सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमान्‌लाई काले भन्नु पनि क्रूरता, सम्बन्धविच्छेदको बलियो आधार : कर्णाटक उच्च अदालत

मङ्गलबार, २३ साउन २०८०, १५ : ५२
मङ्गलबार, २३ साउन २०८०

श्रीमतीले श्रीमान्‌लाई उनको कालो वर्णका कारण अपमान गर्छिन् भने त्यो सम्बन्धविच्छेदको बलियो आधार हुने अदालतले बताएको छ । 

कर्णाटक उच्च अदालतले कुनै पुरुषकी श्रीमतीले कालो वर्णका कारण उनको अपमान गरेको खण्डमा त्यो सम्बन्धविच्छेदको लागि अपिलका लागि बलियो आधार भएको बताएको छ ।

उच्च अदालतले एक ४४ वर्षीय व्यक्तिको उनकी ४१ वर्षकी श्रीमतीसँग सम्बन्धविच्छेदको मन्जुरी दिँदै यस्तो टिप्पणी गरेको हो । 

अदालतले भनेको छ, ‘अभिलेखमा भएका प्रमाणले यो निष्कर्ष निकाल्न सकिन्छ कि श्रीमतीले कालो वर्णका लागि श्रीमानलाई अपमानित गर्थिन् र यसै कारण अन्य कुनै कारण बिना उनी श्रीमान्‌बाट अलग बसिरहेकी थिइन् ।’

उच्च अदालतले भन्यो, ‘यो पक्ष लुकाउने उद्देश्यले श्रीमतीले श्रीमान्‌माथि अवैध सम्बन्ध रहेको झूटा आरोप लगाएकी छिन् । यी तथ्यले क्रूरता देखाउँछ ।’

यो जोडीले सन् २००७ मा विवाह गरेका थिए र दुवैका एक छोरी पनि छन् । सन् २०१२ मा श्रीमानले बैंगलोरको पारिवारिक अदालतमा सम्बन्धविच्छेदको लागि निवेदन दिएका थिए ।

श्रीमान् र ससुराले दाइजो मागेको र छोरीसहित घरबाट बाहिर निस्कन नदिएको महिलाले आरोप लगाएकी थिइन् ।

श्रीमतीले श्रीमानको अर्की महिलासँग अवैध सम्बन्ध रहेको र उनीहरू दुवैको एक सन्तान रहेको पनि आरोप लगाएकी थिइन् ।

सन् २०१७ मा पतिको सम्बन्धविच्छेदको निवेदन पारिवारिक अदालतले खारेज गरिदिएपछि उनी उच्च अदालत गएका थिए ।

उच्च अदालतले भन्यो, ‘श्रीमतीले श्रीमान् भए ठाउँ फर्किन कुनै पनि कोसिस गरिनन् र अभिलेखमा रहेका प्रमाणले यो पुष्टि गर्छ कि महिलालाई आफ्ना श्रीमानको कालो वर्णका कारण विवाहमा कुनै रुचि थिएन ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप