मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सोह्रौँ योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिन्छौँ : उपाध्यक्ष श्रेष्ठ

सोमबार, १५ साउन २०८०, १६ : ४०
सोमबार, १५ साउन २०८०

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले सोह्रौँ योजना कृषि क्षेत्रलाई प्राथमिकता दिनेगरी बनाउने बताएका छन् ।  

सोमबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले सोह्रौँ योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिने बताएका हुन् । त्यसको लागि यस आर्थिक वर्षको बजेटबाट नै तयारी थालिएको उनले बताए । उनले यो आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारीका विशेष कार्यक्रम घोषणा भएको उल्लेख गर्दै एउटा पालिकामा दुई वटाका दरले कार्यक्रम अगाडि बढाउने बताए । 

उपाध्यक्ष श्रेष्ठले आगामी वर्षहरुमा देशैभरी कृषि, पशुपक्षी पालन, जडिबुटी, साना घरेलु, लघु र मझौला उद्योगहरुका कार्यक्रमहरुमा जोड दिइने बताए । त्यस्तै होटल, एग्रो, रिसोर्टहरु र सूचना प्रविधिमा आधारित सम्पूर्ण उद्योगहरुलाई नेटवर्किङ गरेर ठूल्ठूला कार्यक्रमहरु खोल्ने कार्यक्रमहरु राखिने उनले बताए । उनले सामुहिकतालाई जोड दिनेगरी अगाडी बढ्नुपर्ने पनि बताए । 

उपाध्यक्ष श्रेष्ठले कृषिको उत्थान भयो भने उद्योगको पनि उत्थान हुने र अर्थतन्त्रमा विकास हुने बताए ।

उपाध्यक्ष श्रेष्ठले विकास निर्माणका काम गर्न नीतिगत रुपमा पनि समस्याहरु आउने भन्दै त्यसको समाधान गर्नुपर्ने अवस्था आएको बताए । यसका लागि विकास विधेयक तर्जुमा भइराखेको उनले बताए । उनले राष्ट्रिय योजना आयोगले विकास आयोजनाहरुको अनुगमन गरेर दिएको प्रतिवेदन समेत कार्यान्वयन नहुने गरेको बताए ।

उपाध्यक्ष श्रेष्ठले राष्ट्रिय योजना आयोगले आयोजना वर्गीकरण र आयोजना बैंकको कार्यविधि ड्राफ्ट गरेर  मन्त्रिपरिषद्मा पठाएको र मन्त्रिपरिषद्बाट पारित हुने क्रममा रहेको बताए । सो कार्यविधि पारित भएमा स्थानीय तह, प्रदेश र संघले विकास निर्माणको कुन–कुन काम गर्ने भन्नेमा प्रष्ट हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप