बाबुराम विश्वकर्माले ल्याए ‘भूराजनीतिको भार’
काठमाडौँ । खोजपत्रकार बाबुराम विश्वकर्माको पुस्तक ‘राजनीतिको भार : नेपाली भूमिमा चीन, भारत र अमेरिकाको शक्ति संघर्ष’ शनिबार लोकार्पण भएको छ ।पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमन्त्री एवं कांग्रेस नेता मीनेन्द्र रिजाल, परराष्ट्र तथा सुरक्षा मामिलाविज्ञ इन्द्र अधिकारी, पत्रकार कुन्दन अर्याल तथा पुस्तक लेखक विश्वकर्माले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे ।
सो अवसरमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले परराष्ट्र नीति राष्ट्रिय नीति हुनु पर्नेमा सरकार फेरिँदैपिच्छे नीति पनि फेरिने गरेको त होइन ? भन्दै प्रश्न गरे । ‘हाम्रो कूटनीति सन्तुलनमा छैन, कोल्टे पल्टिएकै छ,’ श्रेष्ठले नेपालको परराष्ट्र नीतिप्रति असन्तुष्टि जनाए, ‘दुवै छिमेक उन्नत भइरहने, हामी चाहिँ जहाँको त्यहीँ भइरहने कस्तो कूटनीति ?’
पहिले नै अध्यावधि गर्नुपर्ने हाम्रो भूराजनीति र परराष्ट्र नीति अहिले पनि परम्परागत रुपमा चलेको उनको भनाई छ । ‘परराष्ट्र नीति राष्ट्रिय नीति हुनुपर्छ तर, हाम्रो नीति दलबाट प्रेरित त छैन ?’ प्रश्न गर्दै श्रेष्ठले तर्क गरे, ‘हाम्रो भू स्थिर भयो तर राजनीति अस्थिर । भूगोलले जितेको छ, राजनीतिले हार्याे ।’
आन्तरिक सम्बन्ध सबल नभएसम्म बाह्य सम्बन्ध सुदृढ हुन नसक्ने उनको चिन्ता थियो । मुलुक सधैँ दरिद्र भइराख्ने हो भने अन्तर्राष्ट्रिय क्रीडास्थल बन्न सक्ने र विदेशी चलखेल बढ्न सक्ने उनले जिकिर गरे ।
कांग्रेस नेता रिजालले झुटा राष्ट्रवादको बिल्लाले कहीँ नपुर्याउने बताउँदै अन्तर्राष्ट्रिय सम्बन्ध देशको हितमा हुनैपर्ने धारणा राखे । ‘आज दक्षिणतिर फर्केर सक्दो गाली गर्ने, भोलि उत्तरतिर फर्केर सक्दो गाली गर्ने राजनीतिले हामीलाई कहीँ पुर्याउँदैन,’ उनले भने ।
परराष्ट्र विज्ञ अधिकारीले चार वर्ष यताको घटनालाई पुस्तकले मिहिन रुपमा वर्णन गरेको बताइन् । नेपाल विस्तारै चीनको पकडमा गइरहेको अवस्थामा पुस्तक चीनकेन्द्रीत रहेको उनको धारणा थियो । ‘हामी चीनलाई कम बुझ्छौ या त बुझ्दैनौं । चीनले गरेका कतिपय गतिविधिले हामीलाई प्रभाव पारेको छ । तर, सकारात्मक धारणाले कतिपय असरका कुरा ओझेलमा छन्, जुन लेखकले देखाउन खोजेका छन्’, उनको भनाई थियो ।
चीनबाट हाम्रोतर्फ भएका अतिक्रमणबारे सरकारले अध्ययन गरे पनि त्यसलाई सार्वजनिक नगर्दा नागरिकले भूवस्थाबारे यथार्थ जानकारी पाउन नसकेको उनले बताइन् । ‘अहिलेको विश्वमा प्रतिस्पर्धी शक्ति चीन रहे पनि हाम्रो हितका लागि कुनै प्रस्ताव आए ‘नो’ भन्न सक्नुपर्छ,’ उनले भनिन्, ‘जुन मित्रता र सद्भावको वर्णन गर्छौं, त्यो अन्तर्राष्ट्रिय सम्बन्धमा स्थायी हुँदैन ।’
पत्रकार अर्यालले नेपालको राजनीतिक नेतृत्वको अलमलले घरेलु राजनीतिमा बाह्य प्रभाव परेको बताए । ‘चीन विश्वशक्तिमा उदाएको छ, अमेरिका जहाँसुकै उपस्थित हुन चाहन्छ,’ उनले भने, ‘विश्वको बदलिँदो परिस्थितिका बीच पुस्तक उपयोगी छ । जटिल विषयलाई पनि लेखकले सम्प्रेष्य बनाएका छन् ।’
लेखक विश्वकर्माले ३ वर्षअघि सक्रिय पत्रकारिता छाडेर अनुसन्धानमा लागेकै परिणाम यो पुस्तक आएको बताए । इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याएको १३ अध्यायमा समेटिएको पुस्तक एमसीसी, बीआरआई, एसपीपी, जीएसआई, इन्डो प्यासिफिकलगायत सीमा विवाद र गोप्य प्रतिवेदनमा केन्द्रीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण