मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

डेंगु महामारी दोहोरिरहने, शिक्षा भने नलिने

सोमबार, १५ साउन २०८०, ०९ : ०७
सोमबार, १५ साउन २०८०

डेंगु नेपालमा पहिलो पटक देखियो भन्ने समाचार प्रकाशित भएको भोलिपल्ट मेरो जापान अध्ययनको यात्रा सुरु भएको थियो । अध्ययनको सिलसिलामा मेरो प्रोफेसरले (हाम्रो विभाग) आयोजना गरेको ‘अमेरिकी-जापान भाइरल डिजिज’ वैज्ञानिक सम्मेलनमा पहिलो पटक चिकुनगुनिया भाइरस सम्बन्धी अनुसन्धान गरिरहेका प्रख्यात वैज्ञानिकसँग भेट हुने सु-अवसर पाएको थिएँ । त्यसबेला चिकुनगुनिया कस्तो भाइरस होला भन्ने लाग्थ्यो भने नेपाल आएपछि यही भाइरस पहिलो पटक पत्ता लगाउने मौका आफैले पाए। नेपालमा डेंगु र चिकुनगुनिया भाइरसले आफ्नो उपस्थिति जनाएको पनि क्रमशः १९ औँ  र १० औँ वर्ष पुगिसक्दा पनि अहिलेसम्म हामीले खासै चासो दिन भने सकेका छैनौँ ।

यसको ज्वलन्त उदाहरण हाल धरानलाई इपीसेन्टर बनाएर भुसको आगो सरह फैलिरहेको जटिल डेंगुलाई लिन सकिन्छ। डेंगु र चिकुनगुनिया दुवै भाइरस एडीस जातको लामखुट्टेले सार्ने गर्दछ। दुवैको लक्षण एक अर्कासँग धेरै हदसम्म मिल्दोजुल्दो हुने गर्दछ। तर हाल यी दुई भाइरस परीक्षणबाट छुट्याउने गर्ने गरिएको भने छैन । हुन त गत वर्ष काठमाडौँ डेंगु महामारीमा पनि छुट्याएको भने थिएन । तर डेंगुसँग मिल्दोजुल्दो लक्षण भएका तर डेंगु नेगेटिभ बिरामीहरू धेरै देखिएका थिए । र सम्भवतः उनीहरूमा चिकुनगुनिया भाइरसको उच्च सम्भावनालाई नकार्न सकिँदैन।               

हाल धरानमा डेंगुले व्यापकता पाइरहेको अवस्थाबाट लामखुट्टेको लार्भा अवस्था नष्ट गर्नबाट चुकेको अनुमान गर्न सकिन्छ ।

डेंगु वा चिकुनगुनिया भाइरस नियन्त्रण गर्ने प्रयास एडीस जातको लामखुट्टेको लार्भा नष्ट नगरी सम्भव छैन । यसको मुख्य कारण यसको (लामखुट्टे) सक्रियता दिनमा बढी हुनु हो । विगतमा लामखुट्टेबाट बच्च हामीले राति सुत्ने बेलामा झुलको प्रयोग गर्ने गरिन्थ्यो । यसबाट लामखुट्टेको टोकाइबाट पनि धेरै हदसम्म बचिन्थ्यो । तर डेंगु र चिकुनगुनिया भाइरस फैलाउने एडीस जातको लामखुट्टेको टोकाई दिनमा बढी हुने हुँदा र सो समयमा सबै काममा व्यस्त हुँदा टोकेको थाहा नपाउने वा टोकेपछि मात्र थाहा पाउने हुन्छ । तसर्थ लामखुट्टे वृद्धि विकास हुने समय विशेषत: मनसुन सुरु हुँदा नै लामखुट्टेलाई लार्भा अवस्थामा नै नष्ट गरिसक्नु पर्दछ।

लार्भा अवस्थाभन्दा अगाडी लामखुट्टेको अन्डालाई आँखाले ठम्याउन गाह्रो हुने र वयस्क अवस्थामा पुगिसके पछि लामखुट्टे नष्ट गर्न व्यवहारिक रूपमा सम्भव हुँदैन । हाल धरानमा डेंगुले व्यापकता पाइरहेको अवस्थाबाट लामखुट्टेको लार्भा अवस्था नष्ट गर्नबाट चुकेको अनुमान गर्न सकिन्छ । र सम्भवतः लामखुट्टे घर घरमा पुगिसकेको हुनुपर्दछ। त्यहाँ घरका अधिकांश परिवार एक पछि अर्को सङ्क्रमित हुनुले पनि यही सङ्केत गर्दछ।

गत वर्ष काठमाडौँ डेंगु महामारीमा पनि यही गल्ती वा समस्या देखिएको थियो अर्थात् लार्भा नष्ट गर्ने जाँगर कहीँ कतैबाट नै भएन। तर दुर्भाग्यवश, कहीँ कसैले पनि काठमाडौँ महामारीमा कसरी र कहाँ चुक्यौ भन्ने विश्लेषण गर्ने प्रयास नै गरेनौ। हाल धरान डेंगु महामारी अन्तिम महामारी भने हुने छैन। यसर्थ पनि काठमाडौँ र धरान महामारीबाट लेसन-लर्न गर्नु अनिवार्य नै छ।                  

नयाँ नयाँ महामारीसँगै डेंगुले ‘जटिल स्वरूप’ पनि लिँदै गइरहेको देखिन्छ । सन् २०१९ मा धरान र काठमाडौँमा महामारीमा फैलँदा गत वर्षको काठमाडौँ महामारीमा जस्तो जटिल डेंगु देखिएको थिएन। अहिले धरानमा फैलँदै गइरहेको महामारी पनि सम्भवतः गत वर्षको काठमाडौँ महामारीमा जस्तो धेरै सङ्क्रमितमा जटिल डेंगु देखिन सक्ने प्रबल सम्भावना देखिन्छ । अर्थात् धरानको हालको तथ्याङ्कमा जटिल र मृत्यु हुनेको सङ्ख्या आगामी दिनहरूमा थपिँदै जान सक्ने आँकलन गर्न सकिन्छ ।

नेपालमा बर्सेनि डेंगुले थप जटिल स्वरूपमा आफूलाई ढल्दै गइरहेको देखिन्छ।

हाल धरान महामारीमा सन् २०१९ को भन्दा फरक डेंगु सेरोटाईप सक्रिय भएको रहेछ भने यो आँकलन अरू सत्य साबित हुने सम्भावना प्रबल हुनेछ। तर यो लेख तयार पार्दै गर्दा डेंगुको कुन सेरोटाईप हाल धरान महामारीको कारक बनिरहेको छ भन्ने सार्वजनिक भैसकेको भने छैन । काठमाडौँमा महामारीको अन्त सँगै मात्रै सेरोटाईप सार्वजनिक भएको थियो।तर सेरोटाईप महामारीको सुरुवाती समयमा नै सार्वजनिक गर्न सके वा गरिएको भए चिकित्सक, बिरामी तथा नीति-निर्मातालाई डेंगु व्यवस्थापनमा धेरै सहयोगी हुने थियो ।

जस्तै, डेंगु सेरोटाईप विगतको भन्दा फरक भए चिकित्सकले बिरामीलाई सतर्कता अपनाउन सुझावहरू दिन सक्नेछन्। त्यस्तै सबै सङ्क्रमित बिरामीहरू भर्ना हुने अवस्था नरहने हुँदा घरमा थप सतर्कता अपनाउन आवश्यक हुनुपर्ने रहेछ भन्ने हुन्थ्यो र स्वस्थ असहजता देखिए तुरुन्त अस्पताल आउन सक्ने छन् । कोभिड-१९ महामारीमा पनि अधिकांश बिरामीहरू घरमा बस्दथे भने विशेष स्वास्थ्य समस्याहरू देखिए तुरुन्त अस्पताल आउने गर्दथे। नीति-निर्माताहरुले पनि अस्पताललाई थप सशक्त पार्ने र आवश्यक जनशक्ति/ स्वास्थ्य-सामग्रीको अनुमान र आवश्यकताको आधारमा व्यवस्थापन गर्न सहज हुनेछ/हुने थियो।

महामारी हुँदा मात्र आत्तिने तर सकिए पछि बिर्सिने बानी यथावत् रहने हो भने आगामी वर्षको महामारीमा जटिल डेंगुबाट अघिल्लो वर्षहरूको महामारीमा भन्दा बढी मानवीय क्षति नहोला भन्न सकिँदैन।

डेंगु एक असाध्य/एकदमै पीडादायक सङ्क्रामक रोग हो । जो सङ्क्रमित भयो उसलाई शारीरिक पिडाको बोध कतिसम्म हुन्छ भन्ने कुरा गत वर्ष लेखकलाई धेरै बिरामीले भनेकोबाट थाहा हुन्छ। यस्तो शारीरिक पिडा शत्रुलाई पनि नहोस् भन्ने गरेको लेखकलाई अहिले झैँ लाग्दछ। अचानक उच्च ज्वरो आउनु, टाउको फुट्ला जस्तो गरी दुख्नु, आँखाको गेडी खस्ला जस्तो हुनु/दुख्नु, ढाडको तल्लो भाग असाध्य दुख्नु, खुट्टाको पिँडुलामा असह्य दुख्नु , शरीरमा स-साना बिबिरा देखिनु, खान मन नलाग्नु, पखाला लाग्नु, वाक वाक वा बान्ता हुनु, डेंगुका प्रारम्भिक तथा धेरैमा देखिने लक्षणहरू हुन। यस मध्ये कतिपयमा डेंगु जटिल अवस्थातिर जाने गर्दछ ।

विशेषत: तारनतार/ निरन्तर बान्ता हुनु, पेट असाध्य दुख्नु, गिजा/नाक (अरू अंगबाट ) रगत बग्नु, असाध्य थकित/आलस्य हुनु जटिल वा डेंगुको ‘चेतावनीको सङ्केत’को रूपमा लिने गरिन्छ। यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सम्पर्कमा वा अस्पताल जानु पर्दछ। यो अवस्था गत वर्ष काठमाडौँका धेरै बिरामीमा देखिएको थियो। अर्थात् विगतको महामारीमा भन्दा बढीमा देखिएको थियो। 

अन्तमा, नेपालमा बर्सेनि डेंगुले थप जटिल स्वरूपमा आफूलाई ढल्दै गइरहेको देखिन्छ। अझ यसलाई यसरी बुझौँ कि आगामी वर्षहरूमा डेंगु महामारी नेपालको लागि थप पीडादायक हुने निश्चित प्राय देखिन्छ। फेरि पनि हामीले यसको कारण, उपायहरू, विश्लेषण, तत् अनुसार ठोस योजना बनाउने वा बनाएको भए त्यसको कार्यान्वयन गर्ने तर्फ खासै चासो दिएको देखिँदैन। काठमाडौँ लगतै धरानमा फैलिरहेको जटिल डेंगुको महामारी यसैको ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ । महामारी हुँदा मात्र आत्तिने तर सकिए पछि बिर्सिने बानी यथावत् रहने हो भने आगामी वर्षको महामारीमा जटिल डेंगुबाट अघिल्लो वर्षहरूको महामारीमा भन्दा बढी मानवीय क्षति नहोला भन्न सकिँदैन।

लेखक  शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप