शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
सन्दर्भ : बाघ दिवस

बढ्यो बाघको संख्या : मानवसँगको द्वन्द्व कसरी घटाउने ?

शनिबार, १३ साउन २०८०, १० : ४६
शनिबार, १३ साउन २०८०

पृथ्वीमा विचरण गर्ने बिरालोहरूमध्ये सबैभन्दा ठूलो हो, पाटेबाघ । नेपालमा पाइने अनेक प्राणीमध्ये बाघ एक दुर्लभ र लजालु स्वभावको प्राणी हो । बलिष्ठ शरीर र अभूतपूर्ण रङ संयोजनले गर्दा बाघ ज्यादै आकर्षक देखिन्छ । हाम्रो पूर्वीय सभ्यताको धर्म–संस्कृति र परम्परामा यसको अलौकिक स्थान रहन गएको छ । 

कुनै समयमा बंगाल, साउथ चाइना, इन्डो–चाइनिज, अमुर, मलेयन, सुमात्रन, जाभन, क्यास्पियन र बाली गरी यसका नौ वटा उपप्रजाति पाइन्थ्यो । अहिले यसमध्ये बाली, क्यास्पियन र जाभन गरी तीनवटा उपप्रजाति संसारबाट लोप भइसकेका छन् । 

१९औँ शताब्दीको सुरुमा बाघको अनुमानित संख्या एक लाखको आसपास थियो । वासस्थान विनाश र चोरी–सिकारका कारण यसको संख्या उल्लेख्य रूपमा घट्न गयो र वासस्थान पनि लगभग ९३ प्रतिशतले कम भएको अनुसन्धानले देखाएका छन् । 

बाघको संख्या घटेसँगै सन् २०१० मा रसियाको सेन्ट पिटर्सबर्गमा बाघ पाइने १३ मुलुकका राष्ट्राध्यक्षले २०२२ सम्म यसको संख्यालाई दोब्बर बनाउने प्रतिबद्धता गरे । यस सम्मेलनमार्फत बाघ पाइने देशमा यसको संरक्षणका लागि दरिलो राजनीतिक इच्छा शक्ति छ र अन्तर्राष्ट्रिय रूपमा साझा धारणा बनाउन सकिन्छ भन्ने कुरा स्थापित भयो । सो सम्मेलनपछि हरेक वर्ष जुलाई २९ का दिन विश्व बाघ दिवसको रूपमा विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाइन्छ ।

नेपालमा पाइने बाघ बंगाल उपप्रजाति हो । यसलाई रोयल बंगाल टाइगर पनि भनिन्छ । संसारमा बाँकी रहेका उपप्रजातिमध्ये यो सबैभन्दा धेरै संख्यामा पाइन्छ । यसको मुख्य वासस्थान भनेको नेपाल साथै भारत, बंगलादेश र भुटानका उष्ण तथा उपोष्ण वनहरू हुन् । 

नेपालमा पाटेबाघ खासगरी तराई भू–परिधिको पूर्वमा वागमतीदेखि पश्चिममा महाकाली नदीसम्मको क्षेत्रमा पाइन्छन् । यस क्षेत्रमा पर्ने विभिन्न राष्ट्रिय निकुञ्ज तथा आसपासका वन यसको मुख्य वासस्थान हो । तराईका पाँचवटा राष्ट्रिय निकुञ्ज पर्सा (४१), चितवन (१२८), बाँके (२५), बर्दिया (१२५) र शुक्लाफाँटा (३६) गरी हाल नेपालमा बाघको संख्या ३५५ रहेको छ । हाल केही वर्षयता डिभिजन वन कार्यालयहरू र साझेदार संस्थाहरूले राष्ट्रिय निकुञ्जभन्दा बाहिरको वनहरूमा गरेको सर्वेक्षणमा बाघ मध्यपहाडी क्षेत्रको डडेल्धुरा जिल्लासम्म पनि अभिलेख भएको छ । 

सन् २०१० मा एक सय २१ वटा बाघ रहेकामा अहिले ३५५ पुग्दा नेपाल बाघको संख्या दोब्बर मात्र होइन, झन्डै तीन गुणा गर्ने पहिलो राष्ट्र बन्न सफल भयो । यो सफलता सानो प्रयासले प्राप्त भएको भने होइन । यसमा नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, साझेदार संघ–संस्था र विशेष गरी स्थानीय समुदायको अहं भूमिका छ । यस सफलताबाट सम्बन्धित निकायले समन्यव र सहकार्य गरे बाघ संरक्षणजस्तो प्राविधिक तर हामी सबैको साझा भविष्यसँग जोडिएको विषयमा उत्कृष्ट नतिजा निक्लन सक्छ भन्ने कुरा प्रमाणित भएको छ । 

बाघ स्वस्थ वन र वातावरणको सूचक हो । एक वयस्क बाघले वर्षमा सरदर ५० वटा मृग प्रजातिको सिकार गर्छ । चित्तलजस्तै अन्य जरायो, बँदेल, लगुना, रतुवा जस्ता आहारा प्रजातिले घाँस, बोटबिरुवा खाने र यिनलाई बाघले खाने हुनाले पारिस्थिकीय प्रणालीमा यो सबैभन्दा उच्च स्थानमा हुन्छ । जंगलमा भएका हाम्रा स्वस्छ पानीका मुहानहरू, खोलानाला, हामीले श्वास फेर्नका लागि आवश्यक अक्सिजनका लागि चाहिने रूखहरू यी सम्पूर्णको अभिभावकका रूपमा रहने भएर बाघलाई जंगलको राजा भनिन्छ । जंगलमा यसको संख्या राम्रो हुनु भनेको सम्पूर्ण प्रणाली सही तरिकाले चलेको छ भनेर मान्न सकिन्छ । त्यसैले बाघ संरक्षण गर्दा यी सबैको संरक्षण हुन्छ । यसकारण पनि बाघ को संरक्षणमा अरु जनावरको तुलनामा धेरै आर्थिक लगानी हुने गर्छ ।

नेपालको वन्यजन्तु संरक्षणसम्बन्धी सरकारी र गैरसरकारी निकायले धेरै अघिदेखि नै बाघलाई मुख्य प्रजातिका रूपमा राखेर यसको संरक्षण र संख्या वृद्धिका लागि कार्यक्रम गर्दै आएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले पनि बाघलाई संरक्षित जनावरको रूपमा सूचीकृत गरेको छ । यसको चोरी–सिकार गर्नेलार्ई ५ देखि १५ वर्षसम्मको कैद वा ५० हजारदेखि एक लाख रुपैयाँ जरिवाना अथवा दुवै दण्ड सजायको व्यवस्था छ । 

नेपालमा वैज्ञानिक तवरले सबैभन्दा पहिले अध्ययन र अनुसन्धान थालिएको जनावर बाघ नै हो । सन् १९७० को दशकमा नेपाल सरकार र सिम्थसोनियन इन्स्टिच्युसनले दीर्घकालीन बाघ अनुगमन परियोजनाअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जमा बाघसम्बन्धी अनुसन्धानका कार्य गरेको थियो । यो अनुसन्धानले बाघको जीव विज्ञानसम्बन्धी महत्त्वपूर्ण तथ्य उजागर गरेको थियो । अहिले पनि विभिन्न सरोकारवालाले बाघ संरक्षणमा धेरै थरी संरक्षणका कार्यक्रम सञ्चालन गरिरहेका छन् । 

बाँके राष्ट्रिय निकुञ्जको स्थापना, पर्सा वन्यजन्तु आरक्षको क्षेत्र विस्तार, व्यवस्थित र वैज्ञानिक रूपमा गरिने गस्ती, मानव–वन्यजन्तु द्वन्द्व पीडितले पाउने रकममा समयानुसारको वृद्धिजस्ता कार्यले नेपाल सरकारको बाघ संरक्षणप्रतिको दृढताको पुष्टि गर्छ । यसका साथै प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय बाघ संरक्षण समिति साथै चोरी सिकार र अवैध व्यापार नियन्त्रणका लागि वन्यजन्तु अपराध नियन्त्रण ब्युरोको गठनले बाघ संरक्षणको प्रयासतर्फ राज्य संवेदनशील छ भन्ने प्रस्ट पार्छ । 

बाघको संख्यामा निरन्तर वृद्धि हुनु भनेको संरक्षणका प्रयास सही दिशातर्फ अग्रसर छन् भन्ने संकेत हो । त्यसैगरी कन्सर्भेसन अस्युर्ड टाइगर स्ट्यान्डड्र्स (क्याट्स)बाट नेपालको चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज बाघ र बाघको वासस्थानका लागि उत्कृष्ट भनी सम्मानित हुनु अन्तर्राष्ट्रियस्तरमा नेपालले पाएको सफलता अनुमोदित हुनु हो ।  

बाघको संरक्षण सजिलो विषय होइन । यसका धेरै आयाम छन् र हरेकमा फरक जटिलता छन् । सबैभन्दा महत्त्वपूर्ण विषय हो, अवैध चोरी सिकार । अझै पनि दक्षिण पूर्वी एसियाली मुलुकमा बाघको छाला र अन्य अंगका लागि ठूलो माग छ । त्यहाँको पारम्परिक चिकित्सा प्रणालीअन्तर्गत औषधिमा बाघको अंग एकदमै प्रभावकारी तत्त्वको हो भन्ने मान्यता छ । विज्ञानले यस्ता कुरालाई खण्डन गरिसकेको र बाघका अंगहरूमा त्यस्ता कुनै रासायनिक खुबी छैनन् भनि प्रस्ट पारिसकेको छ, तर मानिसको सोच र अन्धविश्वास चिर्न लामो समयको खाँचो हुन्छ । 

बाघ भएका देशमा उपभोक्ता जागरण अभियान सञ्चालन गरे बाघका अंगहरूको माग घटी बाघको भविष्य सुरक्षित हुन्छ । बाघ मार्ने अपराधमा समातिएका अति विपन्न र सीमान्तकृत समुदायका मानिस हुन्छन् । यस्ता समुदायमा मरेको भन्दा जीवित बाघ हालका लागि र भावी सन्ततिका लागि समेत महत्त्वपूर्ण हो भनेर सञ्चार गर्नुपर्छ ।

मानव–बाघ द्वन्द्व पछिल्लो समयमा एक टड्कारो समस्याको रूपमा उदाउँदै छ । हालको समयमा बाघको मुख्य वासस्थान विशेषतः निकुञ्जहरू घना मानव बस्तीको बीच सानो–सानो टापुका रूपमा रहेको छ । मानव जनसंख्या बढ्दो छ भने हाम्रो संरक्षणको नीति तथा प्रयास बाघको संख्या बढाउनेतर्फ उन्मुख छन् । यस्तो अवस्थामा द्वन्द्वको स्थिति उत्पन्न हुनु स्वाभाविक हो, तर समयमै सही कार्यक्रम तर्जुमा गरेर लागू गर्न सके यसबाट हुने क्षतिलाई कम गर्न सकिन्छ । 

बाघ भद्र र लजालु स्वभावको प्राणी हो । यसले सितिमिती मानिसलाई आक्रमण गर्दैन । स्वस्थ र तन्दुरुस्त बाघले खोजिखोजी मान्छेको सिकार कहिल्यै गर्दैन, तर बाघ बूढो र घाइते भएको अवस्थामा आफ्नो प्राकृतिक आहारा समात्न असक्षम हुन्छ र सजिलो आहाराका लागि मानिसलाई आक्रमण गर्छ, अथवा पालेका घरपालुवा भैँसी–गाई आक्रमण गरिखान्छ । यसबाहेक बाघको संख्याको विस्तार हुँदै जाँदा हुर्किंदै गएको अर्ध वयस्क बाघहरूलाई आवश्यक पर्ने ठाउँ नभेट्दा जंगलको छेउमा र गाउँनजिक पुग्छन् र त्यहाँ मानिससँग द्वन्द्वको स्थिति सिर्जना हुने देखिएको छ । 

मानव–बाघ द्वन्द्व समाधानका दुइटा पक्ष रहन सक्छ । एउटा, द्वन्द्व हुन नदिने ‘रोकथामको विधि’ भने अर्को भइसकेको द्वन्द्वलाई सही ‘व्यवस्थापन विधि’ ।

रोकथामको विधिमा बाघको आवश्यकतालाई विचार गरी वासस्थानको सही विस्तार र आममानिसमा बाघको आक्रमणबाट बच्ने सूचना दिनेजस्ता कार्य पर्न सक्छ । यस्ता कार्यक्रम विशेषगरी प्रत्यक्ष रूपमा वनमा आश्रित हुने निम्न आयस्तर भएकातर्फ लक्षित गर्नुपर्छ । 

व्यवस्थापनको विधिअन्तर्गत द्वन्द्वको सही व्यवस्थापनका लागि समस्याग्रस्त जनावर उद्धार गर्ने सक्षम प्राविधिकको टोली खटाउने तथा द्वन्द्वपीडितका लागि सकेसम्म प्रक्रिया सरल गरी छिटो राहत रकम उपलब्ध गराउने गर्नुपर्छ । यसले द्वन्द्व समाधानमा ठोस योगदान पुग्नेछ ।

चुनौती

नेपालले बाघ संरक्षणमा उल्लेख्य सफलता पाए पनि अझै थुप्रै चुनौती छन् । खासगरी बाघको संख्या बढेसँगै निकुञ्जभन्दा बाहिरका क्षेत्र (जिल्ला वन तथा मध्यवर्ती वन) कसरी बाघका लागि सुरक्षित गर्न सकिन्छ भन्नेतर्फ विशेष ध्यान दिन जरुरी देखिन्छ । यस्ता क्षेत्र समुदायका मानिसको जीविकोपार्जनका हिसाबले पनि महत्त्वपूर्ण हुने हुनाले बाघसँगको द्वन्द्वका हिसाबले पनि संवेदनशील छन् । बाघले कुन तरिकाले वन र आफ्नो वासस्थानको प्रयोग गरेको छ, मानिसको वस्ती नजिक विचरण गर्ने गरेको छ वा छैन, जलवायु परिवर्तनले बाघमा कस्तो असर परेको छ, कस्ताखाले रोगको बाघ सिकार हुन सक्छ र सडक, पुल र सिँचाइ नहरजस्ता संरचनाले बाघको विचरणमा कस्तो प्रभाव परेको छ जस्ता धेरै विषय छन्, जसको अनुसन्धान आवश्यक छ । 

बाघ संरक्षणको सामाजिक र मानवीय पाटोको अनुसन्धानलाई पनि अघि बढाउनुपर्ने देखिन्छ । मानव–बाघ द्वन्द्व कम गर्नका लागि सीमान्तकृत समुदाय (थारु, बोटे, दराई आदि)लाई प्राथमिकतामा राख्ने र जोखिमपूर्ण गतिविधि कसरी कम गर्न सकिन्छ भन्नेतर्फ द्वन्द्व संवेदनशील क्षेत्र पहिचान गरी विशेष कार्यक्रम लागू गर्नुपर्छ । 

अध्ययनहरूमा आधारित भएर तथ्यांक विश्लेषण गरी रणनीति तर्जुमा गरे बाघ संरक्षणमा प्राप्त गरेको सफलतालाई सुनिश्चित गर्दै बाघको दिगो संरक्षण र द्वन्द्व न्यूनीकरणमा सफलता प्राप्त गर्न सकिन्छ । यस प्रक्रियामा नेपाल सरकारले अब जारी गर्ने बाघ संरक्षण कार्ययोजनाले निश्चय पनि सबै सरोकारवालालाई निर्दिष्ट गर्नेछ । 

बाघ जोगाउने अभियान प्रत्यक्ष रूपमा वन–जंगलको दिगो संरक्षणसँगै मानव भविष्यसँग पनि जोडिएको विषय हो । त्यसकारण यसका लागि समाजका सबै पक्ष एकजुट भएर निरन्तर रूपमा अघि बढी भावी पुस्ताका लागि यसको संरक्षण गर्नुको विकल्प छैन ।

(लेखक डब्लुडब्लुएफ नेपालसँग आबद्ध छन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शशांक पौडेल
शशांक पौडेल
लेखकबाट थप