामा उनले ज्यान गुमाएका थिए । उत्तर प्रदेशको मैनपुरी नजिकै आकाशमा उडिरहेकै समयमा सिन्धियाको निजी विमान बिचक्राफ्ट किङ एयर सी९० मा आगो लागेको थियो ।

चिलीका राष्ट्रपति सेबास्टियन पिनेरा

चिलीका पूर्व राष्ट्रपति सेबास्टियन पिमेराको सन् २०२४ को फेब्रुअरीमा विमान दुर्घटनामा मृत्यु भएको थियो । पिनेराको हेलिकप्टर दक्षिणी चिलीको एउटा तालमा दुर्घटनाग्रस्त भएको थियो । पिनेरा चिलीको राजनीतिमा एक महत्त्वपूर्ण व्यक्तित्व थिए । उनी दुई कार्यकाल राष्ट्रपति बनेका थिए ।

एजेन्सीहरूको सहयोगमा

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप