बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
पुस्तक सन्दर्भ

लीलबहादुरको बसाइँ उपन्यास र हाम्रा भोगाइ

मङ्गलबार, १६ साउन २०८०, ११ : ३०
मङ्गलबार, १६ साउन २०८०

हाम्रो कलेज जीवन निकै रमाइलो गरी बित्यो । अहिलेका विद्यार्थीहरूको पनि कलेज जीवन त्योभन्दा अझ रमाइलो हुनुपर्छ । हमीले कलेज पढ्दाको समयमा अहिलेको जस्तो विज्ञान प्रविधि थिएन, सामाजिक सञ्जालहरू थिएनन् । मनोरञ्जनका साधन भनेको केवल साहित्यका पुस्तक मात्र थिए । कलेज जीवनमै हामीले लीलबहादुर क्षत्रीको बसाइँ उपन्यास अध्ययन गरेका थियौँ । त्यो उपन्यासले नेपाल र भारतका धेरै ठाउँमा निकै चर्चा पाएको थियो । यसले हामी विद्यार्थीको मन धेरैको छोएको थियो । 

त्यतिबेला अहिलेको जस्तो प्रशस्त आम्दानीका विकल्प थिएनन् । त्यसैले सबै पुस्तक किनेर पढ्ने क्षमता हरेक विद्यार्थीसँग हुँदैन थियो । तर पनि हामीले त्यो उपन्यास खोजेर, मागेर पढ्यौँ । 

उपन्यास आकारका हिसाबले निकै सानो थियो । तर त्यसमा गाउँलेका धेरै कथाव्यथा समेटिएका थिए । त्यो पढ्दा निकै नरमाइलो लाग्थ्यो । सो उपन्यासमा जसरी कोही मानिस पनि बसाइँ सर्न नपरोस् भन्ने मनमा आउँथ्यो । बसाइँ सरेर जानुपर्दा आफू जन्मिएको थातथलो, साथीभाइ, आफूले लडीबुडी खेली आएको ठाउँ, गाउँबेँसी गरेका खहरे र सपाट भूमि अनि भीरपाखा, वन, जङ्गल सबै आफूलाई माया गर्ने वस्तु सदाका लागि छोडेर हिँड्नु पर्दा सबैलाई नराम्रो अवश्य लाग्छ । 

लीलबहादुरको बसाइँ उपन्यासले त्यस समयको सामाजिक अवस्थाबारे  सचित्र प्रस्तुत गरेको छ । सानो भूगोलभित्र मानिसले जिन्दगी गुजार्नु बाध्यता हो । गाँस, बास र कपासको समस्या समाधन गर्न नसक्दा मानिस भौँतारिनु पर्दथ्यो । जिउन धौ धौ परेपछि मानिस बाँच्नका बसाइँ सर्नु बाध्यता हो । अहिले पनि लीलबहादुर क्षेत्रीको बसाइँ पढ्दा त्यसमा प्रयोग गरिएका पात्रका कथाव्यथाले चस्स मन दुखाउँछ ।

अहिले पनि गाउँघरमा बसाइँ सर्ने प्रवृत्ति रोकिएको छैन । कोही मधेश झरेका छन् । कोही भारत पसेका छन् । तर उनीहरू रहरले बसाइँ सरेका होइनन् । बाध्यताले गएका हुन् । आफ्नो जन्मभूमि छोड्न बाध्य पारिएका हुन् । त्यसैले अहिले पहाडबाट बेँसी र बेँसीबाट तराई झर्नेको लामो ताँती देखिन्छ । आफ्नो रगत, पसिना र दस नङ्ग्रा खियाएको ठाउँलाई चटक्कै छोडेर जान कसको मन हुन्छ ? तर मानिसहरू विवश छन्  । आफ्नै नाभी गाडिएको जन्मथलो छोडेर बसाइँ सर्नुका अनेक कारण हुन सक्छन् । 

कतिपय मानिस भौतिक सुखसयलको खोजीमा बसाइँ सर्छन् । तर धेरै चाहिँ  सामाजिक र आर्थिक रुपमा विभेद खप्न नसकेर आफ्नो जन्मस्थल छोड्छन् । नेपालमा अधिकांश मानिस गरिबीका कारण बसाइँ सरेका छन् । सामाजिक विभेद सहन नसकेर हिँडेका हुन्छन् । यस्ता असहायहरूलाई हाम्रो कानुनले पनि चिन्न सक्दैन । कानुन पनि उनीहरूका पक्षमा हुँदैन । यिनै कारण आफ्नै जन्मथलो त्याग्नमा नै आफ्नो कल्याण देख्छन् । 

बसाइँ उपन्यासमा भन्दा धेरै पीडा अहिले पनि मानिसले खेपिरहेका छन् । उनीहरूले सहानुभूतिसम्म पाएका छैनन् । बसाइँ सर्दासमेत आफ्नै खुसीले त थातथलो छोडेका हुन् भन्छन् । आफ्नो गाउँठाउँमा कुनै किसिमको सहयोगै पाउँदैनन् ।  सधैँ तिरस्कार र घृणाले जेलिएर बस्नुभन्दा त कुनै अपरिचित ठाउँमा गएर सास फेर्नु उनीहरू उत्तम विकल्प ठान्छन् । यही कारणले गर्दा गाउँका मानिस आफ्नो जन्मथलो सम्झी सम्झी सहर बजार पसेका छन् । 

यसरी गाउँ छोडेर धेरै मानिस सहर पसेका छन् । सहरमा पनि जीवन निर्वाह सहज हुँदैन । अनि सहरमा पनि विकल्प नभएपछि देशै छोडेर हिँड्न बाध्य छन् । यो प्रवृत्ति बढ्दै गएको छ । आजकल गाउँघर खाली हुँदै छ । गाउँमा केवल बुढाबुढी मात्र भेटिन्छन् । 

नेपालले राणा शासन भोग्यो, त्यसले आमजनतालाई दुःख दियो भनेर धेरै व्यक्तिको बलिनदानपछि बहुदलीय व्यवस्था ल्याइयो । बहुदलीय व्यवस्थाले पनि जनताको जीविकोपार्जनमा योगदान गर्न सकेन । फेरि पञ्चायती व्यवस्था लागु भयो । ३६ वर्ष पञ्चायती व्यवस्थामा पनि जनताको अवस्था बदलिएन । पुनः बहुदल हुँदै गणतन्त्रसमेत लागु भयो । जनताको अवस्था भने अझै उस्तै छ । गाउँका अधिकांश मानिसको नियमित आम्दानी केही छैन । आम्दानीका लागि खाडी मुलुक, मलेसियातिरै भासिनु पर्ने बाध्यता आम नागरिकको छ । 

बाध्यता नभई मानिसले आफ्नो थातथलो छोड्न चाहेको हुँदैन । बाउबाजे त्यही ठाउँमा पसिना बगाएका हुन्छन् । पुर्खाहरूको हड्डी त्यही धर्तीमा मिलेको हुन्छ । त्यही धर्तीमा उसले पनि पसिना बगाउन चाहन्छ । तर यस्ता आत्मालाई उनीहरूको माटोबाट अलग्याउन अनेक प्रपञ्च गरिन्छ, जसरी लीलबहादुर क्षत्रीले बसाइँमा लेखेका छन् । त्यहाँ भनिएको छ, जहाँ मानिसको अस्तित्व स्वीकारिँदैन, जहाँ रगत, अंश र वंशको जगेर्ना गरिँदैन भने किन त्यस ठाउँँ बसिरहन्छ मान्छे ? त्यस्तो ठाउँलाई चटक्कै छोडेर कुनै अज्ञात ठाउँमा जीवन बिताउनु नै राम्रो  हुने भएकाले मानिस आफ्नो परिचित समाज छोडेर अदृश्य गन्तव्यतिर जान्छन् । मानिसलाई आफ्नो मात्र होइन आफू जन्मिएको माटोको माया पनि उत्तिकै हुन्छ । बेचेको पशुले पनि आफ्नो पुरानो बासस्थान सम्झेर फर्किन्छन् । मानिस त ब्रह्माण्डको सर्वश्रेष्ठ प्राणी हो ।

लेखक नेपाल सरकारका पूर्वउपसचिव हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णमणि पराजुली
कृष्णमणि पराजुली
लेखकबाट थप