बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका एलिना चौहानले भनिन्–म लड्नलाई जन्मिएकी हुँ, मर्न हजुरको मायाले दिनेछैन

बिहीबार, १८ साउन २०८०, १८ : १८
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । गायिका एलिना चौहान रोएको एक भिडियो यतिबेला टिकटकमा भाइरल छ । उनले पछिल्लो एक अन्तर्वार्ता जीवन संघर्षको कुरा गर्दैगर्दा भावुक भएर रोएको थिइन् । उक्त भिडियो क्लिपमा प्रशंसकले उनलाई हरेस नखान, बलियो हुन भन्दै आफ्नो साथ सधैँ  रहिरहने बताएका छन् ।

भिडियोमा प्रशंसकले देखाएको मायाप्रति उनले बिहीबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आभार व्यक्त गरेकी छन् । अन्तरवार्ता मार्फत आफूले नियतवशले कसैलाई आक्रमण गर्न नखोजेको समेत उनको धारणा छ ।

आफ्नो सफलता र उपलब्धिमा फ्यानको ठूलो हात रहेको बताएकी उनले आफू लड्न जन्मिएको समेत बताएकी छन् ।

यस्तो छ एलिनाको पोष्ट

सबैमा नमस्कार,

आज हजुरहरूले मप्रति दर्साउनु भएको माया देखेर म नतमस्तक भएकी छु । मैले दिएको पछिल्लो समयको एक अन्तर्वार्तालाई लिएर धेरैले मलाई सम्झाउन, सम्पर्क गर्न खोज्नुभएको छ । हुन त हजुरहरूबाट मैले यो आशा पनि गरेकी छु किनकि मैले चढिरहेको उचाइको मूल तत्त्व हजुर मेरो शुभचिन्तक नै हुनुहुन्छ ।

अन्तर्वार्तामा मैले जीवनको धेरै कालखण्डको कुरा गरे, जहाँ मेरो त्यो सुरुआती बेलाको मेहनतको तीतो भोगाइ र अहिलेको उचाइको व्यवस्थापनसम्मको कुरा थियो । सफलता अधिकांश मान्छेलाई बिना परिश्रम आउने कुरा होइन । कतिले मैलेभन्दा अझै बढी परिश्रम पनि गरेका होलान् त केहीले थोरै । कमलो मनको मान्छे म कुराकानी गर्दै गर्दा मेरा आँखाबाट आँसु झरेछन् । म भावुक बन्न पुगेछु । हुन त मैले जे लगाउँछु, जे खान्छु, जे गर्छु र जे गर्नेछु ती सबै कसै न कसैका लागि प्रेरणा बनोस् भनेर सबैलाई देखाउने बानी छ ।

साधारण छ जीवन मेरो, ठूलो सपना नदेखी यो क्षेत्रमा छिरेँ र जति अगाडि बढ्दै गए त्यति नै मुस्किल बन्दै गयो लक्ष्य भेट्न अनि त्यति नै धेरै मेहनत गर्नुपर्‍यो । हुन त म कलाकार हुँ, सबैको मन बुझाउन सकेँ भने सबैले मन पराउनेछन् यहाँ तर मेरो पनि व्यक्तिगत जीवन छ । कुनै बेला त्यो मेरो व्यावसायिक जीवनमा नचाहँदा नचाहँदै पनि व्यक्तिगत जीवनमा असर पर्न जान्छ । जतिबेला म सानो सपना बोकेर देशको राजधानी छिरे त्यतिबेलाको म भित्रको म भन्दा कैयौं गुणा ममा आत्मविश्वास र हिम्मत पलाएको छु ।

मेरो सपनाको सहरमा पाइला टेक्दै गर्दा सबै बिरानो थिए तर आज यहाँ मैले सबैलाई नचिने पनि अधिकांशले मलाई चिन्नुहुन्छ । वर्तमान अवस्थाभन्दा त्यो समय मलाई धेरै नै कठिन थियो । आज म जहाँ छु, जुन अवस्थामा छु मलाई सहयोग गर्ने धेरै नै हुनुहुन्छ ।

म लड्नलाई जन्मिएकी हुँ, मर्न हजुरको मायाले दिनेछैन । भोगेको दुःखले कुनै न कुनै समयमा जीवनको अर्थ नबुझ्दा त्यो सोच सैतानी दिमागमा भरिनु स्वाभाविक हो तर मैले हार खाएको छुइँन ।

मैले विगतका कुरा गर्दा कमजोर भइछे भनेर नसम्झिनुहोला । अझै धेरै कुरा गर्न ऊर्जा भरिएको छ, हजुरहरुको साथ देखेर । आत्महत्याको कुरा गर्दैगर्दा ती मेरा कुरालाई लिएर धेरैले चिन्ता व्यक्त गर्नुभयो तर ती सबै मेरा अतीत थिए । आज सुखैसुखमा छु त भन्न खोजेको त हैन तर धेरै दुःख पनि छैन । कलाकारको जीवन सोचे झैं गर्ने गरीको हुन्न तर सबैले त्यस्तै देखाउँछन् ।

मैले जे थियो यथार्थ त्यो देखाएकी हुँ । सबैभन्दा पहिला त म मानव हुँ र आँसु, रिस, खुसी, दुःख, चिन्ता, सोच यी सबै मेरा मानवीय गुण हुन्, यिनलाई मैले बिर्सन सकिन । यसलाई लिएर कसैले पनि चित्त नदुखाउनु होला । मैले गरेका कुराहरु कसैलाई प्रहार गर्न होइन, कसैप्रति रिस राखेर पनि होइन, कसैसँग दुस्भाव रचेर होइन र कसैलाई नराम्रो देखाउन त झन् हुँदै होइन ।

यो नितान्त मेरो भोगाइको पाटो थियो, जसलाई सुनेर यस क्षेत्रमा आउने आगन्तुकले पहिले नै आफूभित्र यी कुराहरु विकास गरेर आउनुपर्नेछ । यसलाई लिएर कसैको चित्तदुखाइ छ भने म अन्तरआत्माबाट माफी चाहन्छु । म आफैँ कमजोर बनेको होइन, समयले मलाई कमजोर बनाउन खोज्यो तर त्यो अवस्थाले हार खाइसकेको छ । म आज एक्लै निडर भएको छु ।

फेरि पनि मबाट केही त्रुटि भएमा माफी चाहन्छु । सदैव सबैको साथको आवश्यकता रहनेछ मेरो जीवनमा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप